
काठमाडौं । विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप नगर्न पूर्व उपकुलपतिहरुले सरकारलाई चेतावनी दिएका छन् । पूर्व उपकुलपतिहरुले सरकारलाई विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप नगर्न चेतावनी दिएका हुन् ।
१२ जना पूर्व उपकुलपतिहरुले एक विज्ञप्ति जारी गर्दै उनीहरुले झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन शिक्षामन्त्री र प्रधानमन्त्रीले विश्वविद्याको स्वायतत्तामाथि हस्तक्षेप गरेको उनीहरुले बताएका छन् ।
उक्त मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई दवाव दिँदै आएको सार्वजनिक हुनु दुखद भएको उनीहरुको भनाई छ ।
“काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा संचालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्या सीमा नाघेर पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एम कानुनी राजको उपेक्षा गर्नमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो”, विज्ञप्तिमा भनिएको छ ।
आयोगका अध्यक्ष श्रीकृष्ण गिरीको जायज अडानका कारण उनलाई गम्भिर धम्की आउन थालेको बताउँदै उनीहरुले यसबाट हुने क्षतिको जिम्मेवार वर्तमान सरकार नै हुने समेत चेतावनी दिएका छन् ।
उनीहरुले गिरीलाई सुरक्षा प्रदान गर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधिअनुरुप काम गर्न दिन उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्ति जारी गर्नेमा केदारभक्त मथेमा, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह लगायत रहेका छन् ।































