आज सातवटै प्रदेशमा क्रान्तिकारी माओवादीको विरोधसभा, कहाँ कसले गर्दैछ सम्बोधन ?

आज सातवटै प्रदेशमा क्रान्तिकारी माओवादीको विरोधसभा, कहाँ कसले गर्दैछ सम्बोधन ?


काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार आज सातवटै प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी)ले विरोध प्रदर्शन गर्दैछ । प्राप्त जानकारी अनुसार ३ नंं प्रदेशको आयोजनामा दिउसो १ बजे रत्नपार्क शान्तिबाटिमा विरोधसभाको आयोजना गरिएको छ । यहाँको विरोधसभालाई पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेललगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ ।

त्यसैगरी १ नं. प्रदेशको उदयपुर गाईघाटमा हुने विरोध प्रदर्शनलाई पार्टी पीविएम तथा प्रदेश इन्चार्ज मिनकुमार राउतले सम्बोधन गर्दै हुनुहुन्छ भने दुई नम्बर प्रदेशमा सिरहाको गोलबजार, धनुषाको जनकपुर र रौतहटका चपुरमा विरोधसभाको अयोजना गरिएको छ । पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवार लगायतका नेताहरुले विरोधसभालाई सम्बोधन गर्नुहुनेछ ।

त्यसैगरी ४ नं. प्रदेशमा कास्कीको पोखरामा विहान ११ बजे विरोधसभाको आयोजना गरिएको छ । यहाँको विरोधसभालाई पार्टी पीवीएमद्वय चन्द्रहरि सुवेदी अटल र केशबहादुर परियारलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उता ५ नं. प्रदेशको नेपालगञ्जमा विरोधसभाको आयोजना गरिएको छ । प्रदेश पार्टीको आयोजनामा गरिएको यहाँको विरोध सभालाई पार्टी पीवीएमहरु केवी गुरुङ, भूपेन्द्र न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा विरोधसभा हुँदैछ । सुर्खेतको विरोधसभालाई पार्टी केस तथा देजमो, नेपालका प्रदेश संयोजक दिपकबहादुर शाही र दैलेखमा हुने विरोधसभालाई पार्टी केस तथा प्रदेश सचिव कृष्ण गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी सात नम्बर प्रदेशको धनगढी र महेन्द्रनगरमा पनि विरोधसभाको आयोजना गरिएको छ । धनगढीको विरोधसभालाई केस रामबहादुर केसी र महेन्द्रनगरको विरोधसभालाई केस हरि सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

पार्टीको हालै सम्पन्न पोलिटब्यूरोको बैठकले संघर्षमा सिंगो पार्टीलाई केन्द्रित गर्ने निर्णय गरेसँगै विरोधसभा तथा प्रदर्शनको आयोजना गरेको हो । क्रान्तिकारी माओवादीको सम्पन्न पीवी बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको थियो । यिनै विषयलाई लिएर यही मङ्सिर २५ गते काठमाण्डौ सहित देशका सबै प्रदेशहरुमा विरोध प्रदर्शन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो ।