६ ट्रेड युनियन संगठनहरुको संयुक्त बैठक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालय कुपोन्डोल, ललितपुरमा सम्पन्न

बैठकले विगतका संयुक्त कार्यक्रमको समिक्षा सहित श्रमजीवी नेपाली मजदुर वर्गको पक्षमा आगामी संघर्षका कार्यक्रम समेत घोषणा

प्रकाशित मिति : २०७७ श्रावण २४

श्रावण २३ काठमान्डौ,
कोरोनाको विश्वव्यापी त्रासदी र जारी लकडाउन सँगै मुख्यतः सरकार र उद्योगी र व्यावसायी, नेकपा(नेकपा) र नेकाँ निकट कथित ट्रेड युनियन महासंघ मिलेर मजदुरको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी विभिन्न सम्झौताहरु गर्दै आएका छन । यसप्रकारका सम्झौता र गतिविधिको विरुद्धमा मजदुरपक्षिय ६ ट्रेड युनियन महासंघ संयुक्त रुपमा संघर्षरत छन ।
यही सन्दर्भमा श्रावण १६ गते मजदुर वर्गको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको खारेजीको माग राख्दै ६ ट्रेड युनियन महासंघको संयुक्त विरोध प्रदर्शन र विरोध सभा कार्यक्रम माइतीघर मण्डलामा आयोजना गरेका थिए । उक्त ६ ट्रेड युनियन महासंघमा सहाभागि संघर्षरत संगठनहरुमा नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघ, माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोण्ट¬), नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन र स्वतन्त्र ट्रेड युनियन महासंघ रहेका छन ।
आन्दोलनको लगत्तै ६ ट्रेड युनियन महासंघको संयुक्त बैठक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यलय कुपोन्डोल, ललितपुरमा सम्पन्न भएको छ । बैठकले विगतका संयुक्त कार्यक्रमको समिक्षा सहित श्रमजीवी नेपाली मजदुर वर्गको पक्षमा आगामी संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । जसअनुसार–
१. मजदुरहरुको रोजगारी कटौती, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको विरुद्धमा पेशागत घटकहरुले तलसम्म संयुक्त संघर्ष अगाडि बढाउने ।
२. संयुक्त पर्चा जारी गर्ने ।
३. श्रम मन्त्रालय र उद्योग वाणिज्य महासंघलाई संयुक्त ज्ञापन पत्र बुझाउने ।
४. संयुक्त पत्रकार सम्मेलन गर्ने ।
५. सरकार, उद्योगी र व्यावसायी र विभिन्न ट्रेड युनियन महासंघका प्रतिनिधि सहित मुख्यतः मजदुरपक्षीय बृहत अन्तरक्रिया सम्पन्न गर्ने ।
६.उपयुक्त समयमा बृहत मजदुर प्रदर्शन र विरोध सभा सम्पन्न गर्ने लगायतका निर्णयहरु रहेका छन ।