नागरिक अभियन्ताहरुकाे शान्तिपुर्ण आन्दाेलनमाथि गरिएकाे प्रहरी दमनकाे चाैतर्फी विराेध

नागरिक अभियन्ताहरुकाे शान्तिपुर्ण आन्दाेलनमाथि गरिएकाे प्रहरी दमनकाे चाैतर्फी विराेध


काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध सोमबार बालुवाटारमा गरिएकाे शान्तिपूर्ण प्रदर्शनमाथि गरिएकाे दमनकाे चाैतर्फी रुपमा विराेध भएकाे छ । शान्तिपुर्ण विराेभ प्रदर्शनमा कैयौं नागरिक अभियन्ता प्रहरी लाठीचार्जमा घाइते भएका छन्।
घाइतेमध्ये १२ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी गम्भीर घाइते छन्। वृहत् नागरिक आन्दोलनका अभियन्ता युग पाठकका अनुसार जैसीको सोमबार बेलुकासम्म पनि होस आएको थिएन। गम्भीर घाइते हुने ६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइतेहरु संघर्ष दाहाल, कुमार बर्तौला, सीएन थारु, स्वर्णिम दिनेश, रामनरेश यादव र प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिंग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भइरहेकाे छ ।
आन्दोलनका बिभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा सोमबार कमलपोखरीबाट मार्चपास गर्दै बालुवाटार पुग्ने र कोणसभा आयोजना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी निर्मम रुपमा दमन गरेको नागरिक आन्दोलनका तर्फबाट पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।
नागरिक आन्दाेलनमाथि गरिएकाे दमनकाे विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ तथा मानव अधिकारसम्बद्ध संघ संगठनले विज्ञप्ति निकालेर घाेर विराेध गरेका छन् ।