काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई आइतबार (आज)बाट देशव्यापी बनाउँदै छ । जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो ।
आइतबारदेखि जिल्ला तथा इकाइहरू पनि आन्दोलनमा उत्रिने बारले जनाएको छ । जसअनुसार उपत्यका र काभ्रे सबै इकाइका कानुन व्यवसायीले कालोपट्टी बाँधेर काम गर्नेछन् । काभ्रे र उपत्यकाका तीनै जिल्लाका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा जारी धर्ना कार्यक्रममा सहभागी हुनेछन् । आइतबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन सर्वोच्चका दुवै ढोकामा धर्ना दिने कार्यक्रम बनाएको छ ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकालगायतका गम्भीर आरोप प्रधानन्यायाधीश जबरामाथि लागेका छन् ।
कानुन व्यवसायीहरूले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्नै नदिन मूल गेटमा धर्ना दिएका थिए । तर, जबरा अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए । आइतबार दुवै गेटमा धर्ना दिने उनीहरूको तयारी छ ।
प्रधानन्यायाधीशबाहेकका सर्वाेच्चका बाँकी १९ न्यायाधीशहरू पनि जबराविरुद्ध संघर्षरत छन् । उनीहरूले जबराले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् । उनीहरूले पनि शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत सुनुवाइ नगरी प्रधानन्यायाधीश जबरालाई पद छाड्न दबाब दिएका थिए । पछिल्लो समय प्रधानन्यायाधीश र सर्वाेच्चका न्यायाधीशबीच संवादसमेत हुन छाडेको छ । बारले पनि जबरासँग छलफल नगर्ने जनाएको छ ।






























