क्रान्तिकारी माओवादीले यसरी कब्जा ग¥यो भूमाफियाको जग्गा (फोटोफिचर)

प्रकाशित मिति : २०७७ भाद्र १८


नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापानीस्थित ढेडारीफाँटमा रहेको भूमाफियाको नियन्त्रणमा रहेको विवादित जग्गा कब्जा गरेको छ ।

विहीबार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कटठा २ धुर जग्गा सार्वजनिक जग्गाको रुपमा कायम हुनुपर्ने माग गर्दै क्रान्तिकारी माओवादीले कब्जामा लिएको हो ।


क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिको नेतृत्वमा गएको माओवादीका स्थानीय नेता कार्यकर्ताहरुको टोलीले जग्गामा झण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरे । त्यस्तै ग्रिनबेल्टका नाममा राखिएको सो जग्गा सार्वजनिक सम्पतिको रुपमा राखिनुपर्ने स्थानीय जनताको समेत माग रही आएको छ ।


माओवादी कार्यकर्ताहरुले जग्गा कब्जाको क्रममा कोणसभाको आयोजना गरी जग्गा कब्जा गरेको घोषणा गरेका थिए । कार्यक्रममा नगर सेक्रेटरी क्रान्तिले भुमाफियाले गिद्धेनजर लगाएको र संसदीय ब्यवस्थाका मतियारहरुले ¥याल चुहाएको जग्गालाई सार्वजनिक जग्गाको रुपमा संरक्षण र विकास गर्न जनताको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा माफियाका गिरोहलाई जग्गा बेचेर खान नदिइने र त्यस्तो गरे जनताले कारबाही गर्ने दावी गर्नुभयो । ‘हामी जनताको साथमा छौ, जनताको भावना बिरुद्ध जाने जो कोही भएपनि छाड्नेछैनौ– सो पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो– जनताका अगाडि भुमाफियाहरु नङग्याउने बेला आएको छ । जनताले त्यस्ता गिरोहलाई कारवाही गर्नेछन् ।’


कार्यक्रममा सो पार्टीका नगर सहसेक्रेटरी आकाशले सार्वजनिक जग्गा हडप्न खोज्ने गिरोहलाई पार्टीले छानी छानी कारबाही गर्ने बताउनुभयो ।

जग्गा कब्जा गरेलगत्तै नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले बिज्ञप्ति समेत गरेको छ । विज्ञप्ति कब्जा जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । जग्गा कब्जा गर्नु अघि सो पार्टीको नगर समितिको बैठकले उक्त जग्गा सार्वजनिक रुपमा राखिनुपर्ने माग गर्दै कब्जामा लिने निर्णय गरेको थियो ।