मेडिकल माफियाका विरुद्ध डा. केसीको १९ औं अनशन

प्रकाशित मिति : २०७७ आश्विन १


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै डा. गोविन्द केसी चारदिनदेखि अनशनमा बसेका छन् । उनको यो १९ औं अनशन हो । २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ । जुम्लाको रानीचौरस्थित बाविरामष्ट मन्दिरमा अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । तर केसीले स्लाइनसमेत लगाउन मानेका छैनन् । उनको स्वास्थ्य अवस्था खस्किदै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविन गिरीले बताए । उनका अनुसार प्रतिष्ठानको टोली बिहीबार केसीको स्वास्थ्य अवस्था जाँच गर्न अनशनस्थल पुगेको थियो । ‘स्लाइन लगाउन पनि दिनुभएन,’ उनले भने, ‘शरीरका विभिन्न भागमा कमजोरी देखा परेको छ ।’

डा.केसीले भने, ‘मेडिकल माफियाको अन्त्य र गरिब जनताको छोराछोरीले डाक्टरी पढ्न पाउने एजेण्डासहित पवित्र बाविरामष्टो मन्दिरमा सत्याग्रहमा बसेको हुँ । सास रहुञ्जेलसम्म लडिरहन्छु,’ । केसीले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए । तर प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन् ।

डा. केसीको अनशनप्रति जुम्लाका मुगाली समुदायले समर्थन जनाएका छन् । बिहीबार अनशनस्थलमा केसीलाई भेट्न पुगेका मुगाली समुदायका झण्डै एक सय बढी अगुवाले उनको अभियानप्रति ऐक्यबद्धता जनाएका हुन् ।

कर्णालीजस्तो दुर्गम ठाउँमा डाक्टरी पढाइ गरिनुपर्ने कर्णालीबासीको माग डा. केसीले गरिरहेको स्थानीय विद्यार्थीहरुले बताएका छन् । माग पूरा नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी स्थानीय विद्यार्थीहरुले दिएका छन् ।