देशैभर २६ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउँदै क्रान्तिकारी माओवादी, काठमाडौंको युवा मार्चपासलाई महासचिव किरणले सम्बोधन गर्ने

देशैभर २६ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउँदै क्रान्तिकारी माओवादी, काठमाडौंको युवा मार्चपासलाई महासचिव किरणले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले देशैभर २६ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । सातवटै प्रदेशका अधिकांश जिल्लाहरुमा केन्द्रीत र विकेन्द्रित कार्यक्रमहरुमार्फत् जनयुद्ध दिवस मनाउन लागेको हो ।

प्राप्त जानकारी अनुसार पार्टीको ३ नं. प्रदेशले काठमाडौंमा केन्द्रित कार्यक्रम गर्दैछ । पार्टी प्रदेश सचिव प्रवेशका अनुसार पार्टीले जनयुद्ध दिवस अर्थात् फागुन १ गते काठमाडौंमा युवा मार्चपास गर्ने तयारी गरेको छ । हजारौं युवाहरुको सहभागितामा गरिने युवा मार्चपासलाई पार्टी महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नुहुनेछ । १२ बजे शान्तिबाटिका रत्नपार्कबाट सुरु हुने युवा मार्चपास नगर परिक्रममा गरी शान्तिबाटिकामा सभामा परिणत हुने र सभालाई महासचिव किरण लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


त्यसैगरी १ नं. प्रदेशका पार्टी इन्चार्ज मीनकुमारले दिएको जानकारी अनुसार बिराटनगरमा प्रदेशस्तरको केन्द्रित जनसभाको तयारी गरिएको छ । पहाडी जिल्लाहरुमा भने जिल्ला स्तरीय कार्यक्रम गर्ने योजना रहेको छ । उदयपुर, सुनसरी, मोरङ र झापाको केन्द्रित सभा विराटनगरमा गर्न लागिएको हो ।
यता २ नं. प्रदेशका इन्चार्ज रमेशका अनुसार धनुषाको जनकपुर, सिरहा, महोत्तरी र रौतहटमा कार्यक्रमको तय गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका इन्चार्ज चक्रपाणि शर्माका अनुसार प्रदेशका सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लामा जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ । रुकुम, सल्यान र जाजरकोटमा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने खालका कार्टुन प्रदर्शन गरेर जनयुद्ध दिवस मनाउन लागिएको पार्टी केस दिपक शाहीले जानकारी दिनुभयो ।

उता सुदूरपश्चिम प्रदेशका सचिव रामबहादुर महराले दिएको जानकारी अनुसार प्रदेशका ९ वटा जिल्लामध्ये आठवटा जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ ।

त्यसैगरी ५ नंं प्रदेशको नेपालगञ्ज र भैरहवामा केन्द्रित युवा मार्चपासहित जनसभाको आयोजना गरिएको छ भने प्रदेशका अन्य जिल्लाहरुमा विकेन्द्रित रुपमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइदैछ ।

यता ४ नंं प्रदेशको केन्द्रित जनसभा कास्कीको पोखरामा राखिएको छ । यहाँको सभालाई पार्टी पीवीएम चन्द्रहरि सुवेदी अटल लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ ।