
आखिर सही बिचार कहाँबाट आउँछ ? के आकाशबाट फुत्त झर्छ ? अहँ त्यस्तो हुँदैन । के त्यो धर्तिबाट सुटुक्क पलाउँछ ? अहँ, त्यसरी पनि पलाउँदैन । के त्यो हाम्रो दिमागमा आफसेआफ पैदा हुन्छ ? अहँ त्यस्तो पनि हुँदैन । सही बिचार त सामाजिक व्यवहारबाट पैदा हुन्छ । सामाजिक व्यवहार नै सही बिचारको निर्बिकल्प मूहान हो ।
मान्छेको सामाजिक अस्तित्वले नै उसका बिचारको निर्धारण गर्छ । अर्थात यसो भनुँ, जव आमजनताले अग्रगामि वर्गको सही बिचार आत्मासात गर्छ, तब त्यो बिचार समाज र संसारलाई बदल्ने भौतिक शक्तिमा बदलिन्छ । सामाजिक व्यवहारका क्रममा मान्छेले बिभिन्न प्रकारका संघर्ष गरिरहेको हुन्छ । उसका सफलता र असफलताद्वारा प्राप्त अनुभवका आधारमा समृद्ध हुन्छ । ज्ञान सुरुमा इन्द्रीयग्राह्य हुन्छ । अर्थात, मान्छेका पाँच ज्ञानेन्द्रीय – आँखा, कान, नाक, जिब्रो र छालाद्वारा वस्तुगत बाह्य संसारका असंख्य घटनाको प्रतिबिम्ब मस्तिस्कमा ग्रहन गर्छ । अब धारणाका रुपमा रहेको ज्ञान अर्थात बिचारले त्यहि बेला छलाङ मार्छ, जब इन्द्रीयग्राह्य ज्ञान ठूलो परिमाणमा सङ्ग्रहित हुन्छ । यो ज्ञान प्राप्तिको एउटा प्रक्रिया हो ।
कुनै व्यक्तिको चेतना या बिचार (जसमा सिद्धान्त, नीति, योजना, उपाय पर्छ) ले वस्तुगत बाह्य संसारको नियमलाई सही रुपमा प्रतिबिम्वन गर्छ कि गर्दैन, यस चरणमा टुङ्गो लाग्दैन । यस चरणमा व्यक्तिको चेतना या बिचार सही छ या गलत भनेर खुट्याउन सकिंदैन । यस्को निम्ति ज्ञानप्राप्तिको दोश्रो चरण, जुन चरणमा हामी चेतनाबाट पदार्थतर्फ फिर्ता हुन्छौँ, बिचारबाट अस्तित्व तर्फ फर्कन्छौं र पहिलो चरणमा प्राप्त ज्ञान सामाजिक व्यवहारमा उतार्छौं । जसबाट हामी हाम्रो सिद्धान्त, नीति, योजना र उपायले सफलता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने हेर्छौं । सामान्यत: जसमा जो सफल हुन्छ, उ सही ठहरिन्छ, जो असफल हुन्छ उ गलत हुन्छ । यो कुरा प्रकृतिसँग मनुष्यको संघर्षका सन्दर्भमा विशेष रुपमा सत्य ठहरिन्छ ।
हाम्रा कतिपय साथीहरु छन्, जो यो ज्ञान सिद्धान्त बुझ्दैनन् । उनीहरुको बिचार, अभिमत, नीति, तरिका, योजना र निष्कर्ष, त्यस्तै गरेर उनीहरुले गर्ने धाराप्रवाह भाषण र लामालामा लेखको मूल आधार वाक्य के हो भनेर सोधियो भने उनीहरुलाई यो प्रश्न नै अनौठो लाग्छ, उनीहरु नाजवाफ हुनुपुग्छन् । न त उनीहरु पदार्थको चेतनामा रुपान्तरण र चेतनाको पदार्थमा रुपान्तरण हुन्छ भन्ने कुरा नै बुझ्न सक्छन् । जवकि यस प्रकारको छलाङ हाम्रो दैनन्दिनको जिन्दगिमा विद्यमान रहेको हुन्छ । खास उनीहरुमा यस प्रकारको कमी–कमजोरी रही आउनुको कारण के हो त भने द्वन्द्वात्मक भौतिकवादको गहिराइलाई बुझ्न नसक्नु हो ।
वर्ग–संघर्ष, सामाजिक क्रान्ति पुँजीवादबाट समाजवादमा रुपान्तरण आदिको सबै देशहरुमा समान आधारभूत सिद्धान्त हुन्छ । तर जतिबेला केही गौण तथा प्रधान सिद्धान्त माथि आधारित भएर तिनको प्रयोगको कुरा आउँछ, त्यतिबेला प्रत्येक राष्ट्रमा भिन्नता दृष्टिगोचर हुन्छ । रुसमा भएको अक्टोवर क्रान्ति र चिनमा भएको नयाँ–जनवादी क्रान्ति त्यस्तै उदाहरण हुन् । आधारभूत सिद्धान्तको सन्दर्भमा यी दुबै क्रान्तिका थुप्रै भिन्नता छन् । उदाहरणका लागि रुसमा भए गरेको अक्टोबर क्रान्ति सहरबाट गाउँतिर विस्तारित भयो भने चिनमा भएको नयाँ जनवादी क्रान्ति गाउँबाट सहरतिर विस्तारित भयो । यी दुई क्रान्तिका थुप्रै भिन्नता मध्ये एक हो यो ।
नेपालमा पनि देशभक्त स्वाभिमानि नेपाली जनसमूदाय पटक पटक मुक्ति र स्वतन्त्रताको निम्ति जन–संघर्ष र सशस्त्र संघर्षमा दिलोज्यानले नउत्रेका होइनन्, उत्रेकै हुन् । तर हर संघर्षका नेतृत्वदायी भूमिकामा रही आएकाहरु क्रान्तिकारी सिद्धान्तबाट बिचलित भई, आफ्नो व्यक्तिगत स्वार्थमा लिप्तभई पुँजीवादी सोचमा परिणत हुनुपुग्नुको परिणाम, जुन वर्ग र व्यवस्थाको विरुद्ध संघर्ष गर्यो अन्तत: उनै वर्ग र व्यवस्थासँगको सम्झौतामा क्रान्तिकारी संघर्षहरु टुङग्याउँदै आइरहेको स्थिति हो यो । यसको निम्ति हाम्रो सामू ज्वलन्त उद्धाहरणको लागि २००७ साल देखि २०६२–०६३ सालसम्म भए गरेका जन संघर्ष र सशस्त्र–जनसंघर्षलाई धोका–धाडी दिंदै, देशमा प्रजातन्त्र र गणतन्त्र प्रादुर्भाव भयो भनि भ्रमपूर्ण घोषणा गरी ब्रम्हलुट गर्दै आइरहेको वर्तमान स्थिति हो ।
नेपालको वर्तमान स्थिति, दुई तिहाई बहुमतिय सरकारको नेतृत्वकारी डबल नेकपाका अध्यक्ष कार्यकारी प्रमुख केपी शर्मा ओलीले (हाल एमाले) पुरै असंवैधानिक तौरतरिका अपनाउँदै आफ्ना आसेपासे (दास, दासिहरु) हरुलाई आफु वरिपरी एकितृत गरी देशको राज्यसत्ता कब्जा जमाउँदै, देशको राष्ट्रि स्वाधिनता माथि साम्राज्यवाद, विस्तारवाद र विदेशी प्रतिक्रियावादीहरुको अत्यधिक चलखेलको आफु तमासे बनी गैरराजनैति हरकत भित्र गौरवान्वित हुँदै आइरहेको प्रष्ट देख्नमा आएको छ । खासमा भन्नै पर्दा, यसैको परिणाम स्वरुप नेपालका आम जनसमूदायको स्थिति आजसम्म पनि चौतर्फि रुपमा जीवन मरणको जतिल समस्यामा जेलिएर जीवन यापन गर्न वाध्य हुन परिहेको छ ।
देशमा बितिरहेको वर्तमान स्थितिलाई लिएर भन्ने हो भने संसद र संसदीय समितिका बैठकहरुमा देशको आवश्यक्त अनुरुप सशक्त र प्रभावकारी भूमिका बिना जनताले तिरेको कर आँखा चिम्लेर हसुर्न यिनीहरुलाई लाज लाग्नु पर्ने हो । कामै नगरी राज्यकोषबाट सेवा सुविधा लिन नैतिक रुपले मिल्ने कुरो होइन र मिल्दैन । सत्तारुद्ध दलका विगत तिनवर्षे क्रियाकलाप हेर्ने हो भने, जनताका काम होइन, भाषण र अहंकारी स्वरुप प्रदर्शन त्यतित: भइरहेको छ । उनीहरुको आक्रोस, गालि–गलौजले पुरै समाजलाई प्रदुषित तुल्याएको छ ।
मान्छे सामाजिक प्राणि हुनुको सँगै प्रकृतिकै उपज र सदस्य भएकाले, प्रकृतिसँग शत्रुता कायम गर्यो भने मान्छे पनि दढेलो लागेको बनको बाघ जस्तै असुरक्षित हुन्छ । कोरोना जिवाणु महामारिले त्यो पाठ सिकाएकै छ । वायु प्रदुषण गराउने पुख्य कारणमा, देशका गैरजिम्मेवार सरकारहरुको कार्यविधि बढ्दो अव्यवस्थित शहरिकरण, मापदण्ड बिपरितका कलकारखाना संचालन, दिनानुदिन बन बिनाश अवैज्ञानिक एवम् अविवेकशील विकासका गतिविधि संचालन हुनु हो । त्यस बाहेक डिजलबाट संचालित हुने गाडिको संख्या दिनप्रतिदिन बढिरहनु, आम जनतामा वातावरण संरक्षण र संवद्र्धन प्रति न्यून चासो हुनुले पनि काठमाडौं लगायत तराई र पहाडि क्षेत्रमा प्रदुषण बढिरहेको आंकलन गर्न सकिन्छ ।
वायु प्रदुषणले गर्दा काठमाडौंको परिचय ‘विश्वकै सबैभन्दा प्रदुषित शहर’ बन्नु भनेको चानचुने कुरा होइन । नेपालको वर्तमान संविधानको धारा ३० मा मोलिक हकको रुपमा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको छ । तर, देश र जनता प्रतिको गैरजिम्मेवार वर्तमान सरकारको क्रियाकलापले गर्दा यो देशका नागरिकहरु स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक केवल कागजमा मात्र सिमित हुन पुगिरहेको छ ।
कम्युनिष्ट नामधारी सरकार, सत्तासिन हुन आइपुगेदेखि जनतालाई यसो गर्नु, त्यसो नगर्नु भन्ने आदेश दिन्दै गर्ने, तर आफुचाहिं गतिछाडा तालले हिंड्ने तौरतरिकाले देशका आम जनतामा देशमा सरकार मौजुद्ध रहेको आभाससम्म दिन सकिरहेका छैनन् । अहिले देशभर दोश्रो कोरोना संक्रमण देखा पर्नुको सँग काठमाडौं उपत्यकामा संक्रमितको दर बढ्दै जाँदा, सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो । तर, सरकारी पक्षबाट नै आफ्नो आदेश, निर्देशन पालना गरिएन । भन्नुको मतलव प्रधानमन्त्री स्वयम् आफै उपस्थित भई निर्माण कार्य अधुरो छँदै धरहरा उद्घाटन गर्दैगर्दा कार्यक्रम स्थलभित्र भिड त थियो नै कार्यक्रम स्थल बाहिर पनि उद्घाटन हेर्न आउनेको उतिकै घुइँचो थियो । यो त भयो बाहिरको कार्यक्रम । यो भन्दानी सुन्दासम्म पनि दिक्क लाग्दो कुरा के हो भने, सरकारी प्रधानमन्त्री क्वाटर बालुवाटारभित्रबाटै स्वास्थ्य मापदण्ड उलंघन गर्दै बिभिन्न बैठक र भेला संचालन गर्दै आएका छन् ।
गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हाम्रोमा प्रधानमन्त्री तथा मन्त्रीहरु नै यस्ता नियम उलंघन गरिरहेका छन् । गत सोमबारको मन्त्रीपरिषदको बैठकले मठमन्दिर, मस्जिद, चर्च लगाएतका धार्मिक स्थलमा नित्यपुजा मात्रै गर्ने भिडभाड नगर्ने निर्णय गर्यो । तर, प्रधानमन्त्री तथा मन्त्रीहरुले राम–सीताको मन्दिर हस्तान्तरण सम्बन्धी धार्मिक अनुष्ठान गर्ने नाममा हजारौंको भिड गरिरहेका छन् र हजारौंको लावालस्कर सहित प्रदर्शन देखाइरहेका छन् । के यहि हो जनताले सरकारसँग गरेको अपेक्षा ? जनताको अपेक्षा यस्तै बेमौसमि कामबाट परिपूर्ति हुन्छ ?
देशमा बितिरहेको वर्तमान स्थितिलाई लिएर भन्नुपर्दा शासनसत्तामा हाबी बन्दै आइरहेका कार्यकारी प्रमुख केपी शर्मा ओलीको सोच र कार्यविधि हेर्दा जनताको पिडालाई बुझ्न नचाहने र बुझेर आत्मासात गर्न नचाहने मानवता बिहिन शासकका कारण, अहिले दिनदिनै कोरोना संक्रमण बढ्दै आइरहेको छ मात्र होइन संक्रमितहरुको मृत्युदर पनि बढ्दै गइरहेको छ । खासमा भन्नुपर्दा, यो कोरोनाले मारेको होइन । यो त शासकले गरेको नागरिक (जनता) हत्या गर्ने जस्तो जधन्य अपराध गर्न समेत पछि नपर्ने यी मानवता बिहिन भसमासुर नै हो । जबसम्म जनताको पीडालाई आत्मसात गर्ने शासक र त्यसै अनुसारको शासन प्रणाली विकास हुन र गर्न सक्दैन, तबसम्म यसै गरी हामी मध्येका कैयौं असामायिक मृत्यु हुने निश्चित छ । यस्ता देश र जनविरोधिलाई शासनसत्तामा तिकाई राख्ने सत्तारुद्ध दल र प्रतिपक्षदलहरु पनि कम जिम्मेवार छैनन् ।
यसै सन्दर्भमा भन्नुपर्दा देश र जनताप्रति गैरजिम्मेवार वर्तमान सरकारको कार्यविधि अहिले कोरोनाको संक्रमणको स्थिति भयावह हुनुको सँगै संक्रमितहरुको मृत्युदर बढीरहँदा समेत, वर्षौं देखि बिग्रेर काठमाडौं उपत्येका भित्रका अस्पतालहरुमा थन्को परिरहेको अक्सिजन प्लान्ट अझैसम्म मर्मत–सम्भार गर्ने कुनै सुरसार गर्ने तरखर देखिएको छैन । उता पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानले दुई करोड रुपैंयाको अभावमा अक्सिजन प्लान्ट किन्न सकेको छैन । यता भने राम–सीताको अनुस्थान गर्ने र पशुपतिमा जलहरि चढाउने नाममा करोडौं रुपैंया खर्च गर्न भ्याइसकेका छन् ।
ध्वाँसे वर्तमान सरकारसँग हरेक स्थानीय तहमा अस्पताल बनाउने योजना छ । योजना बनाउनु र जनतालाई सुनाउनु कुनै नौलो कुरा होइन । विकासका भाषण त पञ्चायती व्यवस्थामा पनि हुने गर्दथे । विकासको मूल फुटाउने नारा राजाको पालामा पनि सुनिने गथ्र्यो । अहिले देश र जनविरोधी भसमासुर सरकार देशको राष्ट्रिय स्वाधिनता समुल नष्ट ध्वष्ट पार्न साम्राज्यवाद र विस्तारवादको दलालि गर्दै एमसीसी परियोजना संघीय संसदबाट पास गर्न गराउन कम्मर कसेर लागि पर्दैछन् भने नेपाली काँग्रेस पनि यसै कार्यमा संलग्न हुन दिलोज्यानले तत्परता देखाइरहेका छन् । देश र जनताको अपेक्षा यस्तै हावादारी कामकुरोमा निहित रहेको छ त ?
जब पर्यो राति तब बुढी ताति भने जस्तै गरी अहिले आएर देशमा स्वास्थ संकटकाल लागु गर्ने सरकारी तर्फबाट चर्चा परिचर्चा भए गरेको सुन्नमा आएको छ । दु:ख लाग्दो कुरो देशमा कोरोना संक्रमणको दोश्रो लहर फैलिंदै गएको देखिएपछि र त्यसका लागि सरकार समय छँदा गैरजिम्मेवार बनी निर्धक्क भई बस्नु र आम जनता लापरवाह भए पछि बन्दको विकल्प थिएन नै तर सरकारसँग यस्तो स्थितिमा पनि परिक्षण, राहत र व्यवस्थापनका लागि कुनै योजना छ त, केवल राज्यसत्तामा कसरी तिक्ने र बिरोधी दललाई कसरी लज्जित बनाउने भन्ने खेलको ।
सचेत स्वाभिमानी देशभक्त क्रान्तिकारी नेपाली जनसमूदायको चाहना भनेको देशमा सर्वहारा वर्गिय अधिनायकत्वमा आधारित जनवादी व्यवस्था कायम गरी संघीय जनगणतन्त्रीय राज्यव्यवस्था मार्फट देशमा आजसम्म पनि चौतर्फि रुपमा जीवन–मरणको जतिलतम् समस्यामा जेलिएर जीवन यापन गर्न वाध्य नेपाली जनसमूदायलाई स्वतन्त्र र सौहार्दपूर्ण तौरतरिका अपनाई, प्रत्येक जनको आ–आफ्नो क्षमता अनुरुपको बिना भेदभाव काम र मामको व्यवस्था मिलाई सुख–सयल जीवन ज्युन पाउने स्थिति सृजना गर्न देशका तमाम् क्रान्तिकारी कम्युनिष्ट, बाम्पन्थि एवम् सम्पूर्ण व्यक्ति समूह र पार्टीहरु एकजुतभई अग्रगामी क्रान्तिकारी छलाङमारी अगाडि बढ्नु नै आजको राष्ट्रिय आवश्यक्ता हो र यो नै सबै क्रान्तिकारीहरुको मूल उद्देश्य रही आएको छ ।
२०७८/१/२१
ताहाचल, काठमाडौँ





























