वैशाख २९, रुपन्देही, बुटवल ।
रूपन्देहीको बुटवल–११ देवीनगरका ३९ वर्षीय रिमाललाई गत मंसिर २१ गते कामबाट फर्किएपछि ज्वरो आयो ।
श्रीमती अरुणाले नजिकैको पसलबाट औषधि किनेर खुवाइन । त्यसले सुधार देखिएन । खोकी सुरु भयो । चार दिनपछि कोरोना आशंकामा स्वाब परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुगे । साँझ रिपोर्ट पोजिटिभ आयो ।
संक्रमण पत्ता लागेपछि सावधानी अपनाएर घरमै आइसोलेसनमा बसे । त्यसको तीन दिनपछि श्वासप्रश्वासमा समस्या देखियो । ‘आत्तिएर लुम्बिनी प्रादेशिक अस्पताल गएँ,’ रिमालले भने, ‘त्यहाँ शैया छैन भन्ने जवाफ सुन्नेबित्तिकै बेहोस भएँ ।’ श्रीमती र भाइले त्यसै राति भैरहवाको भीम अस्पताल पुर्‍याए । त्यहाँ आईसीयू बेड पाएपछि केही राहत मिल्यो । भीममा तीन दिन राखे पनि अवस्था ज्युँकात्युँ थियो ।
त्यसपछि श्रीमती अरुणाले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजाने निधो गरिन । भीम अस्पतालबाट टेकु पुर्‍याउँदासम्म हरि अन्जान थिए । टेकु पुर्‍याएर उपचार थालेपछि उनलाई स्ट्रोक (प्यारालाइसिस) देखियो । शुक्रराजमा उपचार सम्भव नभएकाले चिकित्सकले वीर अस्पताल जान सल्लाह दिएको अरुणाले बताइन । ‘टेकुमा चार दिन उपचार गरेपछि वीरमा पुगियो,’ उनले भनिन्, ‘डाक्टरले बाँच्ने सम्भावना कम छ भनिरहेका थिए । तर मनले बचाउन सकिन्छ जस्तो लागिरहेको थियो ।’ नाबालक दुई छोरा छाडेर अरुणा भाइ र आमासँगै काठमाडौं पुगेकी थिइन ।
वीर अस्पताल पुर्‍याएपछि हरिलाई भेन्टिलेटरमा राखेर उपचार थालियो । परिवारले उनलाई देख्न पाएनन । अस्पताल परिसरमा दिनभर बस्ने, औषधि ल्याउने, चिकित्सक राउन्डमा आउँदा कस्तो छ भनेर हालखबर बुझ्ने गर्न थाले । ‘४० दिन पुग्दासम्म अवस्था नाजुक छ, घर लैजाने भए निकालिदिन्छौं भनिरहेका थिए,’ उनले भनिन्, ‘हामीले आस मारेनौं ।’ धैर्यताले काम गर्‍यो । ४३ औं दिनमा चिकित्सक र नर्सले सुधार देखिन थालेको बताए । ‘४५ औं दिनमा होस खुल्यो,’ अरुणाले भनिन्, ‘सबै अचम्म परे । चिकित्सक र नर्स पनि चमत्कार भएको भन्दै रमाए ।’
होस खुलेको दुई दिनपछि जनरल वार्डमा सारेपछि हरि र अरुणाको भेट भयो । उनीहरूका आँसु देखेर अस्पतालमा उपस्थित भावविह्वल बने । बधाई दिनेको लाइन नै लाग्यो । ‘घरबाट बाबुहरूले फोनमा बुबाबिना घर नआउनूस् है मम्मी भन्थे,’ अरुणाले भनिन्, ‘निको भएको थाहा पाएपछि छिटो लिएर आउनूस् भन्न थाले ।’ अवस्था सामान्य बनेपछि उनीहरू घर फर्किए ।
घर आउँदा आफन्तले भव्य स्वागत गरे । कोरोनाका कारण स्ट्रोक भएकाले आँखा कमजोर भएका छन । यही महिना जँचाउन गएका बेला चिकित्सकले आँखाको समस्या हट्छ भनेका छन । अहिले धेरैले फोन गरेर त्यो अत्यासलाग्दो अवस्थाबारे सोधिरहन्छन । समयमा उपचार मिल्यो भने कोरोना संक्रमणलाई जित्न सकिने हरिले बताए । ‘दैनिक स्वास्थ्यबारे चासो दिने बढेका छन्,’ उनले भने, ‘लामो समय भेन्टिलेटरमा बिताएर निको भएको अनुभव सुनाउँदा अहिलेको बेलामा धेरैको आत्मबल बढेको महसुस गरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर