
प्युठान जिल्लाको साबिक बिजुली गा.बि.स.वडा नम्बर ३, बिजुली च्युरापानी हालको ऐरावती गाउँपालिका वडा नम्बर ६, मा २०२८ भाद्र २८ गते बुबा वीरबहादुर थापा र आमा चुमा थापाको कोखबाट जन्मनु भएको थियो कमरेड गीता । चार भाइ र चार बहिनी मध्यकी जेठी छोरीको रूपमा जन्मिएकी गीताको बाल्यकाल आफ्नै गाउँघरमै वितेको थियो ।, उकाली ओराली घाँसदाउरा पानीपँधेरी सोतरस्याउला गर्नु र गाईबाख्रा चराउदै जङ्गल चाहार्नु पाहाडमा बसोवास गर्नेहरूको जीवन थियो । त्यती गर्दागर्दै हालको जनता माध्यमिक बिद्यालय बिजुली च्युरापानी, प्युठानमा प्राथमिक शिक्षा हासिल गर्नुभएको थियो । भाइ बहिनीहरूलाई रेखदेख गर्दै बुबाआमाको सहयोगीका रूपमा समय बित्थ्यो । त्यसैले उहाँको प्राथमिक शिक्षा भन्दा माथिल्लो शिक्षा अध्ययनमा पुर्णबिराम लाग्यो । नियमित कामकाज, सुख–दुःख, हर्ष–पीडा, रमाइला–नरमाइला दिनहरू बिताउदै घरायसी दिनचर्यामा रमाउँदै गरेकी गीता जब अठार बर्ष पुग्नु भयो तब उहाँको जीबनले नयाँ मोड लिनु पर्ने परिस्थिति सिर्जना भयो ।
२०४६ साल फागुन २८ गते साबिक ढाकाबाङ गाबिस वडा नम्बर ९, लामिडाडा दमार, हालको भुमिस्थान नगरपालिका वडा नम्बर १, अर्घाखाँची जिल्लाका नरेन्द्रबहादुर बञ्जाडेसँग विवाह बन्धनमा बाँधिनु भयो । उहाँको कुनै प्रेम विवाह थिएन । परम्परागत विधि–विधानअनुसार मागी विवाह थियो । विवाह बन्धनमा बाँधिएपछि उहाँको राजनीतिक जीवन पनि सुरुवात भयो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मसाल) हुँदै राजनीतिक यात्रा तय गर्नु भएका उहाँका जीवनसाथीसँग काँधमा काँध मिलाउदै उहाँसँगै घरब्यबहार चलाउँदै महिला मुक्ति आन्दोलनमा सकृय रहनु भएको थियो ।

पहाडको जीवनशैली कष्टकर हुने नै भयो । भरपेट खान र शरीर छोप्ने एकसरो टालो फेर्न पनि धौ धौ पर्ने आर्थिक अवस्थाका कारण गीताको परिवारले बसाईं सर्ने निधो ग¥यो । त्यतिञ्जेल गीताको कोखबाट दुई छोरा भुबन र हिमाल, छोरी कोपिलाको जन्म भएको थियो । यिनै तीन सन्तान, सासू र जीवनसाथी नरेन्द्रसहित गीताको परिवारले अर्घाखाँचीको कष्टकर जीवनबाट बसाईँ सरेर दाङ आयो । २०६० साल फागुनमा दाङको साबिक लक्ष्मीपुर गाबिस ६, बर्गदुवा हालको घोराही उप–महानगरपालिका वडा नम्बर ३ गोग्लीमा बसाइँसराई गरि आएको गीताका जीवनसाथी नरेन्द्रले बताउनु हुन्छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा सञ्चालन भएको वर्ग दुस्मन सखाप पारी नँया जनवादी राज्य ब्यवस्था स्थापनार्थ सुरु भएको जनताको महान् जनयुद्धप्रति आकर्षित भई उहाँको परिवार जनयुद्धको महान् यात्रामा होमिएको थियो । जीवनसाथी भुमिगत बस्नुपर्ने अवस्थामा घरको सम्पुर्ण जिम्मेवारी सासुससुरा छोराछोरी स्याहारसुसार गर्नु, लालनपालन गर्नु, छोराछोरीलाई समयमै विद्यालय पठाउन तयारी गर्नुपर्ने जस्ता घरायसी कामसँगसँगै भुमिगत रूपमा महिला मुक्ति आन्दोलनलाई स्थानीय स्तरमा उठान गर्न उहाँको तत्कालीन समयमा महत्वपूर्ण भुमिका रहेको थियो । २०६२÷०६३ को १९ दिने आन्दोलनपछि भने उहाँलाई राजनीतिक आन्दोलनमा सहभागीता जनाउन सहज परिस्थिति बन्यो । त्यसपछि माओवादी आन्दोलनका हरेक घटनाक्रमहरूमा गीताको सकृयता रहेको थियो । २०६९मा पार्टी विभाजन भएपछि नेपाल कम्युनिस्ट पार्टी–माओवादी हुँदै हाल (क्रान्तिकारी माओवादी)मा पार्टीको शेल सदस्य तथा भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी दाङ देउखुरी जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । झण्डै एक बर्स अगाडिदेखि अस्वस्थ रहनु भएकी कमरेड गीता उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा २०७८ बैशाख २४ गते राति २ः३० बजे सासू छोराछोरी जीवनसाथीलाई छोडेर सदाका लागि यस धर्तीबाट विदा लिनुभयो ।
पचास बर्सको अल्पायुमै ज्यान गुमाउनु भएकी कमरेड गीतालाई अन्त्यमा विश्वभर फैलिएको कोरोनाजन्य महामारीले हामीबिचबाट चुँडेर लियो । उपचारका सबै प्रकृयाहरू पूरा गर्दै गर्दा पनि उहाँलाई बचाउन नसकेको कुरा उहाँका जीवनसाथी तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङका जिल्ला सचिव कमरेड नरेन्द्र बञ्जाडेले बताउनुहुन्छ । सरल स्वाभाव, मृदुभाषी, इमानदार, राजनीतिक र वैचारिक रूपमा समेत प्रष्ट कमरेड गीता हामी माझ रहनु भएन । परन्तु, उहाँले हामीलाई छोड्नु भएको सिङ्गो क्रान्तिकारी इतिहास हामी माझ सदा स्मरणीय रहनेछ । अलविदा कमरेड गीता !
प्रस्तुती ः ईश्वरीप्रसाद गैरे