
स्याङ्जा । जिल्लाकाे वालिङ नगरपालिका–१४ तमादीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपालीको शव भेट्टिएकाे छ।
यसअघि २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखर रिफर गरिएको छ । पहिरोमा परी बेपत्ता अन्य दुई जनाको खोजी भइरहेकाे छ ।
यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।
उता पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ३ सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरबहादुर गाहाकी २७ वर्षीया श्रीमती मोतिसरा गाहाको मृत्यु भएको छ । वीरबहादुर भने पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएका छन् ।
त्यस्तै रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । उनीहरुको उद्धार गर्ने प्रयास भइरहे पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।





























