चीनले भन्यो– नेपालको सार्वभौमिकतालाई सँधै सम्मान गरेका छौं, भवन निर्माण गरेको भूमि नेपालले पुनः प्रमाणीकरण गर्न सक्छ’

चीनले भन्यो– नेपालको सार्वभौमिकतालाई सँधै सम्मान गरेका छौं, भवन निर्माण गरेको भूमि नेपालले पुनः प्रमाणीकरण गर्न सक्छ’

काठमाडौँ । हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा चीनियाँ पक्षले भवन निर्माण गरेको समाचारको विषय काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।
चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् । उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् । ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् ।
केही दिनयता नेपाली मिडियाले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए । लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो ।
उक्त टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ । तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै प्रक्रिया दिएको छैन । सम्बन्धित मन्त्रालयहरु गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयले यस बारेमा केही पनि बोलेका छैनन् ।
चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।
यता नेपाल–भारतबीच सीमा समस्यालाई लिएर सम्बन्ध चिसिएको लामै समय भइसक्यो तर हालसम्म त्यसको समाधानका लागि कुनै ठोस पहल हुनसकेको छैन । नेपालले कुटनीतिक माध्यमबाट वार्ताका लागि प्रयास गरेपनि भारतले हालसम्म त्यसको कुनै सुनुवाई गरेको छैन । नयाँ नक्सा जारी भएको चार महिना वितिसक्दा पनि अतिक्रमित भूमि फिर्ताका लागि कुनै पहल गरिएको छैन ।
यसैबीच, बुधबार एक समूहले चीनले नेपाली भूमिमा भवन बनाएको भन्दै चिनियाँ दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ ।