काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । ओलीले विभिन्न राजनीतिक उतारचढावबीच विश्वासको मत लिन लागेका हुन् । आफ्नै पार्टीभित्रका नेपाल समुहको असहमतिका बाबजुद ओलीले विश्वासको मत लिन खोजे पनि अहिलेसम्मको सत्ता समीकरणलाई हेर्ने हो भने उनले विश्वासको मत पाउने देखिएको छैन । नयाँ वैकल्पिक सरकार प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाउने चर्चा चले पनि त्यसको पनि स्पष्ट खाका प्रष्ट भइसकेको छैन ।
प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।
संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ ।
कार्यसूची अनुसार आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन ।
प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने निकै मुस्किल देखिएको छ । एमालेकै माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरेका छन् । अहिले यो समूहका सांसदहरुको बैठक बसिरहेको छ । उनीहरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिइरहेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि प्रधानमन्त्री ओलीलार्य मत नदिने देखिएको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले विश्वास मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर