
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भीषण वर्षा र बाढी पहिरोको खतराबारे भविष्यवाणी गरिरहेको
स्थितिमा सरकारले त्यसप्रति ध्यान दिएको भए र विगतका घटनाबाट शिक्षा लिएर समयमै बचाउने उपायको खोजी गरेको भए अवश्य पनि क्षति कम गराउन सकिन्थ्यो भन्दै सम्भावित प्राकृतिक विपत्तिप्रति सरकारको यस्तो गैरजिम्मेवार र लापरवाहीपूर्ण रवैयाको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध र तीव्र भत्र्सना गरेकाे छ । पार्टी प्रवक्ता प्रतिकले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ, “केही दिनदेखिको अविरल मनसुनी वर्षाका कारण देशभरि नै जनजीवन अस्तव्यस्त भएको छ र करिब डेढ दर्जन भन्दा बढी जिल्लाहरु बाढी पहिरोका कारण अत्यन्त प्रभावित भएका छन् ।
सिन्धुपाल्चोक, लमजुङ, मनाङ, पाल्पा लगायतका जिल्लामा मानिसहरु बाढी पहिरोमा परी मरेको र कैयो बेपत्ता भएको खवर छ । देशभरिका खहरे खोलादेखि कोशी, नारायणी, कर्णाली समेतका ठूला नदीहरुमा पानीको बहावले खतराको निशाना पार गरेका कारण किनाराका बस्तीहरु र सम्पूर्ण तराई मधेश क्षेत्र जलमग्न हुने र त्यो क्रममा अरु थुप्रै धनजनको क्षति हुने खतरा
बढेको छ । हाम्रो पार्टी, ज्यान गुमाउने जनताहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”
क्रान्तिकारी माओवादीले ,यस दुःखद घडीमा बाढी पहिरोबाट जीवन गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन, वेपत्ताहरुको खोजी गर्न, विस्थापितहरुलाई उपयुक्त राहतको व्यवस्था गर्न र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसित जोडदार माग गरेकाे छ ।
