जनकपुर । रौतहटको चपुरमा नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र अन्य जबस मोर्चाको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न गरिएको छ । वर्तमान सत्ता, व्यवस्था र संविधानको विकल्पमा संघीय जनगणतन्त्र स्थापना गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेल प्रतीकले सम्बोधन गर्नुभएको थियो । उहाँले ओली नेतृत्वको सरकार कम्युनिस्ट नभएर विदेशीको दलाल भएको, कथित संघीय लोकतान्त्रिक गणतन्त्र दलाल र पुँजीपतिहरुको भएको र यो सरकार सम्पूर्ण रुपले असफल र बदनाम भएकोले अब संघीय जनगणतान्त्रिक राज्यव्यवस्थाका लागि लड्नु पर्ने कुरामा जोड दिनुभयो । विगतमा भएका युद्ध र आन्दोलन नै संघीय जनगणतन्त्रका निम्ति भएको हुनाले अब त्यो व्यवस्था प्राप्तिका लागि सबै देशभक्त र क्रान्तिकारी शक्तिहरु एकजुट भएर लड्नुपर्ने बेला आएको बताउनु भयो ।
कार्यक्रमलाई दजमोको तर्फबाट भुवनप्रसाद चौलागाईले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रौतहट सेक्रेटरी सचिव प्रल्हाद साहले गर्नुभएको थियो । चपुरको सडक डिभिजन कार्यालयबाट सुरु भएको विरोध ¥याली बसपार्कमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
त्यसैगरी सिरहाको गोलबजारमा आयोजना गरेको विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव रामनारायण सिंह लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । विरोधसभाअघि निकालिएको विरोध ¥यालीले गोलबजार नगरपरिक्रममा गरेको थियो । कार्यक्रममा सरकारका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।