नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिद्धारा त्रिवि उपकुलपति समक्ष ज्ञापनपत्र प्रस्तुत

प्रकाशित मिति : २०७७ श्रावण २४

त्रिभुवन विश्वविद्यालयभित्र भएका अनेकौं विकृति, विसङ्गतिको निराकरणका निम्ति नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिद्धारा त्रिवि उपकुलपति समक्ष विभिन्न सातवटा मागसहीत यही श्रावण २३ गते ज्ञापनपत्र प्रस्तुत गरेको जानकारी प्राप्त भएकोछ, जसको पूर्ण विवरण तल दिइएकोछ–

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन
केन्द्रीय समिति
श्रीमान उपकुलपतिज्यू,
मितिः२०७७–०४–२३
त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर ।
विषयः ज्ञापनपत्र प्रस्तुत गरेको बारे ।
त्रिभुवन विश्वविद्यालयभित्र भएका अनेकौं विकृति, विसङ्गतिको निराकरणका निम्ति पदाधिकारीहरूसँग हामीले औपचारिक अनौपचारिक संवाद तथा छलफलहरू गर्दै आएका छौं र ती विकृति विसङ्गतिको अन्त्य गरी यसलाई उत्कृष्ट प्राज्ञिक केन्द्र बनाउने कुरामा हाम्रो सधैं सहयोगी तथा सकारात्मक दृष्टिकोण रहँदै आएको छ । यसका निम्ति हाम्रो सङ्गठन सधैंभरि संघर्षरत पनि रहेको छ । तर हाम्रा सुझाउलाई गंभीरतापूर्वक नलिई अपारदर्र्शी एवं मनोमानी तवरबाट विश्वविद्यालय प्रशासनले पठनपाठन लगायत अन्य विषयसम्बद्ध निर्णय र विविध पदमा अपारदर्र्शी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ र यसप्रति हाम्रो सङ्गठन तीव्र विरोध गर्दछ । हाम्रो सङ्गठनले पटकपटक त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीदेखि विभिन्न तहमा हुने नियुक्ति प्रक्रियालाई पारदर्र्शी बनाई प्राज्ञिक उच्चता र वरिष्ठताका आधारमा नियुक्ति गरिनु पर्दछ भन्ने कुरा राख्दै आएको छ र उक्त कुरामा सङ्गठन दृढ छ । त्रिभुवन विश्वविद्यालयलाई निश्चित स्वार्थसमूहको लाभको केन्द्र बनाउने र दलीयकरण गरी प्राज्ञिक संरचना ध्वस्त गर्ने अभ्यासप्रति हाम्रो विरोध छ । अतः हाल विश्वविद्यालयभित्र जारी गतिरोध र आन्दोलनलाई केवल पदीय लेनदेनको माध्यम नबनाई त्रिभुवन विश्वविद्यालयमा व्याप्त उपर्युक्त समस्याहरूलाई प्राज्ञिक गरिमाका साथ समाधान गर्नतिर विश्वविद्यालय तथा सम्बद्ध सबै पक्ष अघि बढुन भन्ने हामी चाहन्छौं ।
विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक गरिमाका निमित्त हाम्रो सङ्गठन सधैं आन्दोलनरत रहेको छ र त्यस्ता प्रकृतिका आन्दोलनलाई समर्थन पनि गर्दछ । यस परिप्रेक्ष्यमा विगतदेखि नै हामीले अघि सारेका हाम्रा पेसागत र प्राज्ञिक मागहरू एक पटक पुनः हामी विश्वविद्यालय पदाधिकारीहरू समक्ष प्रस्तुत गर्न चाहन्छौं र यी मागप्रति विश्वविद्यालय गम्भीर बन्दै तिनको समाधान गरोस् भन्ने जोडदार माग गर्दछौं । यी मागहरूको समाधान विश्वविद्यालयभित्र व्याप्त विसङ्गति तथा पेसागत एवं प्राज्ञिक समस्यासँग सम्बद्ध भएकाले यसको सामाधानबाट सिङ्गो विश्वविद्यालयको गति र दिशालाई स्पष्ट एवं सबल तल््याउन
सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ ।
हाम्रा मागहरूः
१. विभिन्न तहका पधाधिकारीको नियुक्ति प्रक्रियामा दलीयकरण नगरी पारदर्शिता एवं प्राज्ञिक वरीयतालाई आधार बनाइनु पर्दछ ।
२. विश्वविद्यालयभित्रका अनुसन्धानात्मक क्रियाकलापमा योग्यता र क्षमताको मूल्याङ्कन गरी
पूर्वाग्रहरहित ढङ्गले प्राध्यापकहरूलाई अवसर प्रदान गरिनु पर्दछ ।
३. सेवा आयोगसम्बद्ध कार्यसम्पादनमा प्राज्ञिक वरीयता तथा विज्ञताका आधारमा पूर्वाग्रहरहित ढङ्गले विज्ञहरूलाइ संलग्न गराउने व्यवस्था गरिनुपर्दछ ।
४. विश्वव्यापी रूपमा र राष्ट्रिय रूपमै पनि विकसित महामारीको जटिल परिस्थितिका कारण परम्परित पठनपाठन र परीक्षा प्रणालीमा समयानुकूल परिमार्जनको आवश्यकता महसुस भएको छ र विभिन्न धारणाहरू पनि आइरहेका छन । यस सम्बन्धमा हचुवाका भरमा निर्णय नगरी सम्बद्ध पक्षहरूसँग बृहत् छलफल गरेर वैज्ञानिक विकल्पसहित परिमार्जनको व्यवस्था गरिनु पर्दछ ।
५. विश्वविद्यालयभित्र विद्यमान आंशिक र करारका शिक्षकहरूको समुचित व्यवस्थापन गरी
यथासम्भव यस समस्याको न्यूनीकरण र निराकरणको बाटो खोजिनुपर्छ ।
६. बन्दाबन्दीका समयमा आवश्यक निर्देशिका जारी गरेर औपचारिक रूपमा शिक्षकहरूलाई
भर्चुअल विधिबाट कक्षा लिनुका साथै आवश्यक अन्य काम गर्न लगाइएकोमा बन्दाबन्दी
खुकुलो भएपछि उक्त समयावधिलाई सार्वजनिक विदा उल्लेख गर्ने निर्णय गरिएबाट
शिक्षकहरूले परिश्रमपूर्वक गरेका कामको स्वीकार्यता (रिकोग्निसन) हुन सकेन । प्राज्ञिक दृष्टिले विश्वविद्यालयको यो नीति उपयुक्त नदेखिएकाले यसलाई न्यायपूर्ण ढङ्गले सम्बोधन गरिनु पर्दछ ।
७. बन्दाबन्दीका समयमा भएगरिएका गोप्य कार्यहरूबारे श्वेतपत्र जारी गरिनु पर्दछ ।
प्रा.डा. जगदीश चन्द्र भण्डारी
अध्यक्ष