भारतीय माओवादीद्वारा विहार र झारखण्डमा दुई दिने बन्दको आव्हान, संयुक्त किसान मोर्चाले गरेको भारतबन्दप्रति पूर्ण समर्थन

भारतीय माओवादीद्वारा विहार र झारखण्डमा दुई दिने बन्दको आव्हान, संयुक्त किसान मोर्चाले गरेको भारतबन्दप्रति पूर्ण समर्थन


एजेन्सी । कम्युनिस्ट पार्टी अफ इण्डिया (माओवादी) ले दक्षिणी विहार) र पश्चिमी झारखण्ड क्षेत्रमा बन्दको आव्हान गरेको छ । झुठो मुठभेडको नाममा विहारको गया जिल्लामा आफ्ना चार कार्यकर्ताको भारतीय सरकारको सुरक्षा फोर्सले हत्या गरेको घटनाको विरुद्धमा मार्च २४ र २५ गतेका लागि बन्दको आव्हान गरिएको सो पार्टीले जनाएको छ ।
मार्च १६ मा कोब्रा, सिआरपिएफ नामको राज्यको सुरक्षा फौज र माओवादीका जनसेनाबीच डुमरियाको चरकरबन्ध जंगलमा झुठो भिडन्तको नाममा माओवादी कार्यकर्ताहरुलाई गोली हानी हत्या गरिएको थियो । राज्यले माओवादी कार्यकर्ताहरु अमरेश, शिवपुजन, सीता र उदयलाई षड्यन्त्रपूर्वक हत्या गरिएको आरोप भाकपा (माओवादी)ले लगाएको छ । भाकपा माओवादीको विहार–झारखण्ड विशेष एरिया कमिटिले जारी गरेको एक प्रेस विज्ञप्तिमा मार्च २६ का लागि संयुक्त किसान मोर्चाले आव्हान गरेको भारत बन्दप्रति समर्थन गर्दै बन्द सफल पार्न आम जनसमुदायलाई आव्हान समेत गरेको छ ।

विहार–झारखण्ड विशेष कमिटिका प्रवक्ता आजादले जारी गरेको विज्ञप्तिमा किसानहरुको आन्दोलन र मागहरुप्रति पूर्ण रुपमा पार्टीको समर्थन रहेको उल्लेख छ । भारत सरकारले ल्याएका तीनवटा विधेयकहरु किसान विरोधी रहेको भन्दै त्यसको खारेजीका आन्दोलनलाई सशक्त बनाउनुपर्ने पनि उल्लेख छ । विज्ञप्तिमा २४ र २५ मार्चका लागि गरिएको विहार–झारखण्ड बन्द सफल पार्नका लागि पनि आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।