काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले रथ तान्ने क्रममा गरिएको प्रहरी दमनको घोर भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका ३ नंं. प्रदेश सेक्रेटरी प्रवेशले एक वक्तव्य जारी गर्दै मछिन्द्रनाथको रथजात्रा सञ्चालन गर्ने क्रममा प्रहरीले अश्रुग्याँस, पानीको फोहरा र लाठीचार्ज गरी निकृष्ट दमन गरेको जनाएका छन् । वक्तव्यमा सो क्रममा दुई दर्जन बढी घाइते भएको र दर्जनौं गिरफ्तार परेको भन्दै घाइतेहरुको निःशुल्क उपचार गर्न र गिरफ्तारीमा परेकाहरुलाई तुरुन्त बिना शर्त रिहा गर्न जोडदार माग गरिएको छ ।
ऐतिहासिक चाड पर्वहरुको वैज्ञानिक व्यवस्थापन, सञ्चालन, रेखदेख र संरक्षण गर्ने दायित्व र जिम्मेवारी राज्यको हो भन्दै वक्तव्यमा परापूर्व कालदेखि सञ्चालन हुँदै आएको जात्रा पर्व व्यवस्थित गरी निकास दिनुपर्ने निकायले नै स्वतस्फूर्त रथजात्रा गर्न आएका स्थानीय जनता, संस्कृतिप्रेमी र भक्तजनमाथिको बर्बर दमनले परिस्थिति झन् गम्भिर हुन पुगेको उल्लेख गरिएको छ । वक्तव्यमा तुरुन्त गुठियारसहित सरोकारवाला सबै पक्षसँग छलफल र सहमतिमा स्थगित रातो मच्छिन्द्रनाथको रथजात्राको व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरिएको छ ।