पूँजीवादी उत्पादन व्यवस्था नै यस्तो छ कि त्यहाँ श्रम गर्ने मजदुरले दासको रुपमा बाँच्नु पर्दछ । यो व्यवस्थामा एक मुठी शोषकवर्गद्धारा लाखौं लाख श्रमिकहरु पिल्सिएका हुन्छन । जो गर्दैनन त्यसले खान्छ, जो गर्छ त्यसले खाँदैन अर्थात यो व्यवस्था शासकहरुले मै लाउ, मै खाउ, सुख सयल मोज मै गरु भन्ने सिद्धान्तमा आधारित छ । मजदुरहरु शोषणको जाँतोमा पिसिएर सँधै दलिनै रहनु पर्छ र आफ्नो एक मात्र पेवा भएको श्रम शक्ति पनि पूँजीवादलाई बेच्नु पर्छ । पूँजीपति वर्गले भने उनीहरुको श्रमद्धारा तयार गरिएको उत्पादन हडप गरेर आराम सँग भूडी ढल्काएर बसेको हामीले देखेका छौं । तर समाज संधै यही रुपमा थिएन । एक जमनमा यस्तो पनि थियो जसलाई हामी आदिम समाज भन्छौं जहाँ हजारौं वर्ष सम्म पनि मानिसलाई मानिसद्धारा मानिसको शोषण हुन्छ भन्ने थाह थिएन । त्यतिखेर मानिसहरुले सबै मिलेर काम गर्थे । तिनीहरु आफ्नो श्रमको फल पनि आपसमा मिलेर नै उपभोग गर्थे । मानिसको श्रमले आफूलाई चाहिने भन्दा बढी वस्तु उत्पादन गर्ने सम्भावना पनि थिएन किनभने मानिसहरु सबै काम गर्थे र अर्काको श्रममा कोही पनि बाँच्दैनथे । अर्थात त्यस बेला जो गर्छ उसले खान्छ भन्ने सिद्धान्त लागू हुन्थ्यो ।
तर यो समाजको विघटन भएपछि यस्तो पनि जमना आयो जहाँ मानव श्रमले स्वयं आफैलाई चाहिने भन्दा बढी वस्तुहरु उत्पादन गर्न थाल्यो । अनि मात्र मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटी पनि शुरु भयो । यसबाट हामी के देख्दैछौं भने पूँजीवाद भन्दा पहिले (आदिम समाजवाद व्यवस्था भन्दा पछि) अतिरिक्त श्रमको अस्तित्व कायम थियो अर्थात यसो भनौं त्यसबेला पनि मानव श्रमको शोषण थियो । शोषकद्धारा शोषित वर्गको अतिरिक्त श्रमको उपज हडप गरिनु नै वास्तवमा शोषण हो तर फरक कति छ भने दास वा भूदास प्रथामा जबसम्म विनिमयहिन अर्थात व्यवस्था नै प्रधान थियो । निश्चित घेरा भित्र मात्रै अतिरिक्त श्रमलाई हत्याउन सकिन्थ्यो । दासको मालिक अथवा सामन्तले उसले शोषण गर्ने दास वा भूदासहरु बाट त्यति नै मात्र श्रम हत्याउन सक्थ्यो जति उसको आवश्यकता र ऐस आरमको लागि आवश्यक हुन्थ्यो, पूँजीवादमा भने पूँजीपति वर्गले मजदुर वर्गको अतिरिक्त श्रमलाई व्यापक रुपमा शोषण गर्छ । पहिले त उसले यो अतिरिक्त श्रमलाई मुद्रामा परिणत गर्छ अनि थप पूँजीको रुपमा त्यो धनराशीलाई फेरी कारोबारमा लगाउँछ । जसबाट उसलाई फेरी अतिरिक्त मूल्य प्राप्त हुन्छ । यसरी पूँजीपतिहरु दिनदिनै मोटाउदै जान्छन । पूँजीवादमा श्रम प्रतिको लोभ माक्र्सको शब्दमा कहिले नअघाउने ब्वाँसोको जस्तो हुन्छ । पूँजीपति वर्ग आफ्नो ज्यालादारी दासहरुको शोषणमा तिव्रता ल्याउन जुनसुकै प्रकारको साधनको प्रयोग गर्न पनि पछि पर्दैनन ।
आखिर मजदुर वर्गको शोषण गर्न ब्वाँसोको जस्तो लोभ देखाउन पर्ने पूँजीपति वर्गले पाउने त्यो अतिरिक्त श्रम भनेको के हो ? र उनीहरुलाई त्यसको मूल्य कसरी प्राप्त हुन्छ अब यस कूरोको हामी विस्तारपूर्वक विचार गरौं । हामीलाई के थाह छ भने कुनैपनि वस्तु उत्पादन गर्दा त्यसमा मानिसको श्रमको आवश्यकता पर्दछ र जुन वस्तुमा मानिसको श्रम परेको हुन्छ त्यसको चाही मूल्य हुन्छ । प्रकृति प्रद्धत वस्तु जस्तो हावापानी, माटो ढुंगा आदिको मूल्य हँुदैन किनभने त्यसमा मानव श्रम परेको हुँदैन । हामी नै भनौं खोलामा पडिरहने वालुवाको के मूल्य हुन्छ र ? तर जब यसलाई मानवोपयोगी कार्यमा लगाइन्छ अर्थात जब त्यसमा मानव श्रम पर्दछ त्यसको मूल्य हुन्छ यस हिसाबले हेर्दा कुनै पनि वस्तुको मूल्य श्रमको आधारमा तोकिने प्रष्ट छ र (त्यो श्रमको मालिक हुन्छ । श्रमजीवि अर्थात मजदुर) त्यो श्रमको मूल्य पनि जसले गर्छ उसैले पाउनु पर्ने हो तर पूँजीवादमा त्यसो नभएर बरु त्यो श्रममाथि पूँजीपति वर्गको पूर्ण अधिकार रहने भएकोले त्यसको मूल्यमा उसैको अधिकार रहन जान्छ । आधुनिक मेसिनको विकासले गर्दा श्रम शक्तिलाई अझ बढाइदिएको छ । फलस्वरुप उत्पादन पनि स्वयं बढी हुन जान्छ । तर दुखको कुरा के छ भने त्यो बढी उत्पादनको भागिदार मजदुर हँुदैन । जसले आफ्नो श्रम बगाएर त्यस वस्तुको उत्पादन गरेको छ, उसले त त्यस वस्तुलाई किनेर मात्रै प्रयोग गर्न सक्छ अर्थात आफ्नो उत्पादन उसले आफैले किन्नु पर्छ अनि त्यत्रो उत्पादनको रकम कहाँ जान्छ त ? पूँजीपतिको खल्तिमा । हो, पूँजीपतिको खल्तिमा । किनभने पूँजीपति हरेक उत्पादन कार्य मात्र नाफा कमाउनको लागि गर्छन । उसको मूख्य उद्देश्य नै नाफा कमाउने र पूँजी बढाउने हुन्छ । नाफाको मतलब हो कुनैपनि वस्तु वास्तविक मूल्य भन्दा कममा किन्नु र वास्तविक मूल्य भन्दा बढीमा बेच्नु अर्थात यहाँ पूँजीपतिले वस्तु खरिद र बिक्रीको बिचमा फरक पाउछ त्यो नै उसको नाफा हो । यही लक्ष्यलाई धुरी बनाएर पूँजीपति मजदुरलाई श्रमको वास्तविक मूल्य भन्दा कम ज्याला दिन्छ र उसबाट बढी भन्दा बढी काम लिन्छ जसले गर्दा सस्तो भन्दा सस्तोमा वस्तु उत्पादन होस र महंगो भन्दा महंगोमा बेच्न सकियोस । यसरी वास्तविक श्रमको मालिकलाई ठगेर पूँजीपति नाफा कमाउछ ।
पूँजीपतिले नाफा कमाउन के गर्छ त ? उसको सामान्य गणितीय व्याख्या गरौं । उसले उद्योग धन्दा सञ्चालन गर्छ । उद्योग सञ्चालनको लागि उसलाई घर, आधुनिक मेसिन, कोरा पदार्थ आदिको आवश्यकता पर्दछ तर त्यतिले मात्रै उसको उद्योग सञ्चालन हुँदैन । त्यसको लागि उसले मानव श्रम, मजदुर लगाउछ र यो नै यस्तो श्रम हो जसलाई ठगेर उ नाफा बढाउछ । अब एउटा उदाहरणको रुपमा हेरौं । उसको उद्योगमा काम गर्ने एउटा मजदुरले दिनमा मानौं आठ घन्टा काम गर्छ र सो अवधिमा मानौं रु १६ बराबरको मूल्य उत्पादन गर्छ अर्थात उसले प्रति घन्टा रु. २ बराबरको मूल्य उत्पादन गर्छ तर उसलाई ज्याला दिइन्छ रु. ८ मात्र । यो पनि पूँजीपतिले मानौं उसलाई अधिकतम रकम दिएको छु र पनि त्यहाँ उसको श्रमको मूल्य हुन्छ । आठ रुपैयाँ मात्र अर्थात आफूले उत्पादन गरेको मूल्यको आधा जुन मूल्य उसले चार घन्टा श्रम गर्दा नै कमाउछ अझ स्पष्ट शब्दमा भन्ने हो भने उसले आफ्नो श्रम शक्ति खर्च गरे वापत पाउने ज्याला कमाउन केबल चार घन्टा काम गरे पुग्छ तर उ त्यहाँ काम गर्छ आठ घन्टा अर्थात ठीक डबल र जसमा बाँकी चार घन्टा उसले पँजीपतिको लागि सित्तैमा काम गर्नु पर्दछ ।
अब हामी मजदुरको श्रमलाई यहाँ दुई भागमा बाँडन सक्छौं जस्तो दिनको पहिलो चार घन्टामा उसले आफ्नो श्रम शक्ति बेचे वापत प्राप्त भएको रकम बराबरको मूल्य उत्पादन गर्छन यसलाई हामी आवश्यक श्रम समय (लभअभककबचथ बिदयगच तष्mभ) भन्दछौँ र दिनको पछिल्लो चार घन्टामा मजदुरले जुन मूल्यको उत्पादन गर्छन, त्यो उसको नभई पूँजीपतिको हुन्छ । अर्थात पूँजीपतिले सित्तैमा त्यो मूल्य पाउछन । यसलाई हामी अतिरिक्त श्रम (कगचउगिक बिदयगच) भन्दछौँ । मजदुरको त्यो अतिरिक्त श्रमद्धारा सृजना गरिएको मूल्यलााई हामी अतिरिक्त मूल्य (कगचउगिक खबगिभ) भन्दछौँ । हामी पूँजीपति वर्गलाई यस्तो अतिरिक्त मूल्य कमाई दिने कारखानामा काम गरिरहेका हजारौं लाखौं मजदुरको कल्पना गर्न सक्छौं । पूँजीपति वर्गले यी हजारौं लाखौं संख्यामा काम गर्ने मजदुर वर्गले उत्पादन गरिदिएको अतिरिक्त मूल्यलाई थप पूँजीको रुपमा फेरी कारोबारमा लगाउदछ जसबाट फेरी उसलाई थप अतिरिक्त मूल्य प्राप्त हुन्छ । यही क्रमद्धारा उद्योगको विस्तार हुँदै जान्छ । उत्पादन पनि बढदै जान्छ । पूँजीपति वर्ग झन झन मोटाउदै जान्छ तर मजदुर वर्गको दशा भने उस्तै रहन्छ । केबल आठ रुपैयाँ ज्याला ।
पूँजीपति वर्गले नाफा बढाउने प्रतिस्पर्धा पूँजीवाद अघिका समाजहरुको तुलनामा उत्पादन विकासको स्तर धेरैमाथि उठाउने मात्र नभई त्यस्ता उत्पादक शक्तिहरुलाई पनि हुर्काउने गर्दछ । जसले पूँजीवादी उत्पादन पद्धतीलाई नै धराशायी गराउन सक्छ । त्यो शक्ति हो मजदुर वर्ग । पूँजीपतिका ठुलठुला उद्योगहरुमा लाखौं मजदुरहरुले काम गर्दछन तर तिनको श्रमफलमाथि मजदुरहरुको नभएर मुठीभर पूँजीपतिहरुको अधिकार रहन्छ । यो अन्तरविरोध नै पूँजीवादको आधारभूत अन्तरविरोध हो जसको समाधान यो व्यवस्थाले गर्न सक्दैन । त्यसैले माक्र्सले भनेका छन पूँजीवादी उत्पादन प्रणाली सम्पतिको उत्पादन गर्ने निरपवाद प्रणाली होइन, यसको विपरित निश्चित अवस्थामा गएर यसले आफ्नो विकासमा आफैले बाधा पुर्याउछ ।
साभार मजदुर विद्रोह वर्ष १ अंक १ कार्तिक २०७७

प्रतिक्रिया

सम्बन्धित खवर