
काठमाडौं । बृहत् नागरिक आन्दोलनले टुँडिखेलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक अपिल जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’बाट विकसित सार्वजनिक स्थान भएको र यो समुदायकै जिम्मामा फर्काउन माग गरेको छ ।
‘अरूका लागि टुुँडिखेल । सेनाले आफ्नो मौजा ठान्छ, सरकारले वार्षिक कर्मकाण्ड गर्ने थलो । पहिले त्यस्तो थिएन, अब कहिल्यै त्यस्तो हुन दिनुहुँदैन,’ नागरिक आन्दोलनको अपिलमा छ, ‘लोकतन्त्र दिवसका अवसरमा नागरिक आन्दोलन महानगर प्रमुखलाई अपिल गर्दछ, तिनि ख्यःमा सेनाको घेराबारा हटाएर नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्दछ । रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्दछ । लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्दछ ।’

स्वस्थ हावामा सास फेर्नु, अन्तर्संवाद चलाउनु, सार्वजनिक क्रियाकलाप गर्नु, चाडबाड मनाउनु, खेलकुद गर्नु, कलाकारिता प्रदर्शन गर्नु, राजनीतिक अन्तत्र्रिmया गर्नु, विपत्मा भेला हुनु, आमसभा र भेला गर्नु सर्वसाधारणका अधिकार भएको नागरिक आन्दोलनले बताएको छ । ‘सामुदायिक सम्पदा नष्ट गर्ने, खुला ठाउँलाई शासकीय र व्यापारिक लेनदेनको माध्यम बनाउने व्यक्ति÷शक्तिलाई लोकतन्त्रमा कुनै स्थान हुनुहुँदैन । जनप्रतिनिधिले यो आधारभूत सत्य भुल्ने होइन, यसलाई साकार गर्न सक्नुपर्दछ,’ अपिलमा छ, ‘नगरलाई स्वस्थ, सुन्दर र गुणस्तरीय जीवनअनुकूल राख्ने कबोलसहित काम गर्न सक्नुपर्दछ । ठूला पक्की भवन, कालोपत्रे सडकका जालो, व्यापारिक अड्डा र कंक्रिटका स्मारकले नगर समृद्ध बन्ने होइन ।’
नागरिक आन्दोलनले हजारौँको बलिदानीबाट हासिल लोकतन्त्रको सम्मानमा ‘लोकको बृहत् स्वार्थ निम्ति काठमाडौं महानगरपालिकाले तिनि ख्यःमा समुदाय र नागरिकको अधिकार स्थापित गर्न तत्काल अग्रसरता लेओस्, सांकेतिक रूपमै किन नहोस् ! र, लोकतन्त्रमा कम्तीमा पनि सार्वजनिक स्थलमाथि नागरिक स्वामित्व स्थापित हुन सम्भव छ भन्ने यथार्थ प्रदर्शित गरोस्’ भन्ने अपेक्षा गरेको जनाएको छ ।
लोकतन्त्र दिवसका अवसरमा नागरिक आन्दोलनले खुला स्थानमा नागरिक पहुँच कायम गर्न, नागरिक आत्मसम्मान र स्वामित्व रक्षा गर्नका लागि नागरिक आवाज बुलन्द गर्न पनि अपिल गरेको छ ।






























