असार १ काठमान्डौ ।
झापाको बीरतामोड स्थित विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्नलाई प्रधानमन्त्री स्वयंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई दबाब दिएका छन् ।
यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै बृहत् नागरिक आन्दोलन सोलिडारिटी फर डा. केसी अलायन्सले डा. गिरीको सुरक्षाको माग गरेको छ ।
जेठ ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ । विज्ञप्तिमा भनिएको छ ।
राज्यशक्तिको चरम् दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भत्सर्नायोग्य छ । मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्सर्नायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मूख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं । विज्ञप्तिमा अगाडी भनिएको छ ।

thumbnail of Press-Release-on-Security-Threat-to-Dr.-Giri

प्रतिक्रिया

सम्बन्धित खवर