२४ मंसीर काठमाडौँ — करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ  । ब्यारेक र कार्यालय तथा चन्द समूहका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
चन्द समूहले मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेपछि प्रहरी थप सतर्क बनेको हो । यसअघिका हिंसात्मक गतिविधिको चन्द समूहले सजिलै जिम्मा लिने गरेको थिएन तर मंगलबार मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्नेप्रति प्रहरी संवेदनशील बनेको हो । मिक्लाजुङको जस्तै घटना अन्य स्थानमा पनि दोहोरिन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति सचेत र चनाखो रहन सातवटै प्रदेश, महानगरीय प्रहरी कार्यालय र देशभरका संघीय इकाइ कार्यालयको ध्यानाकर्षण गराएको छ ।
मिक्लाजुङमा शिक्षकको घाँटी रेटी हत्या भएको भोलिपल्ट बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यविभाग प्रमुख (एआईजी) हरिबहादुर पाल र विशेष ब्युरोका डीआईजी प्रकाशजंग कार्कीसँग चन्द समूहका गतिविधि नियन्त्रण र प्रहरीले लिने आगामी रणनीतिबारे छलफल गरेका थिए । त्यसपछि दिउँसो गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएर चन्द समूहका गतिविधिबारे जानकारी लिएका थिए ।
गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रधानाध्यापकको हत्याको जिम्मा चन्द समूहले लिनुले उसका गतिविधि आतंककारीजस्तो देखिएको जनाउँदै यस विषयमा प्रधानमन्त्री तहबाटै आवश्यक निर्णय लिनुपर्छ कि भन्नेमा पनि छलफल भएको बताए । ‘शिक्षक हत्याको स्थिति हेर्दा आतंककारी गतिविधिजस्तो देखियो, यस्ता गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीको तहबाटै आवश्यक निर्णय लिनुपर्छ भन्ने पनि कुरा उठेको छ,’ उनले भने ।

बुधबारको सुरक्षा समीक्षा बैठकमा चन्द समूहका ‘आतंककारी गतिविधि’ लाई संयम र सुझबुझपूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने सुझाव सुरक्षा प्रमुखहरूले दिएका थिए । गृहमा बैठक सकिएपछि प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई सुराकी गरेको आरोपमा घरबाट अपहरण गरी नजिकै जंगलमा घाँटी रेटी हत्या गरेको हुँदा यस्ता प्रकृतिका घटना अन्य स्थानमा समेत हुन सक्ने भएकाले उक्त समूहका गतिविधि नियन्त्रण गर्नका लागि हातहतियार तथा सुरक्षा सामग्रीसहित दैनिक गस्ती र निगरानी बढाउने, कार्यालय, सुरक्षा ड्युटी, पालोपहरा एवं प्रहरीलाई सूचना दिने सूचकहरूको सुरक्षाका लागि समेत आवश्यक उच्च सतर्कता अपनाउने व्यवस्था मिलाउन हुन अनुरोध गरिएको छ ।’
यसअघि आफूनिकटका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा चन्दले ‘पार्र्टीका नेता–कार्यकर्ताको सुराकी गर्ने, पिछा गर्ने, दुःख दिने र पार्र्टी गतिविधि नियन्त्रण गर्न परिचालित हुनेविरुद्ध जनमुक्ति सेनालाई कारबाहीमा उत्रिन’ निर्देशन दिएका थिए । यही मंसिर १ गते संखुवासभाको चैनपुर, मैदानेमा प्रहरीविरुद्ध चन्द समूहले आक्रमण गरेको थियो । त्यसअघि साउन १ गते चन्दले विज्ञप्तिमार्फत ‘संघर्षलाई सशक्त बनाउन, पार्र्टी र क्रान्तिका कामहरू गर्न तथा आवश्यकताअनुसार प्रतिरक्षा र प्रतिरोधात्मक कारबाही सञ्चालन गर्न’ निर्देशन दिएका थिए ।
चन्द समूहका गतिविधिमा २०७५ माघ २८ गते मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएको थियो । त्यसपछि केन्द्रदेखि स्थानीय स्तरसम्मका नेतारकार्यकर्ता भूमिगत हुनुका साथै चन्द समूह हिंसात्मक गतिविधिमा संलग्न रहँदै आएको छ । यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले १ हजार ९ सय ५० जनाभन्दा बढीलाई पक्राउ गर्नुका साथै १ हजार ८ सय ४८ जनालाई अदालत तथा जिल्ला प्रशासनमार्फत मुद्दा चलाएका थिए । त्यसमध्ये अहिले चन्द समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय ४३ जना पुर्पक्षका लागि कारागारमा छन भने केही प्रहरी हिरासतमा छन ।
विशेष ब्युरोले सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मालाई २०७५ साउन २३ गते नागढुंगाबाट पक्राउ गरे पनि उनी अदालतको आदेशमा छुटे । त्यसपछि उनी पनि भूमिगत छन । प्रतिबन्धकै क्रममा सरकारले चन्द समूहलगायतसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा २०७५ भदौ ८ गते ‘उच्चस्तरीय राजनीतिक वार्ता टोली’ गठन गरे पनि चन्द समूहले पक्राउ परेका कार्यकर्ता रिहा र मुद्दा फिर्तालाई पूर्वसर्त राखेपछि वार्ता अघि बढेको थिएन ।
वर्ताकै क्रममा २०७५ मंसिरअघि पक्राउ परेका नेतारकार्यकर्ता रिहा पनि भए तर त्यसपछि चन्दका कार्यकर्ता भूमिगत बनेका थिए । तत्कालीन वार्ता टोली संयोजक पाण्डेले पछिल्लोपटक लकडाउनयता पनि चन्द समूहसँग अनौपचारिक सम्पर्क र कुराकानीमै भए पनि ठोस प्रगति नभएको बताए । पछिल्लो पटक शिक्षक हत्याको घटनाले चन्द समूहले राजनीतिको आवरणमा हिंसा नै चाहेको हो कि भन्ने पनि संकेत गरेको उनको भनाइ छ ।
‘सरकारप्रतिको असन्तुष्टि सडकमा पोखियो’
गृह मन्त्रालयमा बुधबार बसेको सुरक्षा समीक्षा बैठकले पछिल्लो पटक सडकमा ‘राजावादी’को पक्षमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टिको असर भएको निष्कर्ष निकालेको छ । राजावादी प्रदर्शनमा देखिएको जनलहरलाई राष्ट्रिय प्रजातन्त्र पार्र्टीले संगठन विस्तारको रूपमा फाइदा लिन खोजेको तर प्रदर्शन राजाको लोकप्रियताका रूपमा भने नरहेको सुरक्षा प्रमुखहरूले ब्रिफिङ गरेका थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले पछिल्लो पटक राजावादी र चन्द समूहका गतिविधिबारे ब्रिफिङ गरेका थिए । ‘राजावादीको प्रदर्शन राजाको पक्षमा देखिएको लोकप्रियता नभई सरकारप्रतिको असन्तुष्टिको आवाज रहेको निष्कर्ष सुरक्षा प्रमुखहरूको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘यो आन्दोलनबाट संगठन विस्तारको नीति अघि बढाउन राप्रपाले पनि चलखेल गरेको छ, सडकको भीड अहिलेको चुनौती होइन भन्ने सबैको साझा निष्कर्ष छ ।
विप्लवका नेता खोज्न पत्रकारको घर खानतलासी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी गरेको छ । विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढालाई लुकाएको आशंका गर्दै पत्रकारद्वय नरजन तामाङ र कर्णबहादुर रोकायको घर प्रहरीले खानतलासी गरेको हो ।
राज्यविरुद्धको अपराध अभियोगमा हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासबाट मंगलबार सफाइ पाएका बुढालाई प्रहरीले पुनः पक्राउ गर्ने तयारी गरेको थियो । त्यसका लागि अदालत परिसरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ थिए । मानव अधिकारकर्र्मीहरूको रोहवरमा छाडिएका बुढा भने गेटबाहिर पुगेलगत्तै फरार भएका थिए । त्यसपछि प्रहरीले उनलाई लुकाएको आशंकामा गैरकानुनी रूपमा पत्रकारका घर खानतलासी गरेको हो ।
पत्रकार तामाङ नयाँ पत्रिका दैनिकका हुम्ला संवददाता हुन । उनी नेपाल टेलिभिजनका पनि प्रतिनिधि हुन । रोकाया नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र कचहरी दैकिकका सम्पादक हुन । बुढालाई खोज्ने क्रममा एक दर्जन प्रहरी घरमा बसेर बत्ती बन्द गर्दै मानसिक तनाव दिएर खानतलासी गरेको भन्दै रोकायले आपत्ति जनाए । द्वयपत्रकारसहित प्रहरीले रेडियो कर्णाली, रेडियो कैलाश,लगायतका सञ्चार मिडियालाई प्रहरीले निगरानी गरेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।
अध्यक्ष बोहराले अनावश्यक पत्रकारहरूलाई धम्की दिएर प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाए । प्रहरीले पत्रकारहरूलाई निगरानी गर्नुको कारणबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले आफूलाई जानकारी नभएको बताए । बुढालाई प्रहरीले गत २३ असोजमा ताजाकोट गाउँपालिका ५ बाट पक्राउ गरेर सिमकोट ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर