
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रघात र जनघातका विरुद्ध प्रतिरोध संघर्ष उठ्न थालेको छ । राष्ट्रिय स्वाधीनता, जनअधिकार तथा जनताका जनजीविकाका सवालहरु विकराल बन्दै जान थालेपछि ओली सरकारका विरुद्ध प्रतिरोध संघर्ष उठ्न थालेको हो ।
क्रान्तिकारी युवा र विद्यार्थीहरुको विरोध प्रदर्शन
२८ जेठ २०७८ मा नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल र विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आव्हानमा विरोध प्रदर्शन गरियो । क्रान्तिकारी युवा र विद्यार्थीहरुले गरेको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप ग¥यो र व्यापक रुपमा धरपकड ग¥यो । कोभिडका कारण जारी निषेधाज्ञालाई बेवास्ता गर्दै विरोध प्रदर्शनमा उत्रिएका युवा र विद्यार्थी नेताहरुलाई पक्राउ गरी भृकुटीमण्डप स्थित महेन्द्र पुलिस क्लवमा राखेर साँझपख छाडियो ।
नेकपा (क्रान्तिकारी माओवादी)ले घटना लगत्तै एक प्रेस विज्ञप्ति जारी ग¥यो र प्रहरी हस्तक्षेप, धरपकड र गिरफ्तारीको कडा शब्दमा निन्दा एवम् भत्र्सना ग¥यो । पार्टी प्रवक्ता प्रतीकले जारी गरेको वक्तव्यमा युवा विद्यार्थीहरुले उठाएका जायज मागहरुको सम्बोधन गर्न र गिरफ्तार भएका युवा तथा विद्यार्थीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न सरकारसित जोडदार माग गरियो ।
क्रान्तिकारी युवा लिग र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गिटी, बालुवा तथा ढुङ्गा निर्यात गर्ने सरकारी निर्णय र एमसीसीको खारेजी, लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिएको अतिक्रमणको विरोध, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, रोजगारीको ग्यारेन्टी, लकडाउनका कारण अप्ठ्यारोमा परेका आम मजदुर तथा तल्लो वर्गका जनतालाई राहत र आम जनतालाई खोपको व्यवस्था, पेट्रोलियम पदार्थको मूल्य बृद्धिको खारेजी लगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित मागहरु राखी काठमाण्डौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।
प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जन, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाललगायत सुरेश तामाङ, सुजन सापकोटा, विनोद केसी, सुलभ वैद्य, प्रेम राज श्रेष्ठ, सुजन कुमार थापा, मिन प्रसाद गिरी, अनुप सापकोटालगायत १२ जनालाई गिरफ्तार गरेको थियो ।
अहिलेको विषम परिस्थितिमा गरिएको यो विरोध प्रदर्शन र क्रान्तिकारी युवा–विद्यार्थीले उठाएका मागहरुको राजनीतिक वृतमा विशेष अर्थ र महत्व राख्दछ । ओली सरकारका गलत हर्कतका विरुद्ध राजनीतिक वृतबाट गरिएको सानै भए पनि यो एउटा सशक्त प्रतिरोध हो । संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा संघीय जनगणतन्त्रको नारा अगाडि सारिरहेको क्रान्तिकारी माओवादीका युवा र विद्यार्थीहरुको यो विरोध प्रदर्शन त्यस दिशातर्फको उद्घोष र आव्हान पनि हो ।

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुको प्रदर्शन
२८ जेठमा नै जनजीविकाका सवाल, प्रकृति र वातावरण संरक्षणको मुद्दाका विषयलाई लिएर बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पनि जारी निषेधाज्ञालाई बेवास्ता गर्दै विरोध प्रदर्शनमा उत्रिए । चिकित्सा शिक्षा आयोगको स्वायत्तताविरुद्ध कामचलाउ प्रधानमन्त्रीले कदम चालेको भन्दै बालुवाटारमा प्रदर्शन गर्ने क्रममा बृहत् नागरिक आन्दोलनका १८ अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी साँझ छाडेको थियो ।
पक्राउ पर्नेमा साहित्यकार एवं अभियानकर्मी खगेन्द्र संगौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, भास्कर गौतम, अनुभव अजितलगायत थिए ।
नगरिक आन्दोलनका अभियन्ताहरुले भनेका छन्, ‘हामी जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिने सरकारको अलोकतान्त्रिक र अवैध कदमको भर्त्सना गर्दै जनस्वास्थ्यको पक्षमा देशभरि प्रतिरोध जारी राख्न पनि सबैलाई अपिल गर्दछौं ।’
कोरोनाको दोस्रो लहर सुरु भएपछिको कडा निषेधाज्ञाका बेला सुरक्षाकर्मीको आँखा छल्दै यसअघि पनि नागरिक समाजका सदस्यहरूले कीर्तिपुर र माइतीघरमा खबरदारी र विरोधका स्वरहरू उचालिरहेका थिए । लकडाउनमै सर्वसाधारण भोकै मर्नुपर्ने परिस्थिति अनदेखा गरिरहेको सरकारको विरोध गर्न होस् वा जनजीविकाको सवाल चटक्कै बिर्सेर चलिरहेको सत्ताको फोहोरी खेलको विरोध गर्न होस्, नागरिक समाजका सदस्यहरूले पनि खबरदारी गरिरहेका छन् । उनीहरुको खबरदारी अब प्रतिरोध संघर्षमा विकसित हुँदै गएको छ । र, सशक्त प्रतिरोधका लागि आव्हान समेत गर्दै आएका छन् ।
बृहत् नागरिक आन्दोलनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यमान कोरोना महामारीमा स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकको व्यापक हनन भइरहेको र राज्य आफ्नो जिम्मेवारीबाट च्युत भइरहेको उल्लेख गरेको थियो । सर्वोच्च अदालतको निर्णयविपरीत सरकारले आसेपासे मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, जनस्वास्थ्यको बजारीकरणलाई एक कदम अगाडि बढाउने यस्ता क्रियाकलापको नागरिक आन्दोलन घृणापूर्वक भत्र्सना गर्दछ ।’
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको विरोध वक्तव्य
कोरोनाको सङ्क्रमणबाट जनतालाई बचाउनतर्फ नलागी यसै मौकामा अनेकन् दूरगामी असर पार्ने निर्णय सरकारले गर्दै आएको भन्दै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण क्षेत्रमा माफियालाई चोर बाटोबाट सम्बन्धन दिने हर्कतको तीव्र विरोध गरेको छ । संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले जारी गर्नु भएको वक्तव्यमा स्वास्थ्य सेवालाई माल बनाई बिक्री गर्ने तत्वको भ्रत्सना समेत गरिएको छ।
२७ जेठमा जारी वक्तव्यमा भनिएको छ, “साम्राज्यवादी र विस्तारवादीका स्वार्थ पुरा गर्न राष्ट्रका प्राकृतिक सम्पदा तथा पर्यावरणीय महत्वका भौतिक संरचना सुम्पने जस्ता गतिविधि राष्ट्रविरोधी हुन् । अतः त्यस्ता निर्णय र क्रियाकलाप तुरुन्त बन्द गर्न माग गर्दछौं ।”
प्रतिरोध संघर्षका लागि क्रान्तिकारी माओवादीेको आव्हान
१९ जेठमा नेकपा (क्रान्तिकारी माओवादी)ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीको नीति तथा अभिमत सार्वजनिक गर्दै सत्ता र व्यवस्थाका विरुद्ध प्रतिरोध संघर्ष उठानका लागि सार्वजनिक आव्हान गरेको थियो ।
पार्टी महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको थियो, “सरकारद्वारा पहिलोदेखि दोस्रो पटकसम्म प्रतिनिधि सभा विघटन गरेयता अहिलेसम्म आउँदा देशको राजनीतिक परिस्थिति असामान्य बन्दै जान थालेको देखिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायत जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि गुम्ने मात्र होइन, देशको राष्ट्रिय स्वाधीनता माथि नै गम्भीर खतरा पैदा हुन थालेको छ । यो बेला एकैसाथ राष्ट्रियता तथा जनतन्त्रका समस्या पहिले भन्दा झनै गम्भीर बन्दै गएका छन् र देश निरङ्कुशतावाद, फासीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको छ । साथै, यो बेला कोरोना महामारी समेतका कारण जनजीविकाका समस्या निकै विकराल बनेका छन् । यसरी जटिल तथा गम्भीर बन्दै गएका समस्याहरूको समाधान उही असफल प्रमाणित भैसकेको संसदीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनद्वारा कदापि हुन सक्दैन । यस स्थितिमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य रूपमा आवश्यक भएको धारणा हाम्रो पार्टी पुनः स्पष्ट गर्दछ । यो बेला हाम्रो पार्टी विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठित रूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन, क्रान्तिकारी विकल्पबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न र संयुक्त रूपमा सङ्घर्षलाई अगाडि बढाउनका लागि विशेष अपिल गर्दछ । त्यसैगरी हाम्रो पार्टी सबै सच्चा देशभक्त, जनतान्त्रिक तथा वामपन्थीहरूसित देशको राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाका समस्याको समाधानका लागि संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अनुरोध गर्दछ ।”
































