सिर्जना

प्रकाशित मिति : २०७८ जेष्ठ २४

- धनेश्वर पोख्रेल

 

स्थिर जीवनमा फुर्दैनन् सिर्जनाहरु
सिर्जना फुर्नलाई त
गति चाहिन्छ गति
गति बिनाका सिर्जनाहरु
यौटा कालिगढले
ढुङ्गो कुदेर बनाएको मूर्तिजस्तै हुन्
देख्दा
अति सुन्दर
अति मनमोहक
अति आकर्षक
अति लोभलाग्दा
अहिले नै बोलिहाल्छन् जस्तो
अहिले नै हिडिहाल्छन् जस्तो
तर
न तिनमा सास छ बोल्नलाई
न तिनमा जीवन छ हिड्नलाई
आखिर मूर्ति न हुन् तिनिहरु
निर्जीव
फगत निर्जीव ।
स्थिर जीवनका काल्पनिक सिर्जनाहरु
बन्द कोठाभित्रका
शब्दमाला मात्र न हुन्
तिनमा जीवन उत्सर्ग गर्ने
नत कुनै गति हुन्छ
नत गतिलो पाइन हुन्छ ।
गतिसिल जीवन भनेको कृयासिल जीवन हो
जो समय सन्दर्भमा
देश काल परिस्थिति सङ्ग
अन्तरघुलित हुँदै
हरेक घटनाहरुको अध्ययन गरिरहन्छ
ती घटनाहरुको
बस्तुपरक
अनि
यथार्थ परक
सश्लेसित अभिब्यक्ति नै नयाँ सिर्जना हो
जस्ले
समाज बुझ्न र बदल्नको लागि
यौटा अग्रगामी चेत दिनसक्छ
पुरानोको ध्वम्स र नयाँको निर्माण गर्न
यौटा मुक्ति मार्ग दर्शन दिनसक्छ ।
त्यसैले भन्ने गरिन्छ
हरेक सिर्जना नदीको बहाब जस्तै
गतिसिल हुनुपर्छ
हरेक सिर्जना जीवनशील हुनुपर्छ
हरेक सिर्जना यथास्थितिको करम्भङ्ग गर्ने
धारिलो अश्त्र हुनुपर्छ
सिर्जनामा बारुद भरिनुपर्छ
सिर्जनामा बम र बन्दुकको धमका पड्किनु पर्छ ।
लेउ लागेर जमेको
पोखरीको पानी जस्तो
गतिहिन र दुर्गन्धित हुनुहुन्न सिर्जना
सिर्जना त
नदीको बेगसरि
सलल–– बग्ने हुनुपर्छ
सिर्जना
जिउँदो लास सरि
निरासा , कुण्ठा, अकरमण्यता र गन्तब्यहिन हुनुहुन्न
सिर्जनाको आफ्नै गन्तव्य हुन्छ
सिर्जनाको आफ्नै लक्ष र उद्देश्य हुन्छ
सिर्जना
नत बन्द कोठामा थुनेर थुनिन सक्छ
नत हिरासद ,जेल र कालकोठरीमा थुनेर थुनिन सक्छ
त्यसैले
बन्दी बनाउन खोज्नु हुदैन सिर्जनालाई
कोपिलामै चुडेर मार्नुहुन्न सिर्जनालाई
आफ्नो गन्तब्यमा पुग्न
मार्ग पर्सस्त गरिदिनुपर्छ सिर्जनाको
यो बर्गिय समाजमा
सिर्जना पनि हुन्छ बर्ग सापेक्ष
सिर्जनाले आफ्नै बर्गको भाषा बोल्नुपर्छ
सिर्जनाले राष्ट्रको कथा र ब्यथा बोल्नुपर्छ ।
२०७८/२/२३