गाईघाट । नेकपा (क्रान्तिकारी माओवादी)ले उदयपुर कटारी नपा–४ स्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काइएको घटनाको घोर विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादी उदयपुरका सेक्रेटरी शंकर पौडेलले एक प्रेस वक्तव्य जारी घटनामा संलग्न मेयर, उपमेयर, वडा अध्यक्ष तथा कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्नुभएको छ ।

बुबाको किरिया बारेर बसेका किरियापुत्रीको घर समेत भत्काएर यो महारमारीको बेला जनप्रतिनिधि भनाउँदा मेयर, उपमेयर लगायतले सुकुम्बासी बस्तीमाथि अमानवीय र अपराधिक घटना घटाएको भन्दै वक्तव्यमा दोषीलाई तत्काल कारबाही गर्न, पक्राउ गरिएका सुकुम्बासीहरुलाई विनाशर्त रिहाई गर्न र पीडित सुकुम्बासीहरुलाई क्षतिपूर्ति दिलाउन जोडदार माग गरिएको छ । वक्तव्यमा अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित जनप्रतिनिधि तथा राज्य हुने पनि चेतावनी दिइएको छ ।

बिहीबार जारी गरिएको वक्तव्यमा भनिएको छ, “हिजो मध्यान्ह बाह« बजेको समयमा उदयपुर जिल्लाको कटारी नपा वडा नंं ४ मा एक दिनअघि पूर्ण निषेधित क्षेत्र घोषणा गरी सुकुम्बासीहरुको घरमा कटारी नपाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, वडा अध्यक्षहरु किरण दनुवार, राम पोखरेल र कर्मचारी ओम मिश्रको नेतृत्व, निर्देशन र सहभागितामा कटारीका डिएसपी नेतृत्वको प्रहरी टोली समेत लगाई डोजरले आक्रमण गरी बुबाको किरियामा बसेका किरियापुत्री समेतमाथि आक्रमण गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिडको यस्तो महामारीको अवस्थामा समेत २५ बर्षभन्दा अगाडिदेखि आवादी कमाइ गर्दै र्आका १० बर्षदेखि घर टहरा बनाएर बसेका सुकुम्बासीमाथि कोभिडको मार बेहोरिरहेको अवस्थामा यस्तो किसिमको जनप्रतिनिधि भनाउँदाहरुले जनमतको समेत घोर अपमान गर्दै अमानवीय र अपराधिक घटना घटाउनु घोर निन्दनीय विषय हो । यस घटनाका पीडितमध्येका एक सन्तबहादुर सुनुवार हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला सदस्य समेत हुनुहुन्छ ।
यसरी आफैले बनाएको संविधानको समेत घोर अपमान गर्दै नागरिकको बसोबास गर्न पाउने नैसर्गिक अधिकारबाट समेत बञ्चित गराउने कार्य तुरुन्त रोकियोस् । र, प्रहरी प्रशासनले पक्राउ गरेका व्यक्तिहरुको विनाशर्त रिहाई गर्न र पीडितहरुको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिलाइयोस् । घटनामा संलग्न मेयर ज्ञानेन्द्र श्रेष्ठ, भिमकुमारी राउत, किरण दनुवार समेतलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गरियोस् । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार र जवाफदेही सम्बन्धित जनप्रतिनिधिहरु र राज्य नै हुने चेतावनी दिन चाहन्छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर