पिँजडाको देशमा

पिँजडाको देशमा

कित बाँच्लान् सरकारका दायाँबायाँ हिँड्ने
कित बाँच्लान् पैसावाला अस्पत्तालै किन्ने
मेरा लागि दुबै कुरा तारा बस्ने घर
टिपी खान नपाइने के अर्थको छ र ?

पहुँच पनि छैन हजुर धन पनि छैन
अकालमा मरिजाने मन पनि छैन
छोराछोरी श्रीमतीले परैबाट हेर्छन्
उठ बाबा भन्दै आँसु परेलीले सोर्छन्

भोट माग्न आउनेले दिन आए हुन्थ्यो
आजसम्म दिएँ जति फिर्ता पाए हुन्थ्यो
यो बेलामा पनि देशको माया भेटिदैन
देश भन्ने पिँजडाको छायाँ मेटिदैन

एक घुट्की सास पनि पाइदैन भने
तीन हाते सुत्ने ठाउँ मेरो हैन भने
किन मैले मेरो देश भनी भर पर्ने ?
किन मैले गासबास काटी कर तिर्ने ?

जसलाई मैले देश भन्थेँ पिँजडा पो रैछ
जहाँ पनि पिँजडा छन् भाग्ने ठाउँ छैन
पिँजडाका मालिक हो मेरो कुरा सुन
तिम्रो हातको यो पिँजडा टुट्छ कुनै दिन
२०७८÷०१÷२० तुलसीपुर, दाङ