काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध सडक प्रदर्शन दिनदिनै भइरहेका छन् । सोमबारबाट संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि सडक प्रदर्शन थपिएको छ । सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरुको रुपमा मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत २२ वटा राजनीतिक संगठनहरु, राजावादीहरुले समेत ओली सरकार र राज्यव्यवस्थाका विरुद्ध दिनहुँ जसो विरोध प्रदर्शन गर्दै आएका छन् ।
नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले ओली सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

काठमाडौं लगायत देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको कांग्रेसले प्रम केपी ओली पूर्वराजासँग मिलेको र सडकमा हुने राजावादीको प्रदर्शनमा ओली सरकारको समर्थन रहेको समेत आरोप लगाएको छ । पार्टीको मकवानपुरको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको दाबी गरेका छन् । उनले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको समेत बताए । कांग्रेसले ओली सरकारको विकल्प खोजिरहेको छ भने राजावादीहरुले वर्तमान व्यवस्थाकै विकल्पमा प्रतिगामी सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको वकालत गरिरहेका छन् । क्रान्तिकारी माओवादी लगायत सच्चा देशभक्त क्रान्तिकारीहरुले भने अग्रगामी राजनीतिक विकल्पको रुपमा संघीय जनगणतन्त्रको विकल्प अगाडि सारेका छन् । विगतमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित, महिला आन्दोलन, मुस्लीम लगायतका सबै आन्दोलनको जनादेश पनि संघीय जनगणन्त्र भएकोले करिब ९० प्रतिशत नेपाली श्रमजीवि, शोषित उत्पीडित जनता संघीय जनगणतन्त्रको पक्षमा रहेको क्रान्तिकारी माओवादीले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर