
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोण्ट), नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन र स्वतन्त्र ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा गरिएको विरोध कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको मजदुरहरुको संयुक्त जुलुस नयाँ बानेश्वर पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, नेपाल समाजवादी ट्रेड युनियन महासंघका लालध्वज नेम्वाङ, क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका महासचिव मेघबहादुर खत्री, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोण्ट)का केदार गिरी, नेपाल ट्रेड युनियन फेडेरेसनका अध्यक्ष गंगाराम खड्गी, स्वतन्त्र ट्रेड युनियन महासंघका खगेन्द्र प्याकुरेल, नेपाल पत्रकार महासंघ लगायत आन्दाेलनरत संघ संगठनकाे तर्फबाट पत्रकार जन्मदेव जैसी लगायतले सम्बोधन गरेका थिए ।

ट्रेड युनियनका नेताहरुले कोरोनाको त्रासदी र जारी लकडाउनले नेपाली मजदुर वर्गको जीवन अपुर्व संकटको स्थितिबाट गुज्रिरहेको र यही अवस्थामा मजदुरको तलब सुविधा कटौती, लाखौं मजदुर रोजगारीबाट निष्कासित, मजदुर हरुको आत्मदाह र मृत्युको स्थिति आउँदासम्म राज्य र सरोकारवाला निकायले मजदुरका समस्याको पहिचान, अध्ययन र वैज्ञानिक समाधान दिनुको सट्टा उल्टै मजदुरलाई धम्की, दमन र कारबाहीको नीति लिएका भन्दै त्यसको कडा विरोध गरेका थिए ।

नेताहरुले मजदुर विरोधी कथित ट्रेड युनियन र हान–रेवनको बिचमा भएको मजदुर विरोधी सम्झौताको विरोध, भण्डाफोर समेत गरेका थिए ।
कार्यक्रममा मजदुर विरोधी सम्पुर्ण कानुनको खारेज गर, मजदुर विरोधी सम्पुर्ण सम्झौताको भन्डाफोर गरौं, मजदुर वर्गको गाँस, बास, स्वास्थ्य, सुरक्षा र रोजगारी ग्यारेन्टी गर लगायतका नाराहरु लगाइएको थियो ।



























