भीमबहादुरको हत्याका दोषीलाई हदैसम्मको कारबाही गर्न दलित मुक्ति मोर्चाको माग

भीमबहादुरको हत्याका दोषीलाई हदैसम्मको कारबाही गर्न दलित मुक्ति मोर्चाको माग

काठमाडौँ — नेपाल दलित मुक्ति मोर्चाले चितवनका भीमबहादुर विश्वकर्माको जघन्य हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । मोर्चाको केन्द्रीय कार्यकारी संयोजक टेक बहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै भीमबहादुर विश्वकर्माका हत्याराहरु माथि हदैसम्मको कारबाही गर्न/गराउन तथा मृतक विश्वकर्माको परिवारलाई यथोचित क्षतिपूर्ति तथा सुरक्षा प्रदान गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको हो ।
यही २०७८ असोज २८ गतेका दिन चितवन जिल्ला वडा नं. ४ दुर्गाचोकमा अवस्थित दुर्गा मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने कि नपाउने ? भनेर प्रश्न गर्ने भीमबहादुर विश्वकर्मालाई स्थानीय सीताराम बस्नेतले मन्दिर प्रवेशको माग प्रति असहमति जनाउँदै पाइपले कुटपिट गरेका थिए । कुटाइबाट घाइते भएका भीमबहादुर विश्वकर्मालाई स्थानीय फार्मेसीका संचालक दिलिप श्रेष्ठ समेतले मुक्का प्रहार गरेका थिए । पाइप एवम् मुक्का प्रहारबाट सख्त घाइते भई बेहोस भएका विश्वकर्मालाई उपचारार्थ चितवन मेडिकल कलेज, भरतपुर पुर्‍याउँदा हस्पिटलका डाक्टरहरुले निज विश्वकर्मालाई मृत घोषणा गरेका थिए ।
नेपालमा जनवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्यका साथ संचालित दशवर्षे जनयुद्धका दौरानमा न्युनिकरण भएको जातीय भेदभाव तथा छुवाछूतका घटनाहरू जनयुद्धले सेटब्याक खाएसंगै पुन: विभिन्न रुपमा देखा परिरहेको छ । वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्थाले सामन्ती व्यवस्थाद्वारा अंगालिएको सबै कुप्रथालाई बोकेर हिडिरहेको छ । “जातीय छुवाछूत अन्त्य गरि समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चितता गर्ने साथै समाजवाद प्रति प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने” जस्ता शव्द २०७२ को संविधानमा प्रयोग गरिएको भएता पनि उक्त शव्दजाल नेपाली जनतालाई भ्रम छर्न मात्र उपयोग गरिएको प्रष्ट हुन पुगेको छ ।
दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको जातीय भेदभाव र छुवाछूतका कारण हुने सबै समस्या अन्त्य गर्ने एकमात्र विकल्प जनगणतन्त्र प्राप्तिको बाटोमा अघि बढ्नु न्यायप्रेमी जनताको एकमात्र उत्तम विकल्प रहेको थप प्रष्ट हुन पुगेको मोर्चा कार्यकारी संयोजक टेक बहादुर विश्वकर्माव्दारा विज्ञप्ति मार्फत जनाइएको छ ।