अमेरिकी बहिर्गमनपछिको अफगानिस्तान

अमेरिकी बहिर्गमनपछिको अफगानिस्तान

गत अगस्त ३१, २०२१ का दिन अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी सेनाको नेतृत्वमा अफगानिस्तानमा खटिएको नेटो गठबन्धनको सेना त्यहाँबाट सबै फिर्ता आएको घोषणा गरेका छन् । २००१ देखि अफगानिस्तानमा अड्डा जमाएर बसेका अमेरिकी तथा नेटोमा आम्बद्ध राष्ट्रका सेनाहरुले ठीक २० वर्ष पछि अफगानिस्तान छाडेका हुन् । विश्वकै इतिहासमा, यो वाह्य सेनाले अर्को देशमा चलाएको सबैभन्दा लामो युद्ध हो ।
नेटोसम्बद्ध सबै सेनाहरु काबुल एयरपोर्टबाट फिर्ता भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो वक्तव्यमा भनेका छन् “म हाम्रा कमान्डरहरु र तिनीहरु अन्तर्गत सेवा गर्ने पुरुष तथा महिलाहरुलाई विना कुनै थप क्षति ३१ अगस्तको बिहान काबुलबाट योजना अनुसार नै अत्यन्त जोखिमपूर्ण पछिहटाइलाई सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु । अमेरिकाको इतिहासमा, वितेका १७ दिनमा हाम्रा सैन्य टुकडीहरुबाट १,२०,००० भन्दा ठुलो सङ्ख्यामा रहेका अमेरिकी नागरिक, हाम्रा सहयोगी देशका नागरिकहरु र अमेरिकाका अफगान सहयोगीहरुको सबैभन्दा ठुलो हवाइउद्धार भएको छ  तिनीहरुले यो काम अतुलनीय साहस, व्यवसायिकता तथा सङ्कल्पसहित पूरा गरेका छन् । अब, अफगानिस्तानमा
हाम्रो २० बर्ष सम्मको सैन्य उपस्थिति सकिएको छ ।” यसरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको नेतृत्वमा परिचालित नेटोे सेनाको “बहादुरीपूर्ण” पछिहटाइको प्रशंसा गरेका छन् ।
नेटो गठबन्धनले अफगानिस्तानबाट सेना हटाएपछि त्यसबारे विभिन्न कोणबाट क्रिया प्रतिक्रिया आउने क्रम जारी छ । अमेरिका भित्रकै कुरा गर्ने हो भने सुपरपावरको दम्भ पालेर बसेका अधिकांश अमेरिकीहरुले यो परिघटनालाई अमेरिकाको लज्जास्पद पराजय ठानेका छन् । विरोधी रिपब्लिकन पार्टीका नेताहरु मात्र होइन सत्तारुढ डेमोक्रेटिक पार्टीका कतिपय नेताहरुले पनि यो परिघटनाबाट आफू निकै निराश भएको अभिव्यक्ति दिएका छन् । यसबारे रिपब्लिकन पार्टीका एकजना सिनेटरले बेन्जामिन एरिक ससेले बाइडेनले तालिबानलाई विश्वास दिएर देशको अपमान गरेको आरोप लगाएका छन् । वक्तव्यमा उनी भन्छन्, “यो राष्ट्रिय अपमान राष्ट्रपति जो बाइडेनको कायरता र असक्षमताको परिणाम हो । राष्ट्रपतिले तालिबानलाई विश्वास गरेर यो निर्णय लिए ।” यो टिप्पणीसित अधिकांश अमेरिकीहरु सहमत देखिन्छन् ।
यस परिघटनाबारे चीनबाट पनि विभिन्न स्रोत मार्फत् थुपै्र प्रतिक्रियाहरु आएका छन् । यसबारे ग्लोबल टाइम्सको सम्पादकीयले बाइडेनको असक्षमता अमेरिकाको राजनीतिक प्रणालीको दोष हो भनेर आलोचना गरेको छ । उक्त सम्पादकीयले लेखेको छ, “हाम्रो विचारमा सत्तारुढ व्यक्तित्वको असक्षमता आफैलाई सुधार्न नसक्ने पतनोन्मुख अमेरिकी प्रणालीको परिणाम हो । अमेरिकी
नेताहरुमा अप्ठ्यारा समस्याहरु समाधान गर्ने अनुभवको कमी छ र अमेरिकी समाजले सामूहिक तागत निर्माण गर्नै सक्दैन ।” यसरी चीनले अमेरिकाको प्रणाली र अमेरिकी जनताको सामूहिक चिन्तन प्रक्रियामा प्रश्न उठाएर तिनको
खिसिट्युरी गरेको छ ।
रसियन टीभी नेटवर्कसित सम्बन्धित एउटा अनलाइन पत्रिकाले पनि यस परिघटनालाई लिएर अमेरिकामाथि चर्को व्यङ्ग्य प्रहार गरेको छ । उक्त पत्रिकाले लेख्छ, “वाशिङ्टनका बुद्धिजीवीहरुले बर्षौंदेखि दावी गर्दै आएका छन् कि अफगानिस्तानमा हारेको कारणले सोभियत सङ्घको विघटन भएको हो ।
अमेरिकाले अफगानिस्तानमा त्यो भन्दा निकै नराम्रो गरेको छ, संसारभरिका मानिसले उनीहरुको सिद्धान्तमा कति पाइन छ भनेर अब छिटै देख्नेवाला छन् ।”
उक्त पत्रिकाले अफगानिस्तानमा भएको अमेरिकी हारले संयुक्त राज्य अमेरिकालाई पनि टुक्राउन सक्ने सम्मको आकलन गरेको छ ।
अर्कोतिर युरोपियन युनियन र त्यसका नेताहरु अफगानिस्तानमा तालिबानको सत्तारोहणप्रति निकै चिन्तित छन् । उनीहरुले “हतारमा” सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको खुलेर विरोध त गरेका छैनन् तर यसप्रति उनीहरुको असन्तुष्टी सहजै बुझ्न सकिन्छ । उनीहरुको चिन्ता अफगानिस्तानबाट युरोपतिर शरणार्थीको ओइरो लाग्न सक्ने कुरासँग पनि जोडिएको छ । यसबारे इशान थरुरले वाशिङ्टन पोस्टमा “आमेरिकाले अफगानिस्तान छाडेपछि युरोप बाइडेनसँग अमिलिएको छ” भन्ने शीर्षकमा एउटा लेख लेखेका छन् । जे होस् यो घटनापछि नेटो गठबन्धन भित्रको एकता अरु कमजोर बन्ने र नेटोमा अमेरिकाको नेतृत्वप्रति गम्भीर प्रश्न उठ्ने संभावना निकै बढेर गएको छ ।
अमेरिकाको गगनचुम्बी जुम्ल्याहा भवनमाथि ९ सेप्टेम्बर २००१मा अपहरित हवाइ जहाजद्वारा आक्रमण भएपछि त्यसका योजनाकार मानिएका ओसामा विन लादेनलाई
तालिबानको सरकारले अफगानिस्तानमा शरण दिएको छ भन्ने बहानामा अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेनाले अफगानिस्तानमाथि सैन्य आक्रमण गरेको थियो । त्यस सैन्य आक्रमणको उद्देश्य आतङ्कवादलाई नियन्त्रण गर्न ओसामा विन लादेनलाई गिरफ्तार गर्ने र अलकाइदालाई ठेगान लगाउने भनिएको थियो । नेटोको गठबन्धन सेना पठाएको दश वर्षपछि २ मई २०११ का दिन ओसामा विन लादेन अमेरिकी विशेष सेनाबाट पाकिस्तानमा मारिए । तर, त्यसपछि पनि नेटो सेना अरु दश वर्ष अफगानिस्तान बसी आपूmले आतङ्कवादी करार गरेका तिनै तालिबानलाई सत्ता सुम्पेर यही ३१ अगस्त २०२१ का दिन त्यहाँबाट फिर्ता भएको छ ।
करिब २० वर्षको अन्तरालमा अफगान युद्धका दौरान जनधनको ठुलो क्षति भएको छ । ब्राउन विश्वविद्यालयले तयार पारेको प्रतिवेदनको हवाला दिएर अप्रिल १७, २०२१मा विजनेस इन्साइडर नामक अनलाइन पत्रिकामा प्रकासित समाचार अनुसार अफगान युद्धमा जम्मा २,४१,००० जना मानिस मारिएका थिए । ती मध्ये अमेरिकी सेना २,४२२ जना, सुरक्षा विभागका कर्मचारी ६ जना, अमेरिकी ठेकेदारहरु ३,९३६ जना, अन्य सहयोगी सेना १,१४४ जना, करिब ६९,००० जना अफगान सेना र
पुलिस, ९,३१४ जना पाकिस्तानी सेना तथा पुलिसहरु, अन्दाजी ४७,००० अफगान र २४,००० पाकिस्तानी नागरिकहरु र अफगानिस्तानमा ५१,००० तथा पाकिस्तानमा ३३,००० भन्दा बढी विद्रोही लडाकाहरुको त्यो युद्धको क्रममा हताहति भएको थियो । त्यो बाहेक यस दौरानमा १३६ जना पत्रकार र ५४९ जना मानवअधिकारकर्मी पनि मारिएका थिए । त्यसपछि वितेका ४ महिनामा यो सङ्ख्या अरु थपिएको कुरा स्वतः सिद्ध छ । यी बाहेक अमेरिकाका मात्र २०,००० भन्दा बढी अमेरिकी सैनिकहरु घाइते भएको कुरा उक्त पत्रिकाले उल्लेख गरेको छ ।

फेरि, उक्त पत्रिकाले लेखेको छ, अन्दाजी दुई दशक लामो अफगान युद्धका क्रममा संयुक्त राज्य अमेरिकाको मात्र २२ खर्व ६० अर्व अमेरिकी डलर खर्च भएको छ । यसमा आजीवन औषधी उपचार गर्नु पर्ने घाइते सेना वा अन्य कर्मचारीहरुको स्वास्थ्य खर्च समावेश गरिएको छैन । त्यो सबै जोड्दा यो अङ्क अरु बढ्ने कुरा स्वतः सिद्ध छ । विश्व बैङ्कले तयार पारेको प्रतिवेदन अनुसार २०२०मा अफगानिस्तानको कुल गार्हस्थ उत्पादन १९ अर्व ८१ करोड अमेरिकी डलर बराबर थियो । यसबाट के प्रस्ट हुन्छ भने २० वर्षभित्र अफगान युद्धको क्रममा अमेरिकी साम्राज्यवादले अफगानिस्तानको ११४ वर्षमा हुने कुल गार्हस्थ उत्पादन भन्दा पनि बढी रकम खर्च गरेको छ ।
यतिबेला एउटा गम्भीर प्रश्न अगाडि आएको छ । यति धेरै जनधनको क्षतिपछि अमेरिकाले अफगान युद्धबाट के हात पा¥यो ? जवाफ छोटो छ, एकजना “आतङ्ककारी” ओसामा विन लादेनको लासको फोटो । तर यसको बदलामा हिजो आफैले दुश्मन करार गरेको तालिबान लडाकालाई अफगानिस्तानको सत्ता सुम्पेर अमेरिकी सेना
“अतुलनीय साहस, व्यवसायिकता तथा सङ्कल्पसहित” स्वदेश फर्केको छ भनी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाको प्रशंसा गर्न लाचार भएका छन् । यी समग्र तथ्यहरुले के कुरा पुष्टी गर्दछन् भने २० वर्ष लामो अफगान युद्धमा अमेरिकाको सर्मनाक हार भएको छ र यसले भियतनाम युद्धका क्रममा भएको अमेरिकी हारलाई समेत माथ गरेको छ । त्यति मात्र होइन आतङ्कवादलाई
परास्त गर्ने निहँुमा २० वर्षसम्म निर्दाेष अफगानी जनतालाई आतङ्कित बनाउने अमेरिकी साम्राज्यवाद आतङ्ककारी कि एकजना व्यक्ति ओसामा विन लादेन
आतङ्ककारी ? यति बेला यो प्रश्न विश्वका न्यायप्रेमी जनताको मनमष्तिष्कमा गहिरो गरी उब्जिएको छ । स्पष्ट छ, आम अफगानी जनता र विश्वभरिका उत्पीडित जनताको नजरमा अमेरिका विश्वको एक नम्बर आतङ्कवादी ठहरिएको छ ।
अमेरिकाले अफगान युद्धमा ठुलो जनधनको क्षति त बेहोरेकै छ । यो सबैले देखेको कुरा हो । त्यो भन्दा पनि ठुलो क्षति अमेरिकी साम्राज्यवादको विश्व जनमतका सामु विश्व नेताको हैसियतमा गम्भीर धक्का लागेको छ र विश्वका उत्पीडित जनताको मनमस्तिष्कमा अमेरिका आतङ्ककारी देशको रुपमा दर्ज भएको छ । यो अमेरिकाका लागि निकै महङ्गो पर्ने छ । पटमूर्खले आफ्नै
खुट्टामा खसाल्न ढुङ्गा उचाल्छ भनेको यही हो ।
अव अर्को प्रश्न अगाडि आउँछ । अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि त्यहाँका जनताले राहतको अनुभूति गर्लान् ? त्यो संभव छैन । यसका पछाडि कारण छन् । पहिलो कुरा अफगानिस्तान एउटा बहुभाषिक तथा बहुजातीय र कविला संस्कृतिको प्रभाव रहेको मुस्लिम समुदायको बसोबास भएको देश हो ।
त्यहाँ सुन्नी समुदायको अत्यधिक बाहुल्य रहेको छ । त्यहाँको संविधानले पास्तुन, ताजिक, उज्वेक, आइम्याक, तुर्कमेन, बलोच लगायत १४ ओटा जातीय वा भाषिक समूहलाई राष्ट्रिय मान्यता दिएको छ र त्यहाँ यी बाहेक अरु समूह पनि छन् । ऐतिहासिक कालदेखि नै बाह्य शक्तिले यी समुदायको अन्तर्विरोधमा खेलेर अफगानिस्तान माथि रजाइँ गर्दै आएका छन् । अहिले त्यहाँ बनेको अत्यन्त तरल अवस्था साम्राज्यवादीहरुका लागि फेरि अनुकुल स्थिति बनेको छ
। पुननिर्माणको नाममा विभिन्न रुप रंगका साम्राज्यवादी शक्तिहरु त्यहाँ प्रवेश गर्ने छन् र तिनले विभिन्न समुहलाई उचालेर अफगानिस्तानलाई पुनः आफ्नो क्रिडास्थल बनाउने छन् । आउने दिनमा अफगानिस्तान अझ गम्भीर
गृहयुद्धमा फस्ने संभावना बढेको छ । त्यसका लक्षणहरु देखिन थालिसकेका छन्

अर्कोतिर, अहिले सत्तामा आएको तालिबान मध्ययुगीन सामन्ती चेत र सारिया कानूनको आधारमा सत्ता सञ्चालन गर्ने एउटा प्रतिक्रियावादी शक्ति हो ।
अमेरिकासँग लड्यो त्यो एउटा कुरा हो, तर त्यो सच्चा साम्राज्यवाद विरोधी देशभक्त शक्ति होइन, अन्धराष्ट्रवादी शक्ति हो । आफूलाई सत्तामा टिकाइराख्नका लागि तालिबानको नेतृत्व पुनः अमेरिकी पोल्टामा नजाला भन्न
सकिन्न । त्यसका सङ्केतहरु दोहा वार्ताकै क्रममा देखिन थालिसकेका थिए र अमेरिकाले तालिवानसँग दोहामार्फत् कूटनीतिक सम्बन्ध विस्तार गर्ने र त्यहाँको विकास निर्माणमा सहयोग गर्ने कुरा पनि बताइसकेको छ । आखिर जेहोस् अफगान जनताले तालिबान सरकारबाट राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको कुनै क्षेत्रमा पनि राहत महसुस गर्न पाउने छैनन् ।
अफगानिस्तान एउटा अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक देश हो । साम्राज्यवाद र घरेलु प्रतिक्रियावाद (सामन्त, दलाल तथा नोकरशाही पुँजीवाद) अफगानिस्तानको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका सहित अग्रगमनका बाधक शक्ति हुन् । साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको गठबन्धनबाट बनेको अफगान प्रतिक्रियावादी सत्ता तथा व्यवस्था नै त्यहाँका जनताको प्रमुख दुश्मन हो । माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गदर्शन, सर्वहारा वर्गको नेतृत्व र आम किसान, मजदुर सहित सम्पूर्ण शोषित वर्ग र उत्पीडित जातीय तथा भाषिक समुदायको एकतामा आधारित नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद मात्र अफगान जनताको मुक्तिको एकमात्र बाटो हो ।
साम्राज्यवादीहरुको चलखेल र प्रतिक्रियावादी शक्तिहरुका बीचमा हुने सरकारको फेरबदलबाट कुनै पनि उत्पीडित देशले स्वाधीनता प्राप्त गर्न र त्यहाँका श्रमजीवी जनताले मुक्ति पाउन सम्भव छैन ।
भदौ १६, २०७८