कोरोनाकहर र संवेदनाको सहादतः सन्दर्भ समकालीन कविता

प्रकाशित मिति : २०७७ माघ २

- प्रा. डा. ताराकान्त पाण्डेय

म यो देशको युवा,
बेचेर रगत पसिना
पालिरहेँ देश, चलाईरहेँ घरपरिवार
यतिखेर सरकार !
मसँग मात्रै दुईवटा किड्नी बाँकी छन्
कुन किड्नी बेचेर बाआमा पाल्नु ?
र कुन बेचेर कर तिर्नु तिमीलाई ?
मध्यरात क्वारेन्टाइनमा बसेर सोचिरहेको छु
सरकारले आफै पासो लगाइदिन्छ कि
घाँटीमा मैले आफै लगाउनु पर्छ ।

समकालीन समयको त्रासद जीवनलाई कवितामा सायदै यो भन्दा कठोर र वेधक ढङ्गले व्यक्त गर्न सकिएला ! साँच्चै क्वारेन्टिनमा कठाङग्रिन बाध्य वर्तमानको मान्छे र उसको जीवनचर्या त्रासदीका काँडेघारीमा यसरी जेलिएको छ कि जता फर्के पनि ऊ भोक, अभाव, बेरोजगारी, रुग्णता, उपेक्षा आदिका काँडाहरूबाट चिथोरिन र रगतपच्छे शरीर लिएर बाँच्न बाध्य छ । कवि उपासकले भनेझैँ खाडीमा रगतपसिना बेचेर देश र परिवार पालिरहेको युवासँग यतिबेला समृद्धिसूचक दुई वटा किडनी मात्र छन् जो न सरकारको कर तिर्न पर्याप्त छन् न बाआमाको पालन पोषण गर्न । त्यसैले ऊ प्रश्न गर्न विवश छ–उसले घाँटीमा पासो आफै लगाउने कि नागरिकबाट कर उठाइरहेको यो सरकारले उसका घाँटीमा पासो लगाइदिन्छ ?
कोरोनाको कहर संसारभरि व्याप्त छ र त्यसले निकै ठुलो संख्यामा मानवीय क्षति पु¥याएको छ । प्रत्येक उमेर समूहका मानिसको ज्यान गएको छ, गइरहेको छ । हुन त यो अरू भाइरसजस्तै ती मध्येकै एउटा अलि कडा भाइरस हो, जसरी यसको भयावह प्रचार गरिएको छ, त्यस्तो केही पनि होइन भन्ने तर्क र विचारहरू पनि छन् र यो बहस जारी छ । मेरो लेखको आशय त्यस बहसमा पस्नु र यसको वैज्ञानिक सत्य खोतल्नु होइन । यसले मानव जीवनमा र खास गरी शक्तिको पहुँचबाट टाढा रहेका निम्नवर्गीय श्रमजीवी मानव समुदायमा यसले पारेको प्रभाव र राज्यका संवेदनहीनताले त्यसमा थपेको पीडा तथा त्यसका त्रासद अनुभूतिलाई समकालीन कविहरूले कसरी अभिव्यक्ति दिएका छन् अनि कोरोना कहरका विविध आयाम कवितामा कसरी व्यक्त भएका छन् भन्ने कुरालाई कवितामा खोज्नु हो । यसका निम्ति मैले यहाँ विभिन्न माध्यममा उपलब्ध केही कविका कवितालाई साक्ष्यका रूपमा लिई यस छलफललाई अगाडि बढाउने काम गरेको छु । यहाँ प्रस्तुत साक्ष्य सीमित प्रतिनिधिमूलक नमुना मात्र हुन् । सन् २०२० को वर्षावधिमा यस प्रवृत्तिका कविता प्रशस्त मात्रामा लेखिएका छन् ।
माथि उद्धृत कवि उपासकको कविता एउटा सुन्दर उदाहरण हो जसले कोरोनाका कारण क्वारेन्टिनमा पु¥याइएका श्रमजीवी वर्गका मानिसले भोग्नुपरिरहेको दैनिक जीविकाको पीडालाई कठोर व्यङ्गयका भाकामा अभिव्यक्त गरेको छ । त्यसो त आत्महत्याको कुरा पराजय र पलायनबोधको सङ्केतक हो भन्न पनि सकिन्छ तर यहाँ यो सन्दर्भ विद्वेषी एवं संवेदनाहीन सत्ताप्रति कठोर व्यङ्गय बनेर आएको छ । क्वारेन्टिन वा आइसोलेसन, बन्दाबन्दी र सामाजिक दूरी निरपेक्ष समाधान थिएनन् यस महामारीका र होइनन् पनि । उपेक्षा, भोक र रोग त झन ठुला महामारी थिए, छन् र पुँजीवाद रहँदासम्म यी रहिरहनेछन् । मानव विद्वेष, उपेक्षा, भोक र अभाव पुँजीवादका प्रदाय हुन् । कोरोनाकालमा संसारकै पुँजीवादी सत्ताले फेरि पनि यही पुष्टि गरेको छ । विकसित भनिएका देशमा मृत्युको ग्रास बनेका अधिकांशमा मानिस वर्गीय र नस्लीय दृष्टिले सीमान्त वर्गकै छन् । राज्यबाट उनीहरूले पाएको यही उपेक्षालाई कथ्य बनाएर शीला योगी लेख्छिन्ः
म घेरिएको छु भाइरसहरुका बिचमा
चिच्याइरहेछन् म जस्तै नागरिकहरू
बाँच्नका लागि निस्सासिएका छन्
एक मुठी श्वासका लागि
गुहारिरहेका छन् मानिसको साथ
खोजिरहेका छन् मान्छेको माया
तिम्रो आँखाले चिन्न सकेन मलाई
अर्थहीन परिभाषा तिम्रो मानव अधिकारको ।
(इच्छुक सांस्कृतिक प्रतिष्ठानको जुम गोष्ठीमा वाचित)

राज्य, राज्यका उपचारकेन्द्रहरू, निजी चिकित्सालयहरू – यी सबै तहमा श्रमजीवी, पहुँचविहीन मानिसहरूले सर्वत्र उपेक्षा बेहोरे । भारतमा को तस्वीर त्यस्तै देखियो । नेपालको यथार्थता पनि त्यही हो । पहुँच हुनेले राज्यकोशबाट पाँचतारे होटेलमा बसेर आरोग्य प्राप्त गरे । तिनका लागि आइसियु कहिल्यै अनुपलब्ध भएन तर सामान्य नागरिक अस्पतालका ढोका ढोका चहार्दै हिँड्दा पनि त्यो सुविधा उपलब्ध भएन र उपचारै नपाई ज्यान गुमाउनु प¥यो । यसले राज्यको चरित्र कति वर्गसापेक्ष छ र संवेदनहीन रहेछ भन्ने कुरालाई पुष्टि गर्ने काम ग¥यो । कवि वासुदेव अधिकारी राज्यको यस्तो संवेदनहीनतालाई यसरी चित्रित गर्छन्ः
प्रिय बन्दाबन्दी
समय नै समय छ अहिले
अवसर नै अवसर अहिले
मौकामा तयारी भइरहेछ
कुर्सीको मल्लयुद्ध ।
(ब्रोहरू, बस्तीमा आगो, पृ. २८)
वास्तवमा कोरोनाकाल शासकहरूका लागि अवसर बन्यो– अर्थोपार्जनको, सत्तामा आफ्नो पकड बलियो बनाइराख्ने यत्नको । सत्तासुख मुख्य चिन्ताको विषय बन्यो, आम नागरिकको स्वास्थ्य र आजीविका सरोकारको विषय बन्न सकेन । अधिकारीको कविताले यसै बेथितिप्रति सङ्केत गरेको छ ।
कोरोनाकालमा सबभन्दा महŒवपूर्ण कुरा पुँजीवादको विश्वसत्ता र देशभित्रकै दलाल पुँजीवादी चरित्र बोकेको राज्यसत्ताको वर्गद्वेषी चरित्र नाङ्गो किसिमले उदाङ्गिनु हो । समकालीन कविहरूले कोरोनाले दिएको पीडाको चित्रणसँगै राज्यको वर्गद्वेषी र संवेदनहीन चरित्रलाई कठोरतापूर्वक आफ्ना कवितामा प्रतिबिम्बित गरेका छन् । यस सन्दर्भमा म बलराम तिमिल्सिनाको ’मलर सदा’ कविताका केही पङ्क्ति उद्धृत गर्न चाहन्छुः
ढलें म भोकले ढलें
सुकेको रुखझैं ढलें
समाजवाद हेर म
सामान्य भोकले ढलें !
मलाई मर्न मन थियो
लडेर भव्य युध्दमा
मलाई मिल्न मन थियो
प्रशान्त शान्त बुध्दमा !
मिलेन त्यो महा खुसी
म खेत बारीमा ढलें
मलर सदा म निम्छरो
सामान्य भोकले ढलें !
(फेसबुक वालबाट)
मलर सदा कोरोनाकालमा भोकले मृत्यु हुने मधेसी समुदायका ती निम्नवर्गीय श्रमजीवी पात्र हुन् जसले त्यस्ता थुप्रै नेपाली मात्र होइन, कोरोनाकालमा (अथवा बन्दाबन्दीमा) संसारकै भोकले मर्ने आम सर्वहारा मानिसको प्रतिनिधित्व गर्दछन् । यस कालमा यसरी भोकले मर्नेहरूको संख्या ठुलो छ र नेपालमै पनि त्यो संख्या उल्लेख्य छ । विडम्बना चाहिँ कहाँनिर छ भने यसरी भोकका कारण नागरिकले ज्यान गुमाइरहँदा राज्य त्यसप्रति कत्ति संदेनशील छैन र उसले कोरोनाका कारण मृत्यु हुने सूचीको अद्यावधीरणलाई नै आफ्नो मुख्य कर्म बनाएको छ । मलर सदाको मृत्यु यही संवेदनहीनताको परिणति हो ।
कोरोना, बन्दाबनन्दी, भोक र मृत्युको कुरा गर्दा राजधानीमै भारी बोकेर जीविका निर्वाह गर्ने सूर्यबहादुर तामाङको कीर्तिपुर, त्रिवि गेटनिर सडकपेटीमा भएको अकालमृत्यु अर्को ठुलो त्रासदीजन्य घटना हो जसले राज्यलाई छोएन, तर मानवीय संवेदना भएका स्रष्टाहरूलाई हल्लायोस तिनलाई विचलित तुल्यायो र आक्रोशित पनि बनायो । परिणामस्वरूप सूर्यबहादुरको बिम्ब कवितामा यसरी अभिव्यक्त भयोः
ठीक कीर्तिपुर गेटनेर
जेठको उखरमाउलो गर्मीलाई गिज्याउँदै
भर्खरै ढलेको छ, एउटा बूढो पृथ्वी
उसका दुई चिम्सा आँखाहरू
बिना पलक अपहृत र अधुरा
लुटिएका र चिथोरिएका
हत्या गरिएका वीभत्स सपनाहरू खोज्दै चियाइरहेछ
माथि माथि आकाशतिर ।
म देखिरहेको छु–
अभावको भारी खेप्दाखेप्दा उसको थाप्लोमा
यो देशको नक्साभन्दा लामो खोपिल्टो परेको छ ।
निधारका डोबहरू
यो देशको क्षेत्रफल जस्तै खुम्चिएका छन् ।
फुल्नै नपाई टाउकोबाट
बेपत्ता भएको छ आधा कपाल ।
उसको गालामा लामा लामा कुलेसा जस्ता खाल्टाहरू छन् ।
वर्षौंदेखि भोकको नदी
त्यही खाल्डाखुल्डी भएर खहरिएको हुनुपर्छ ।
उसको थेप्चो नाकर खडेरी परेको ओठ
हिउँ रित्तिएको चट्टान जस्तो चिउँडो
बैरागले सुकेको घाँटी
विभेदको साम्राज्य बोक्दाबोक्दा मक्किएको काँध
उत्पीडनको भारी बोक्दाबोक्दा कुप्रिएको ढाड
सडकपेटीमा लम्पसार उसको बेवारिस लाससँगै
गिज्याइरहेछ हामीलाई
हामी बाँचेको व्यवस्थालाई ।
(मुक्तान थेवा, ’कीर्तिपुर गेटछेउ ढलिरहेको एउटा बूढो पृथ्वी’, फेसबुक वालबाट)

’विभेदको साम्राज्य बोक्दाबोक्दा मक्किएको काँध’, ’उत्पीडनको भारी बोक्दा बोक्दा कुप्रिएको ढाड’ र ’हिउँ रित्तिएको चट्टान जस्तो चिउँडो’ लिएर ’सडक पेटीमा लम्पसार परेको लास’ का यी बिम्बहरू भोकको त्रासद परिणतिलाई व्यक्त गर्ने अत्यन्त प्रभावशाली र मर्मस्पर्शी छन् । भोकले असमयमै बुढो र क्षीण बनेको राज्यद्वारा उपेक्षित सूर्य तामाङको बेवारिस मृत्युले कविका भनाइजस्तै हामीलाई, हाम्रो सभ्यतालाई गिज्याइरहेको छ तर उनले भनेझैँ यो व्यवस्थालाई यस गिज्याइले कुनै प्रभाव पारिरहेको छैनरपर्दैन किनभने पुँजीवादी (त्यसमा पनि दलाल पुँजीवादी) अर्थप्रणाली र राज्यव्यवस्थाका लागि सूर्य तामाङ जस्ता श्रमजीवी सीमान्त मानिसको कुनै मूल्य हुँदैन, न उसका जीवनको न मृत्युको । यस्तो व्यवस्थामा उनीहरू मूल्यहीन बाँच्न र मूल्यहीन नै मृत्यु बेहोर्न विवश छन् । कुरा यत्ति हो कि कोरोना र बन्दाबन्दीको परिघटनाले यस कुरूप सत्यलाई सजिलै नाङ्गो बनाएर प्रस्तुत ग¥यो ।
मलर सदा र सूर्य तामाङहरूको यस मृत्यु प्रकरणले धेरै संवेदनशील कविहरूलाई हल्लायो, चिमोट्यो र सन्तप्त तुल्यायो । थुप्रै कविताहरू लेखिए यसै प्रकरणलाई मूल आलम्ब बनाएर । सडक पनि प्रतिबन्धित भएका बेला आक्रोश, असन्तुष्टि र विद्रोह पोखिने अपेक्षाकृत सजिलो ठाउँ सिर्जनाकै बारी हो । त्यसैले कविरसर्जकहरू यसमै ज्यादा पोखिए । सबै कविको उल्लेख त यहाँ सम्भव छैन तर यसै प्रकरणसँग गहिरो गरी जोडिएको कवि शरद पौडेलको ’सूर्यबहादुरको मृत्युमा’ शीर्षक कविताको यो उद्धरण प्रस्तुत गर्नु आवश्यक ठान्दछुः
ऊ ढल्यो ।
भोकले ढल्यो ।
उर्दीका कहरले ढल्यो ।
कुनै तामझाम बिना नै
हातमा नाम्लो लिएरै ढल्यो ।
फेरि कहिल्यै नउठ्ने गरी
दोबाटोमै ढल्यो ।
साझा सडकमै ढल्यो ।।
भोकको डढेलोले जल्यो र ढल्यो ।
ऊ ढल्दा,
पर कतै महलका शीरमा
सत्ताको धुरी हुँदो
फहराइरहेको रलहराइरहेको
रातो झन्डा हेरेर ढल्यो ।
समृद्ध समाजवाद मुन्तिर
दलालहरूका गीत सुन्दै ढल्यो ।
भ्रष्टाचारी रकुशासनका
सत्तासीन कुपात्रहरूको सूची लिएर ढल्यो ।
(फेसबुक वालबाट)

रातो झण्डा फहराएर समृद्धिको गीत गाउने सत्तासीन पात्रहरू विराजमान महलका मन्तिर पेटीमा रातो झन्डा हेर्दै ’भोकको डढेलोले जलेर मर्नु’को यो विडम्बना साँच्चै शक्तिशाली व्यङ्ग्य हो, समाजवादको नाउँ लिएर रातो झण्डामुनि (दलाल) पुँजीवादको स्वार्थरक्षामा तल्लिन शासकहरूलाई । कवि उपासक, कवि बलराम, कवि थेवा र कवि शरद सबैले यो व्यङ्ग्य बोलेका छन् र प्रहार गरेका छन् । वास्तवमा कोरोना क्रूर हो कि पुँजीवादरपुँजीवादी सत्ता क्रूर हो, यसको जवाफ यी कविताले दिन खोजेका छन् । कोरोना त प्रकृति हो । कुनै प्रयोगशालीय मानवनिर्मिति होइन । त्यसैले त्यसलाई क्रूर करार दिएर मानवद्वेषी शासकहरू (विशेषतः पुँजीवाद)लाई उन्मुक्ति दिनु न्यायोचित हुन सक्दैन । पुँजी आर्जनको होडमा प्रकृतिको अराजक दोहन र मानवेतर जीवहरूको आश्रयको ध्वंसनले निम्त्याएको सङ्कट हो यो र यसको समाधान मानवीय संवेदनालाई पन्छाएर केवल प्राविधिक र कानुनी रूपले सम्भव थिएनर छैन तर सत्तासीनहरूलाई लाग्यो फगत उर्दी जारी गरेर यो समस्या समाधान हुन्छ । गर्नैपर्ने अवस्थामा निश्चित अवधिका लागि बन्द गर्नुपर्ने अन्तर्राष्ट्रिय आवागमन थियो होला तर देशभित्रै यसरी बन्दाबन्दीको उर्दी जारी गरियो कि आफ्नै देशभित्र श्रमजीवी नागरिकहरू देशविहीन बनाइए । घर नहुनुको र हुनेको पनि घर बिरानो रसुदूर यात्राको वस्तु बन्नुले जुन हृदयस्पर्शी दृश्यको निर्माण मुलुकमा भयो, त्यो अत्यन्त संवेदनशील विषय थियो । नाङ्गो खुट्टा, लालाबाला बोकेर ’घर’ भन्ने वस्तु खोज्दै सुदूर तर अनिश्चित यात्रामा निस्किएको लामबन्दी कोरोनाले दिने भौतिक पीडाभन्दा कम पीडादायी थिएन । विडम्बना, शासकहरूले त्यसको प्रतिवाद गर्दै भनेः “भावनाले कोरोना विरुद्धको लडाइँ जितिन्न“ । उनीहरुले भनेको त्यो जीत कसका लागि थियो ? प्रबुद्ध तथा संवेदनशील मानिसहरूलाई लागिरह्यो । तिनै मध्येका एक संवेदनशील कवि भूपाल राईले प्रतिवाद गरे कवितामाः
बोकेको छु झोलामा
दसौं दिनको गरुङ्गो भोक
खुट्टामा हाँकिरहेछु सयौं किलोमिटरको थकान
सुकाइरहेछु आँखामा आँसुको गण्डकी
जुन दिनदेखि बन्द भयो
तपाईंको घरको ढोका
तपाईंका कारखाना, औजार
र तपाईंकै हातबाट खस्ने तपतप
मेरो रगतको थोपा जस्तो ज्याला
त्यही दिनदेखि खुलेको हो मेरो घरको बाटो ।
एउटै लागिरहेछ
यतिखेर मलाई
तपाईंको बन्द झ्याल र लकडाउन सरकार
जो सोंच्छ कि
आफू ठिक भए ठिक हुन्छ सबथोक
आफू बन्द भएपछि
बन्द हुन्छ गरिबको पेट
जसले दिएको छ
सङ्कटको यस घडीमा
एक अनुपम छनोटको सुविधा मलाई
’कि म भोक रोजुँ
अथवा रोग?’
रोग त कहिले आइपुग्ने हो
मेरो फोक्सोको नलीसम्म !
मलाई थाहा छैन
त्यसै पनि यो आइरहेकै छ, गैरहेकै छ
तर भोक त सर्वदा मेरो पेटभित्रै छ
जो हरेक साँझ बिहान आइरहन्छ
मात्र आइरहन्छ ।
(’लकडाउनमा आफ्नो घर फर्किरहेछु म’, २०७७ बैसाख ३, नयाँ पत्रिका)

स्पष्ट वर्गीय सम्बन्धको र वर्गबोधको अभिव्यक्ति छ यहाँ । शासकहरूले ’लकडाउन’को घोषणा गरे । राजधानीको ढोका बन्द भयो तिनका लागि जो सुदूर प्रदेशबाट भोक मेट्ने जोहोमा काठमाडौं आइबसेका थिए । यति बेला देश र घरको परिभाषा फेरियो । कविका शब्दमा भन्दा सरकार (सम्भ्रान्त शासक)लाई लाग्योः बन्द भनेपछि मजदुरहरूहरूको पेट पनि बन्द हुन्छ तर भोक त जीवनको पर्याय हो, बिहान बेलुकै आउँछ । बाहिरको रोग पछि आउला तर भित्रै रहेको भोकले रोगलाई आत्मीय साथी बनाएकै छ । त्यसले कसैको आमन्त्रण पर्खिँदैन । परिणाममा त्यसले मलर सदा र सूर्य तामाङको नियति जन्माउँछ । सत्तालाई भोक थाहा छैन, हुँदैन । त्यसैले, भोकले जन्माउने मलर सदा वा सूर्य तामाङको नियति र त्यसै नियतिको नियात्रामा हिँड्न विवश नाङ्गो पाइतालाको लामबन्दी उसका लागि सरोकार र संवेदनाको विषय होइनरभएन । तर कवि कसरी असंवेदनशील मूकद्रष्टा बन्न सक्छ ! भूपाल राईको यो कविता त्यही चिन्ता र संवेदनाको परिणाम हो । सयौं किलोमिटरको कष्टकर यात्रा गर्दा ’आँखामा आँसुको गण्डकी सुकेको’ सत्ताले होइन, कविले अनुभव गर्छ । कवि भूपालले अनुभव गरे र लेखेः

मान्नुस्
उस्तै छ तपाईंको सहर र नितान्त मौलिक सरकार
जसले एक रातको अतिरिक्त सौजन्यता
र एक छाकको सानो अनुकम्पा समेत
बाँड्न सकेन मलाई
र पहिलो चोटि यस्तो लागिरहेछ
कि तपाईंको सहर कदाचित मेरो देश हैन ।
पहिलो चोटि भन्न म असमर्थ छु
कि तपाईंको देश मेरो लागि पराया देश हैन
त्यसैले पैदलै पैदल खाली खुट्टा
म आफ्नो देश भेट्न दौडिरहेछु
कि म यतिखेर घर फर्किरहेछु ।

देशभित्र देशविहीन हुनुको यो पीडा सरकारले, सत्ताले बोध गर्न सक्दैन । वर्गबोधी संवेदनशील व्यक्तिरस्रष्टाले बोध गर्छ । यो सत्ता सम्भ्रान्त पुँजीपति वर्गको हो (कुर्सीमा बस्नेको अनुहार जो भए पनि), त्यसैले खाली खुट्टा देश रघर खोज्न हिँड्नेको पीडा ऊ बुझ्दैन । वर्गबोधी कविले यो पीडा बोध गर्छ र केवल रोइलो मात्रै व्यक्त गर्दैन ऊ । ऊ विद्रोह पनि बोल्छ किनभने विद्रोह जरुरी छ, सत्ताको यस संवेदनहीनता र मानवद्वेषी आचारका विरmद्ध । त्यसैले सुदूर देशरघरको गन्तव्य प्राप्तिमा निस्किएका श्रमजीवीहरूका तर्फबाट कविले विद्रोह पनि बोलेका छन्ः
कहिले भुत्क्याउँछ होला मेरो सास
यस महामारिले ?
ठ्याक्कै भन्न सक्दिन
तर म भन्न सक्छु
हज्जारौँ वर्ष अघिदेखि नै
लकडाउनमा छ मेरो पेट
र त्यतिकै वर्ष पुरानो हो
यो लकडाउनसँग मेरो लडाइँ
सरकार सोधिरहेछ यतिखेर मेरो इच्छामृत्यु
जो उसैको सुबिधा अनुसार
मरिदिनलाई दौडिरहेछु
यदि यही महाव्याधिको भ्रुणबाट
अथवा मेरो मृत्युको गर्भबाट
मेरै अन्तिम पुस्ताको जन्म हुन्छ भने
फेरि एकपटक
म भोकले मर्नुभन्दा अगाडि
रोगले मर्न तयार छु ।

वर्गद्वेषी सत्ताको आरम्भयता (दासयुगदेखि आजको पुँजीवादसम्म)को अवधिसम्म श्रमजीवी वर्गको पेट ’लकडाउन’मै रहेको सत्य कविले उद्घाटित गरेका छन् र त्यहीँदेखि आजसम्म यो ’लकडाउन’सँग यस वर्गको लडाइँ जारी छ । सत्ता चाहन्छ, ऊ यसै गरी हिँड्दाहिँड्दै इच्छामृत्यु वरण गरोस् । तर ऊ एउटा सर्तमा मृत्यु वरण गर्न तयार छ, यदि यस महाव्याधिका भ्रूणबाट उसको अर्को त्यस्तो पुस्ता जन्मियोस जसले यो हजारौं वर्षको भोकका विरmद्धको र भोकलाई कायम राखिराख्ने सत्ताका विरmद्धको लडाइँलाई जारी राख्न सकोस् । वास्तवमा कवि भूपाल राईको यो कविता प्रखर इतिहास चेतनाले समृद्ध कविता पनि हो । यसमा मानवसमाजका इतिहासमा वर्गद्वेषी सभ्यता र सत्ताको निर्माण र त्यसका विरुद्ध भोकाहरू र श्रमजीवीहरूको सङ्घर्षको आवश्यकता र यथार्थलाई निकै सुन्दर र संवेदनशील ढङ्गले अभिव्यक्त गरिएको छ । मलाई लाग्छ यो यस समयको शक्तिशाली कवितामध्येकै एक हो । शब्दचयन, बिम्बनिर्माण र विचारको स्पष्टता, यी सबमा जुन कौशल यसमा छ, त्यसले कवितालाई कलात्मक त बनाएकै छ, कलात्मक अस्त्रबाट वर्गद्वेषी, मानवद्वेषी सत्ता र सभ्यतालाई उत्तिकै तीव्र प्रहार पनि गरेको छ । अनि यसो गरेर यसले सुन्दर कविताको धर्म निर्वाह गरेको छ ।
वर्गबोधी सचेत स्रष्टाको दायित्व परिस्थिति वा जीवनभोगाइको रोइलो गाउनु वा निष्क्रिय अभिव्यक्ति गर्नु नभई त्यसका कारकको अन्वेषण र त्यप्रतिको प्रतिरोधी चेतनाको अभिव्यक्ति पनि हो । अथवा भनौं, मानव जीवनका परिघटनालाई सभ्यताको ऐतिहासिक विकासका प्रक्रियामा हेर्नु र मानवताविरोधी प्रवृत्तिप्रति विद्रोेह व्यक्त गर्नु पनि हो । कविता केवल स्थितिबोधक संज्ञानी हुनु मात्र पर्याप्त छैन । यसले कुरूपता र मानवद्वेषी कलुषताका विरुद्ध जेहादी पनि बन्नै पर्छ किनभने यो समय यस्तै छ । त्यसैले माक्र्ससवादी कविहरू प्रायः जेहादी छन् र सत्ताको संवेदनहीनताप्रति विद्रोही बनेका छन् । जगदीशचन्द्र भण्डारी त्यस्तै जेहादी कवि हुन् । कोरोना प्रकरणलाई नै कथ्य बनाएर लेखिएको ’ओ ! कोरोना’ कवितामा उनी भन्छन्ः
ओ ! कोरोना
मेरो दुस्मन
मैले मन नपराए पनि
मसँग बलात् टाँसिएको
ओ ! कोरोना
तेरो कहर
विश्वव्यापीरदेशव्यापी
सत्ताआतङ्क झैँ
तेरो भयरतेरो जहर
कति खेप्नुरकति भोग्नु
बरु आइज
साँठगाँठ गरुँ
अथवा
आमने सामने अन्तिम युद्ध लडुँ
भोक मारुँरशोक मारुँ
जीवनका अँध्यारा आँखा फोरुँ ।
(२०७७ मंसिर, फेसबुक वालबाट)
कोरोनाकहरलाई सत्ताआतङ्कसँग जोड्दै कवि भण्डारीले त्यससँग अन्तिम युद्ध लड्ने उद्घोष गरेका छन् र आमन्त्रण दिएका छन् । वास्तवमा यो प्रकारान्तरले मानवद्वेषी सत्तासँगै युद्धको आमन्त्रण हो– अँध्यारोका विरmद्ध, भोक र शोकका विरmद्ध ।
कवि मित्रलाल पंज्ञानी पनि कोरोनाले सिर्जना गरेको परिवेशलाई वर्गबोधी कोणबाट हेर्छन् । यसले सत्ताको (विश्वसत्तासमेत) वर्गचरित्रलाई चिन्ने र चिनाउने राम्रो अवसर दिएको अनुभव गर्छन् उनी । ’शुभ बेला भयो अब’ शीर्षक कवितामा उनी लेख्छन्ः
के रच्यौ ? दुनिया मुर्दाखानाजस्तो हुँदै गयो
हारी जीवनको मुद्दा न्याय आफै रुँदै गयो
कोरोनाकालले यौटा वर्गरेखा सफा गर्यो
छ्याङ्गै भो, देखियो जम्मै, कुन मान्छे कता पर्यो ।

वास्तवमै कोरोनाकालले मानवद्वेषी वर्ग र सत्ताको चरित्रलाई कविले भनेझैँ छ्याङ्गै पारेकै हो । यसले भ्रमका आवरणहरू च्यातेकै हो र मानवद्वेषी सत्ताका विरmद्ध सङ्घर्षको आवश्यकतालाई स्थापित गरेकै हो । यही निष्कर्षमा पुगेका कवि पंज्ञानी अगाडि लेख्छन्ः
यो प्यारो पृथिवी हाम्रो नाता मीठो चराचर
सहसम्बन्धले मात्रै बचेको जीवको घर ।
नाफाका लोभले नाता तोडी हिँड्दैछ पातकी
हत्या गर्न कतै केही गाह्रो मान्दैन घातकी ।
महत्तामय बाँच्नाको रङ्गमा रङ्गिए भने
खती भोग्नेहरू जम्मै एक भै जङ्गिए भने
लाग्छ दर्बारमा आगो, भाग्छ राजा, गयो अब
निस्क ए ! लुटिएका हो शुभ बेला भयो अब ।

लुटिएकाहरू एक हुँदा सम्भ्रान्तका दरबारमा आगो लाग्ने निष्कर्षमा पुगेका कविले विद्रोहका लागि शुभ बेला आएको धारणा व्यक्त गरेका छन् । शोकलाई, कठिनाइलाई शक्तिमा बदल्ने र सम्पूर्ण खाले मानवद्वेषी विभेद र उत्पीडनका विरुद्ध विद्रोेहलाई तीव्र र सशक्त बनाउनुपर्ने आवश्यकता र अवसर दुवैलाई माक्र्सवादी कविहरूले आफ्ना कवितामा प्रस्तुत गरेका छन् । माथि भनेझैं कोरोना प्रकृति हो । प्रकृतिमा प्रतिकूलताहरू छन्रहुन्छन् र तिनका विरmद्ध मानवजातिले सङ्घर्ष गर्दै आफ्नो अस्तित्व रक्षा गर्दै आएको छ तर यतिबेला प्रकृतिका विरmद्ध निरपेक्ष सङ्घर्षले यस महाव्याधिबाट मुक्ति सम्भव छैन । मानवद्वेषी पुँजीवादले जसरी भोक र अभावलाई श्रमजीवीका निम्ति स्थायी बनाइराख्ने र आफ्ना लागि सारा वैभव, सेवा, सुविधा सञ्चय र सुनिश्चित गरिराख्ने काम जसरी गरिराखेको छ, त्यसले श्रमजीवी, पहुँचविहीन वर्गका लागि यस महाव्याधिलाई अझ कठिन बनाउने र यस्ता महाव्याधि भविष्यमा अझ नयाँनयाँ स्वरूपमा देखापर्ने निश्चित छ । प्रकृतिका प्रतिकूलता आफ्ना ठाउँमा छन् र ती कुनै न कुनै रूपमा प्रकृति रहुञ्जेल रहिरहन्छन् । वर्तमान समयमा मानवीय सङ्कटको मूल कारक र उत्तेजक दुबै भूमिकामा विश्व पुँजीवाद नै हो र यसका विरmद्धको लडाइँलाई नयाँ उचाइमा पु¥याउनु नै यसको विकल्प हो र यही बाटोबाट मात्रै विभेदरहित सुन्दर, स्वस्थ र सभ्य मानव समाजको निर्माण सम्भव छ । यसका राजनैतिक आयामहरूको पाटोले बेग्लै विमर्शको माग गर्छ तर जहाँसम्म कवि÷स्रष्टाहरूको सन्दर्भ छ, माक्र्सवादी कविहरूले यस आवश्यकतालाई राम्रोसँग बोध गरेका छन् अनि कविताका माध्यमबाट ध्वंसक पुँजीवादका विरmद्ध विद्रोह बोलेका छन् र कविहरू जेहादी बनेका छन् ।
लकडाउनकै मौका छोपेर छिमेकी भारतले हाम्रो कालापानी लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएर हाम्रो भूमिमाथि अतिक्रमण ग¥यो र हाम्रै भनिएको सरकारले दरो खुट्टा टेकेन । अतिक्रमण र राष्ट्रियतामाथिको हमला विरुद्ध देशभक्त शक्तिहरूले गरेको प्रदर्शनमा धरपकड ग¥यो तर राष्ट्रियताका पक्षमा क्रान्तिकारीहरू लकडाउनको प्रतिवाद गर्दै आवाज बुलन्द गरिरहे । त्यसै सन्दर्भलाई विषय बनाएर गौरी दाहालले लेखिन्ः
लकडाउनलाई जिल्ल्याएर
पुग्यो सम्पूर्णको हातहातमा
छरियो विश्वभरि
लकडाउन हेरेको हेरै भयो
बन्द गर्न नसकेको आवाजले खिचिरहेछ
लकडाउन भित्रको ध्यान
र हिर्काइरहेछ सिंहदरबारभित्र
म्युजिकल चियर
खेलिरहेकाहरूको कानमा
अरू त सबै सबै लकडाउनमै छ
मात्र विचार विचरण गरिरहेछ विश्वमा
र स्वाभिमान गर्जिरहेछ मेरो देशमा !
(फेसबुक वालबाट)

शक्तिशाली शासकहरूलाई लाग्छ, लकडाउनले श्रमजीवीहरूका, राष्ट्रिय स्वाभिमानका पक्षमा आवाज उठाउनेहरूका विचारलाई अथवा मस्तिष्कलाई पनि ’लक’ गर्न सकिन्छ तर यथार्थ त्यस्तो छैन । गौरीले भनेझैँ अरू सब कुरालाई ’लक’ गर्न सकिए पनि विचार र स्वाभिमानलाई लक गर्न सकिन्न । यही स्वतन्त्रता र स्वाभिमानधर्मी विचारले उपेक्षित, उत्पीडितहरूलाई जेहादी अर्थात् विद्रोही बनाउँछ र स्वतन्त्रताप्राप्तिको बाटोमा प्रवृत्त गराउँछ । समकालका कवितामा यही विद्रोही चेतनाको सौन्दर्य छ । यो समयबोधी चेतना हो र सौन्दर्यचेतनासँग यसको सुन्दर फ्युजन छ । यो समकालीन कविताको महŒवपूर्ण विशेषता हो र प्राप्ति पनि हो भन्ने म ठान्दछु ।