ब्वाँसाहरूको राज

प्रकाशित मिति : २०७७ पुस २६

- खगेश्वर भण्डारी

ब्वाँसाहरूको राज
ब्वाँसाहरू कैलेकसो आपसमा लड्छन् ,
हेर्दाहेर्दै कैलेकसो मिलिमतो गर्छन् ।
सिकारमा जुट्नु परे मिलिजुली जुट्छन् ,
त्यही सिकार लुछी खान आपसमा फुट्छन् ।।
यौटा लाग्छ दायाँतिर अर्कोतिर बायाँतिर,
खेलाएर मार्छन् बरै लाटा जनावर ।
दाह्रा नङ्ग्रा देखाउदै ङ्यार्र ङ्यार्र गर्छन् ,
लडेजस्तो भागेजस्तो छट्टु खेल खेल्छन् ।।
ब्वाँसाहरू जङ्गलमा राज गरेपछि ,
डराउँछन् सिधासाधा जनावर जति ।
त्यहाँ पनि बलियोले निर्धोलाई टोक्छ ,
भएभर शक्ति झिकी निर्धोमाथि पोख्छ ।।
ठुलो फौज जम्मा गरी हात पार्छन् सत्ता,
लाटासोझा जीवलाई पर्छ ठुलै धक्का ।
ब्वाँसाहरू राज गर्छन् सत्ता जमाएर ,
प्रजा जति जनावर सारा तड्पाएर ।।
ब्वाँसाहरू लड्दा पनि शङ्का मात्रै उठ्ने,
मैलाई खान लडेका हुन् भनी कस्ले बुझ्ने ?
सिधासादा जनावरमाथि राज गर्न ,
पल्ट पल्ट ब्वाँसाहरू कहाँ छोड्छन् लड्न ।।
कैलेकसो ब्वाँसाहरू सिँहलाई कुट्छन् ,
सिँहमाथि डाँका मारी सिकार नै लुट्छन ।
त्यै सिकार लुछी खान आपसमा लड्छन् ,
भोको पेट भयो भने तिनी फेरि जुट्छन् ।।
खगेश्वर भण्डारी, दाङ