जीवनसाथी कमरेड हर्कबहादुर शाहीलाई सम्झिदा

जीवनसाथी कमरेड हर्कबहादुर शाहीलाई सम्झिदा

नैनकला शाहीको वि.सं. २००३ माघ १ गते माघे संक्रान्तिका दिन चामुण्डा विन्द्रासैनी गाउँपालिका वडा नं. १, साविकको चामुण्डा गाविस वडा नं. ९ विशालामा माता पार्वती शाही र पिता देउराम शाहीको जेठी छोरीको रुपमा जन्म भएको हो । उहाँलाई जन्माउनेवित्तिकै उहाँको मुवा वितेपछि बुवाले भैसीको दुध ख्वाएर उहाँलाई पालेको दर्दभरि कुरा उहाँले बताउनु भयो । मुवा वितेपछि बुवाले अर्को विहे गर्ने वाध्यता भएपछि उहाँ ६ वर्षको अवस्थामा बुवाले अर्को विहे गर्नुभएको थियो । कान्छी आमा ब्यहोर्दै वाल्यकाल वितेको बताउनु भयो । पछिल्लो समयमा उहाँको घर परिवार विशालाबाट हालको चामुण्डा विन्द्रासैनी वडा नं. ४ चिम्यागाउँ कान्छावाडामा सर्नु भएको थियो ।

उहाँको वि.सं. २०१८ साल बैशाख १० गते हर्कबहादुर शाहीसँग मागी विवाह भएको हो । विवाह भएपछि माईती घर र कर्मघर सँगै भएको कारण पराई घरमा गएको अनुभूतिसम्म भएन । बरु बुवाको माया सासूससुराको मायाका कारण उहाँको जीवनमा थप सहाराको आभाष भएको कुरा बताउनु हुन्छ । श्रीमान् मुग्लान गएपछि अलि सकस भएको थियो । वि.सं. २०२३ साल माघमा एउटा छोरी जन्माउनु भयो तर ३ महिनापछि छोरीको काल भएपछि उहाँलाई झन पीर परेको कुरा बताउनु हुन्छ । शिक्षा दीक्षाको उज्यालो नपाएका कारण उहाँले श्रीमान्ले पठाएको चिट्ठी पनि पढ्न नसक्ने अरुले सुनाईदिने गरेको बताउनु हुन्छ । श्रीमान्लाई पत्र लेख्न सक्ने भएको भए आफ्ना त्यतिबेलाका दुःख लेखेर पठाउने ठुलो ईच्छा मनमा नै बसिरहेको थियो । झण्डै ७ वर्ष भन्दा बढीको पर्खाई कति दर्दनाक थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । श्रीमान्को अत्यासका कारण आफ्नो नन्दलाई लिएर दैलेख बजार गई आवाबाट एक पटक मात्र कुरा गरेको उहाँ बताउनुहुन्छ ।

करिव १० वर्षको अन्तरालमा कमरेड हर्कबहादुर शाही गाउँ फर्केपछि रातको अधेरी पछिको बिहानीजस्तो प्यारो अद्भूत खुसीको क्षण जीवनभरि याद हुनेछ । त्यसको करिब १ वर्षपछि छोरा दीपकबहादुर शाहीकोे जन्म हुनुले खुसीको संसारमा उमंगको रंग भरिएको थियो । छोरा पनि असाध्यै लायकको प्यारो न्यारो सबैले माया गर्ने रहरलाग्दो हुनाले कसैले भुईंमा रहन नदिने सबैले माया गरिरहने हात–हातमा लिने गरेको कुरा बताउनु हुन्छ । त्यही खुसीको बिचमा अलि दुःखको कुरा कमरेड हर्कबहादुर शाही रातदिन जनताको मुक्तिको लागि हिड्ने सासू ससुराको उमेर बुढो भएको हुनाले घरको काममा अलि बढी शारीरिक पीडा भएको थियो । तर उहाँले कहिल्यै पनि श्रीमान्को राजनीतिक क्रियाकलापमा प्रश्न चिह्न खडा गर्नु भएन किनकि उहाँलाई श्रीमान्को काम काजमा पूर्ण विश्वास रहेको कुरा बताउनु हुन्छ । बरु गाउँघर डुल्दा खानपानमा स्याहार नपुगेको कुरामा चिन्ता गरेको कुरा बताउनु हुन्छ । हमेशा पतिको काम ब्यवहारमा सहयोग गरेको कुरा बताउनु हुन्छ । दोश्रो पटक उहाँले १ छोरा १ छोरी जुम्ल्याहा बच्चा जन्माउनु भएको हो । तीन दिनपछि छोरा बितेको र मञ्जु शाही बाँचेकी हुन भन्ने कुरा बताउनु हुन्छ । त्यसपछि नवीन शाहीको जन्म भएको त्यसपछि अनिता शाहीको र त्यसपछि एक छोरीको काल भएको हो । जम्मा ७ छोरा छोरी मध्य ३ गुमाएको कुरा बताउनु भयो ।


एउटा व्यक्तिको सफलताका पछाडि स्त्रीको हात हुन्छ भन्ने कुरा उहाँको जीवनबाट पनि प्रमाणित हुन्छ । उहाँको श्रीमान् कम्रेड हर्कबहादुर शाही एक सफल पुरुष बन्नुमा उहाँको ठुलो हात रहेको देखिन्छ तर रातदिन जनताको मुक्तिको काममा ब्यस्त रहनाले घरको स्थिति बिग्रदै गएको थियो । वि.सं. २०४२ सालमा पञ्चायतविरोधी आन्दोलनहरुमा संलग्न रहेको कारण रामराजा प्रतापको बमकाण्डको आरोप लगाउँदै कम्रेड हर्कबहादुर शाहीलाई तत्कालीन सरकारले गिरफ्तार गरी नानाथरि कुरा सुनाउँथे कसैले हेलिकप्टरमा अष्ट्रेलियाको जंगलमा लियर फालिदियो, भन्ने खवर सुनाउँदा ठुलो संकट आईलागेको थियो । घरमा खाने कुराको समस्या थियो । एउटा काली भैसीको दुध मात्र खाएर ५ परिवार पालिने गरेको थियो । त्यही काली भैसी पनि विरामी परेर मरेपछि अभाव र दुःखको आँधिबेहेरी कसरी पार गरियो आज सपनाजस्तो लाग्दछ भन्नु हुन्छ । पटक–पटकको जेलनेल नजर बन्दीले घरमा बस्न नसक्ने स्थिति भएपछि कम्रेड हर्कबहादुर शाही मुग्लान पस्दा झन बेसहारा स्थितिको सामना गर्दै त्यस्तो कष्टकर अवस्थामा कसरी आपूm बाँचियो कसरी लालाबाला बचाइयो थाहै भएन ।

पढाइलेखाइ नभए पनि संस्कृति र संस्कारका हिसावले प्रशिक्षित नैनकला शाही आफ्नो जवानी अवस्थामा बनपाखामा न्याउले भाकासँग काम गर्दा समय गएको पत्तै नहुने, गोठाला जाँदा खोलाका माछा मारेर साथीसँगी बसेर खाने काफल, चोत्त्रा, ऐँसेलु, गुयँली, मलेउ, खजुरी खाँदै बनजंगल, पाखापखेराहरुमा जीवन बिताउने गरेको कुरा बताउनु हुन्छ । असारे गीतसँगै हात घुमाएर छुपु र छुपु धानको बिउ रोपेको रमाइलो, छैट, रतेउलीमा मागल गाउँदै रमाएको कुरा स्मरणीय छन् भन्नुहुन्छ । खेतका गडाहरुमा पुतलीसँग साउँको विहे गरिदिएर हिलो खेल्ने चलन असाध्यै रमाइलो हुने कुरा गर्दै दृष्य याद गर्नुहुन्छ । यी सबै उहाँका ब्याख्याहरुबाट उहाँ संस्कृतिप्रेमी एक संस्कारी महिला हुनुहुन्छ ।

केही सुख केही दुःख गर्दै छोराछोरीहरुलाई शिक्षादीक्षाका लागि अनुकुल वातावरण मिलाउन सकेको कुरा बताउनु हुन्छ । श्रीमान् समाजसुधारक, शिक्षाप्रेमी भएको र घरपरिवारमा पनि त्यस्तो खालको खासै समस्या नभएको कारण छोराछोरीहरुलाई पढाइलेखाइमा सधै अनुकुल परिस्थिति दिलाउन सफल भएको कुरा बताउनु हुन्छ । हाल सबै छोरा छोरीहरु आ–आफ्नो काम धन्दामा सफल, बिहेवारी भई नाति नातिना कुनै कुचित्त नरहेको बताउनु हुन्छ । छोरा छोरीका सबै गरी १२ नातिनातिना रहेका छन् । तर उहाँको श्रीमान्को मृत्युले बेजोडी हुनुको भावनात्मक पीडा भने बताउँदै भावुकताले निःशब्द हुनुभयो ।

साभार कमरेड हर्कबहादुर शाही’दिनेश’ स्मृतिग्रन्थ मंसिर २०७७