
एका बिहानै मिरमिरे उज्यालोमा,
एउँटा थोत्रे झोला पिठिउँमा बोकेर ।
झुत्रे कपडा शरिरभरी फहराउदै,
एक खुट्टे चश्मा नाकको टुप्पोमा अड्याएर ।
डोरीले कस्सिएका अधबैशे चप्पलसँगै,
गन्तब्यहिन यी मेरा पैतलाहरु ।
हर्स्याङ् फर्स्याङ् दौड्दै दौड्दै,
(खै आज कता लम्किरहेछन)२ ।
गाउँका यी साना झोपडी छिचोल्दै,
एक बित्ताको साँगुरो बाटो हुँदै ।
तिनपाते लहराको सहाराबाट,
बौलाएको खोलीको पानी पिउदै ।
निरासाताका यी पुराना घाउँहरुमा,
केवल एक चिम्टी मात्र भएपनि ।
आशै आसको मलमपट्टी बाँधेर,
सुस्तरी मेरा पैतला अगाडि बढ्दै रहे ।
कैयौ त्रिबेणी र दोबाटाहरु पार गर्दै,
तिखा र धारिला ढुङ्गेतार छिचोल्दै ।
आँशुसँग छट्पटाएका पीडा पोख्दै,
मनभरी गुम्सिएका भावना लुकाउदै ।
त्यो अनकन्टार बिशाल जंगलबाट,
जब मेरा पैतला बाहिर निस्कए,
(अहाँ कति अनौठो दोभान)२
एउँटै हिमालको दुई फेदीबाट,
कल् कल् संगीतको आवाज भर्दै ।
मन्द मुस्कान अनि उमङ्ग छाउँदै,
आफ्नै बेगमा आई गाँसीएको दोभान् ।
त्यही दोभानको मध्य भेलमा,
बलिया तिघ्राहरुको आड भरोसामा ।
एक बित्ताको रातो कपडा भित्र,
अनौठो अनि सुनौलो (त्यो डल्लो)२ जो बम ।
बमको आवाजले सबै अताल्लिएका,
कोही डराईरहेका कोही चिच्याइरहेका ।
कोही उफ्रिरहेका कोही कुदिरहेका,
कोही रिसले आतङ्कित भएका ।
तर मेरा यी पैतलाहरुले,
पटक् पटक् बमको आवाज सहेको ।
७,३६,४६,५१, अनि ६२/६३ का बमहरु,
ती झनै खत्रानाक बमहरु ।
जब यी पैतलाले छेउँबाट सुस्तरी सुस्तरी,
दोभानको डरलाग्दो भेल पन्छाउँदै ।
त्यही बमको डल्लोलाई टपक्क टिपेर,
आफ्नो थोत्रे झोलीमा थन्क्याउन थाले ।
अनि तिनै पैतलाले बमको एउटा टुप्पोमा,
निमोठी निमोठी कुन्चिन थाले ।
तब भित्रबाट बिष्फोटको आवाज सुनियो,
म एउटा खत्रानाक बम ।
तर युद्दको हैन (एकताको बम)२ हो ।
साँच्ची त्यो बम भित्र जो थियो,
सुर्के गाँठोको डोरी र बलियो साँङ्लो ।
गौतम बुद्दको पहेलो गम्छा र,
महात्मा गान्धीको सेतो धोती ।
त्यही थियो पृथ्वीको पुरानो तरवार,
अमरसिंहको दोनाले बन्दुक ।
माओका सक्कली फोटाहरु र,
लेलिनको कालो कोट ।
सँगसँगै थिए प्रियजनका तस्बिरहरु,
एकताको चिन्ह अंकित झण्डा ।
एकताकै अमूल्य घोषणापत्र,
अनि मदनका महान् महावाणिहरु ।
तर त्यही बमको वरिपरि थिए,
बिषालु सर्प कालिनाग र लामखुट्टेहरु ।
छट्पटाई रहेका थिए बाँसोहरु,
अत्ताल्लिएका थिए बिदेशी बाजहरु ।
तरपनि बमले पटक पटक दिरहेको थियो,
मन्द मुस्कान अनि धुपको अनौठो बास्ना ।
एकताको बम भेटाएपछि,
लाग्थ्यो मैले अब कहिले थोत्रे झोला बोक्नु पर्दैन ।
झुत्रे कपडा शरिरभरी फहराउनु पर्दैन,
डोरीले कस्सिएका अधबैसे चप्पल र
एकखुट्टे चश्मा कहिले लगाउनु पर्दैन ।
साना झोपडीको बास र साँगुरो बाटो,
अनि बहुलाएको खोलीको पानी पनि,
कहिल्यै पिउनु पर्दैन ।
तर त्यो बम बमनै भयो,
बलियो साङ्लो र डोरी चुडियो ।
गौतम बुद्दको पहेलो गुम्छा र,
महात्मा गान्धीको सेतो धोती ।
माओका सक्कलि फोटाहरु र,
लेलिनको कालो कोट ।
प्रियजनका गठ्ठी तस्बिर र,
एकताको चिन्ह अंकित झण्डा ।
एकताकै अमूल्य घोषणा पत्र र,
मदनका महान् महावाणीहरु ।
सधै सधैका लागि जलाइए ।
पृथ्वीको त्यो पुरानो तरवार र,
अमरसिंहको दोनाले बन्दुक पनि ।
सधै सधैका लागि हराइए ।
वा तिम्रो एकता,
जनताको लागि एकता ।
कि तिम्रो लागि एकता,
केवल एकता तिम्रो लागि एकता ।
बारेकोट– २ जाजरकोट हाल दाङ