उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

प्रकाशित मिति : २०७७ श्रावण ८

काठमाडौँ । साउनको २५ र २६ गते गर्ने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेकोले निर्वाचन स्थगित गर्ने निर्णय गरेको अध्यक्ष राणाले बताइन् ।
बैठकमा पदाधिकारीहरु र ८ जना पूर्वअध्यक्षहरु सहभागी थिए । सबैले सरकारको निर्णयलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निर्णय भएको हो । महासंघको वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो । उक्त पदमा हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।