हिङ नभए पनि हिङ बाँधेको टालो भनेझै नाम मात्रको भएपनि अर्थात् बुर्जुवा संसदीय गणतन्त्र नै भएपनि यो दशवर्षे जनयुद्धकै प्रतिफल हो । अहिले यो गणतन्त्र, संविधान तथा सत्ता र सरकारमा दलाल पुँजीवादीहरु, संशोधनवादी तथा अवसरवादीहरुको कब्जा रहे पनि यत्ति परिवर्तन पनि दशवर्षे जनयुद्धमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान सहिदहरुका कारण सम्भव भएको हो । यो गणतन्त्र, संविधान तथा व्यवस्थाले ‘जनयुद्धका सहिदहरु’लाई सहिदको दर्जा (सम्मान) नदिए पनि शासकहरुले अहिले तिनै महान सहिदहरुको ब्याँज खाइरहेका छन् अनि राज्यको ढिकुटीमा ब्रम्हलुट मच्चाउने अवसर प्राप्त गरिरहेका छन् । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ कि जनयुद्धमा जीवन बलिदान गर्ने सहिदहरुले यो तथाकथित बुर्जुवा संसदीय व्यवस्थामा आधारित नाम मात्रको गणतन्त्रका लागि बलिदान गरेका थिएनन् । जनयुद्धको क्रममा जीवन बलिदान गर्ने पार्टी पीवीएम सुरेश वाग्लेदेखि जनयुद्धको तयारीको क्रममा सहादत प्राप्त गर्नुहुने पार्टी केस रामवृक्ष यादवसम्मले नेपालमा नयाँ जनवादी राज्यव्यवस्था अर्थात् गरिखाने श्रमजीवी जनतालाई अधिकारसम्पन्न बनाउने ‘जनगणतन्त्र’ स्थापना गर्ने लक्ष्य र उद्देश्यका खातिर जीवन बलिदान गरेका थिए । जब जनयुद्धमाथि धोका र गद्दारी भयो, सँगै जनयुद्धका महान सहिदहरुको लक्ष्य, उद्देश्य, सपनामाथि पनि कुठाराघात हुन पुग्यो । सहिदहरुको बलिदानको ब्याँज खाएर सत्तामा पुगेका र किर्ना झै मोटाएकाहरु अहिले ‘जनयुद्ध’, ‘सहिद’, ‘बलिदान’ शब्दको उच्चारण गर्न पनि नसक्ने गरी नैतिक रुपमा पतित बन्न पुगेका छन् । हेर्दा हेर्दै सहिदहरु सुरेश वाग्ले, रामवृक्ष यादव, विशाल, कुमार, सुनिल, कृष्णसेन इच्छुक लगायत जनयुद्धका सहिदहरुका एकथरि सहयात्रीहरु प्रतिक्रियावादी सत्ता र व्यवस्थाका मतियार बन्न पुगेका छन् । र, उनीहरुले जनयुद्धले माटियामेट पार्ने लक्ष्य लिएको त्यही पुरानो सडेगलेको बद्नाम संसदीय व्यवस्था डकारिरहेका छन् । पार्टी सेलदेखि केन्द्रसम्म जनयुद्ध लडेको ठूलो हिस्सा आज यसैको वरिपरि गोलचक्कर मारिरहेको छ । ‘जनयुद्ध’ र ‘सहिद’ उनीहरुलाई दिउसै तर्साउने भूत भएका छन् । र, उनीहरुले भागदौड मच्चाइरहेका छन् । भाग्दै भाग्दै उनीहरु जनयुद्धताका ‘प्रतिक्रियावादी गद्दार एमाले गुट’ करार गरेको पार्टीमा शरण लिन पुगेका छन् । ‘जनयुद्ध’लाई महाभूल र महाअपराधको रुपमा बिद्रूपीकरण गर्नमा तिनै भगौडाहरु प्रतिक्रियावादीहरुको निर्देशन र इशारामा उफ्रिपाफ्री अनेकथरी बकिरहेका छन् । तर परस्थिति ती भगौडा गद्दारहरुकै लागि प्रत्युत्पादक र आत्मघाती बन्दै गएको छ । तिनीहरु असली कम्युनिस्ट क्रान्तिकारीहरु र घोर दक्षिणपन्थी प्रतिक्रियावादी दुवै कित्ताको निशानामा पर्न गएका छन् । जनयुद्धको नायकबाट खलनायकमा परिणत हुन पुगेका प्रचण्डहरुको हरिबिजोगको अनुभूति ‘अच्चानोको पीर खुकुरीलाई के थाहा’ भनेजस्तै हुन पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।
‘दशवर्षे जनयुद्ध’ नेपाली सर्वहारावर्गका लागि मात्र होइन, विश्व सर्वहारावर्गका निम्ति पनि एउटा महत्वपूर्ण परिघटना थियो । २१ औं शताब्दीको पहिलो दशकमा नेपालमा सञ्चालित महान जनयुद्धले विश्व सर्वहारावर्ग तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समेत एउटा उत्प्रेरणा र उर्जा प्रदान गरेको थियो । र, नेपाली सर्वहरावर्गको राज्यसत्ता स्थापनाको सम्मुखमा पुगेको थियो । अर्थात् जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको दोस्रो योजनासम्मको प्रक्रियाबाट स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्ता कब्जाको दिशामा अगाडि बढिरहेको थियो । विचार, राजनीतिका साथै फौजी हिसाबले पनि नेपाली जनयुद्ध विजयी रुपमा अगाडि बढिरहेको थियो । जसको प्रभाव र उत्प्रेरणा नेपाली समाजमा युगौसम्म रहन्छ । जनयुद्ध र बलिदानमाथि धोका र गद्दारी भएको साढे दुई दशक गुज्रदै गर्दा यस बीचमा हुर्केको पछिल्लो पुस्ताको जोश, जनयुद्ध लडेको पुस्ताको होश अनि उपेक्षित, उत्पीडित, शोषित दमित वर्ग र समुदायको मुक्ति र स्वतन्त्रता, न्याय र समानताको लडाइँ विभिन्न नाम र रुपमा हुर्किइरहेको छ । संगठित हुँदै गइरहेको छ । वस्तुगत आवश्यकताअनुसार आत्मगत अवस्थाहरु सुदृढ हुँदै गएका छन् । र, जबर्जस्त विस्मृतितिर धकेल्न खोजिए पनि जनयुद्ध र बलिदानका स्मृतिहरु ताजै र आलै रुपमा मानसपटलमा दौडिने र दौडाउने भौतिक परिस्थिति बन्दै गइरहेको छ । जनयुद्ध लगायत नेपाली समाजको आमूल परिवर्तनका निम्ति विभिन्न कालखण्डमा भए गरिएका सबै संघर्ष तथा आन्दोलनहरु र त्यसमा भएका बलिदानहरुलाई सक्दो स्थापित र सम्मानित गरेर मात्र परिवर्तनको युद्ध तथा आन्दोलनको इतिहासलाई गतिशील बनाउन सकिन्छ । यसर्थ, आउनुहोस्– जनयुद्ध, जनसंघर्ष, जनआन्दोलनका इतिहास र महान बलिदानलाई खोजी खोजी स्थापित गरौं र आमूल परिवर्तनको संघर्ष÷आन्दोलनलाई गतिशील बनाऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर