भुक्तानीकाे माग गर्दै उखु किसानहरु पुनः आन्दाेलित

प्रकाशित मिति : २०७७ मंसिर २८


काठमाडौं । भुक्तानी नपाएपछि उखु किसानहरु पुनः आन्दाेलित भएका छन् । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।  यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागिता जनाउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रकाे दाबी छ ।

चिनी मिलबाट उखु किसानहरुले वषौंदेखि भुक्तानी पाएका छैनन् । गतवर्ष उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ । पटक पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि याे कठ्याङ्ग्रिदाे जाडाेमा किसानहरु आन्दाेलनमार्फत् दबाब दिन काठमाडौं आउन बाध्य भएका हुन् ।