खाँचो क्रान्तिकारी पार्टी एकताको

खाँचो क्रान्तिकारी पार्टी एकताको

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुको एकता अनिवार्य रहेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले बताउँदै आउनु भएको छ । उहाँले अहिलेको परिस्थितिमा ती सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताको सूत्रमा बाँध्ने दायित्व आफ्नो र आफ्नो पार्टीको भएको पनि बताउने गर्नुभएको छ । डिसेम्बर ११ अर्थात् माओ दिवसका दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि महासचिव किरणले उक्त कुरा दोहो¥याउनु भएको थियो । सो अवसरमा उहाँले केही राजनीतिक पार्टीहरुसँग क्रान्तिकारी संयुक्त मोर्चा र पार्टी एकताका लागि पहल भइरहेको पनि खुलासा गर्नुभएको थियो । त्यसको केही दिनमै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीच संघीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि रणनैतिक क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गर्ने सहमतिको घोषणा गरियो । सहमति भएको घोषणा गरिएको वक्तव्यमा केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति र यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शिघ्र घोषणा गरिनेछ समेत बताइएको छ ।
यो संयुक्त मोर्चा निर्माणको सहमतिले नेपाली कम्युनिस्ट आन्दोलनको देशभक्त तथा क्रान्तिकारी पंक्तिलाई र आमूल परिवर्तनका पक्षधर जनपंक्तिलाई समेत उत्साहित बनाएको छ । अर्कोतिर यो सहमतिले यथास्थितिमा गोलचक्कर मारिरहेको र पुनरुत्थानवादीहरुले समेत टाउको उठाउन लागेको विकसित राजनीतिक परिस्थितिमा अग्रगामी तथा क्रान्तिकारी राजनीतिक निकासका लागि मार्ग प्रशस्त गरेको छ र नेपाली राजनीतिक रंगमञ्चमा क्रान्तिकारी राजनीतिक धार अगाडि आएको छ । यो धारलाई नेपाली राजनीतिको अबको मूलधार बनाउन र मुलुकलाई अग्रगामी तथा क्रान्तिकारी राजनीतिक निकास दिन यो धारलाई सबल र प्रबल बनाउन जरुरी छ । त्यसका लागि अब चाँडै बाँकी क्रान्तिकारीहरुलाई पनि संयुक्त मोर्चामा ल्याउन र यो क्रान्तिकारी संयुक्त मोर्चालाई क्रान्तिकारी पार्टी एकतामा रुपान्तरण गरी शक्तिशाली क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ । कार्यगत एकतामा रहेका २३ राजनीतिक संगठनबीच पनि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको मुद्दामा एक ठाउँ आउने, ल्याउने वातावरण सिर्जना गर्न जरुरी छ । यो अहिलेको समयको माग र इतिहासले क्रान्तिकारीहरुलाई सुम्पेको प्रमुख जिम्मेवारी र दायित्व पनि हो ।

यसरी संयुक्त मोर्चालाई पार्टी एकतामा विकसित गर्न सकिएको खण्डमा क्रान्तिकारी ध्रवीकरणले तीव्रता पाउने वस्तुगत अवस्था सुदृढ बनेर गएको छ । क्रान्तिका लागि स्वर्णिम अवसर रहेको अहिलेको वर्तमान अवस्थामा क्रान्तिकारीहरुको आत्मगत अवस्थालाई सुदृढ पार्ने र विकसित राजनीतिक परिस्थितिमाथि पहलकदमी बढाउँदै परिस्थितिलाई लक्ष्य र उद्देश्य अनुसार दिशा दिन सक्ने स्थिति प्रबल बनेर गएको छ । केही निहीत महत्वकांक्षा र आग्रहहरुलाई तपशीलमा राखेर मिलेका कुराहरुबाट एकताको प्रक्रिया अगाडि बढाउने र नमिलेका कुराहरुलाई पार्टीका विभिन्न निकायहरुमा छलफल बहस गर्दै टुंग्याउने गरी पार्टी एकताको कोर्स अगाडि बढाउनु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादलाई केन्द्रमा राखेर गरिने सिद्धान्तनिष्ठ एकताले अबरुद्ध बनेको समाजको आर्थिक–सामाजिक रुपान्तरणलाई अवश्यै पुनः तीव्रता दिनेछ । र, वास्तविक रुपमा शोषित उत्पीडित वर्ग र समुदायको राजनीतिक व्यवस्था स्थापना गर्न सकिने छ । जसले बर्षौदेखि हल गर्न नसकेको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको दीर्घकालीन समाधान दिन सक्नेछ । यसतर्फ सबै छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुले बेलैमा ध्यान दिन जरुरी छ । र, इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल बढाउन जरुरी छ । क्रान्तिकारी रुपान्तरणसहितको सिद्धन्तनिष्ठ एकता आजको आवश्यकता हो ।