काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा   बुधबार रातिको बाढी र पहिरोले मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ ।

सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम शुक्रबार गरिने बताइएकाे छ । १० शवको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।

बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् ।

कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरीले जनाएका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । शुक्रबार बिहानैदेखि खोजी शुरु भएको छ । स्थानीयले ३५ जना बेपत्ता भएको बताएका छन् । कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भएको छैन ।

पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर