
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले यस पटकको जनआन्दोलन दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । जनआन्दोलन दिवसको अवसरमा सातवटै प्रदेशमा एकसाथ जनसभा गरेर भव्य रुपमा चैत्र २४ को जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । अन्य प्रदेशहरुमा जस्तै २ नं प्रदेशमा पनि क्रान्तिकारी माओवादीले नारा जुलुससहित भव्य जनसभा गर्ने तयारी गरेको छ । पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश दुईका इन्चार्ज कृष्णदेव सिंह दनुवारले दिएको जानकारी अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुबाट पार्टी नेता, कार्यकर्ता तथा जनसमुदायको सहभागितामा भव्य रुपमा नारा जुलससहित जनसभा गर्ने तयारी गरेको छ ।
प्राप्त जानकारी अनुसार चैत्र २४ गते धनुषाको जनकपुरमा जनसभा गरिने छ । जनकपुरको जानकी चोकमा जम्मा भई नारा जुलुससहित नगर परिक्रममा गरी जानकी चोकमा नै जनसभा गर्ने तयारी गरिएको छ ।
प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ हुन लागेको जनसभामा उल्लेख्य मात्रामा जनसहभागिता हुने नेता कृष्णदेव सिंह दनुवारले बताउनु भयो ।































