ढोरपाटनको बाढी र पहिरोमा बेपत्ता नागरिकहरुको खोजी, उद्दार, राहत र घाइतेहरुको निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न देजमोको जोडदार माग

ढोरपाटनको बाढी र पहिरोमा बेपत्ता नागरिकहरुको खोजी, उद्दार, राहत र घाइतेहरुको निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न देजमोको जोडदार माग

काठमाडौं । यही भाद्र १७ गते भएको अविरल वर्षाको कारण बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ को देउराली डाँडाबाट रातको समयमा गएको पहिरो र भुजीखोलामा आएको भीषण बाढीले नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ मा ठुलो जन–धनको क्षती पु¥याएको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बाढी र पहिरोमा परी बेपत्ता हुन पुगेकाहरुको खोजी कार्य तीब्र पार्दै पीडितहरुको उद्दार, राहत र घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसित जोडदार माग गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, “प्राप्त जानकारी अनुसार यो दुःखद घटनामा जम्मा ११५ घरमा क्षती पुगेको छ, ३१ घर पूर्णरुपमा ध्वस्त भएका छन्, ५ वटा माइक्रो हाइड्रो पावर हाउस, २ वटा विद्यालय र एक स्वास्थ चौकीमा पनि क्षति पुगेको छ । धेरै जना मानिसहरु बेपत्ता छन्, अहिलेसम्म १४ जनाको शव फेला परेको छ । सो दुखद घटनामा परी मृत्यु वरण गर्नु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पविारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । घाइते हुनेहरुको शिघ्र स्वास्थलाभको कामना गर्दर्छौ ।”
वक्तव्यमा अगाडि भनिएको छ, “यति ठुलो प्राकृतिक विपत्तिमा केन्द्र सरकारका तर्फबाट त्यसतर्फ हेलिकोप्टरमा गएका गृहमन्त्री खराव मौसमका कारण घटनास्थलमै नपुगी राजधानी फर्किएको खबरबाहेक अहिलेसम्म कुनै राहत र अन्य व्यवस्था भएको थाहा पाइएको छैन ।”
वक्तव्यमा राष्ट्रिय स्तरको यो विपत्तीमा बेपत्ता भएकाहरुको खोजी, मृत्यु हुनेका परिवारलाई राहतको प्याकेज, घाइतेहरुको निःशुल्क उपचार, विचल्लीमा परेकाहरुको अविलम्ब अस्थायी र स्थायी बसोबास, सबैलाई खाद्यान्न र उपचारको व्यवस्था गर्नका सरकारका सबै निकायसँग जोडदार माग गरिएको छ । र, भनिएको छ, “यो दुःखद घटनाबाट शिक्षा लिँदै जोखिमका बस्तीहरुलाई समयमै सुरक्षित स्थानमा सार्नका लागि स्थायी बसोबासको समेत व्यवस्था गर्न हामी माग गर्दछौं ।”