अघोषित मृत्यु भय बोकेर
बहिरेछ विषालु हावा
अनिर्णित भविष्यको त्राशदीमा
उभिइरहेछ हिमाच्छादित काया
इतिहासको लेखोटमा
दर्ज हुनै लागेको एउटा जहरका विरुद्ध
फेरि एकपटक हामीले
थाप्नु पर्नेछ कटवाँसका चोटहरू
बोक्नु पर्नेछ गोलीका खतहरू
हातहरूमा जेलिन सक्छन् फलामे बाला
अदालती कठघरामा सल्काउनु छ धिपधिपे पाला
हामीसित जोल्टिएका
परम्परित ऐठन देखाएर
ढाड मुसार्दै नक्कली भोजनको थाल
अगाडि तेर्सिएको यो भुमरीका विरुद्ध
मुठ्ठी उरालेर सडकमा जल्नु छ ।

वर्षौंदेखि आँगनमा झ्याङ्गीएका काँडाहरू
भर्सेलै होस् थाँती राखौं
काँडा उम्रिएका भएपनि
यो हाम्रै माटो हो
झार उम्रिएको भएपनि
यो हाम्रै पाटो हो
हामी कसैको दया मायामा
उज्यालो बाल्न मञ्जुर छैनौं
बरु वालौंला
हाम्रै भीरको सल्लाको खोटो
भो हामीलाइ चाहिन्न
सात सागर पारिका सर्दारहरूको
गाडी दौडने चिल्ला सडक
बरु चाल्ने छौं नाङ्गा पैताला
पुर्खाले खनेको गोरेटोहरूमा
हामी हाम्रा खोरियामा
कागनु झुलाउँछौं
कोदो फलाउँछौं
सिंहदरबारका स्यालहरूले
जुठो टपरी चाटे भन्दैमा
ओ याङ्की ! गो होम
तिम्रा बाउ बाजेले
जहाँ जहाँ टेकेका छन्
त्यहाँको स्वाभिमान खोसेका छन्
ओ सर्दार आफ्नो बाटो जाउ ।

प्रतिक्रिया

सम्बन्धित खवर