एमसीसी र कालापानीका बारेमा संसदीय समितिमा छलफलको माग

एमसीसी र कालापानीका बारेमा संसदीय समितिमा छलफलको माग


काठमाडौं । सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी र एमसीसीको समस्याबारे संसदीय समितिमा छलफलको माग गरेका छन् ।

विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्बन्धी भएको छलफलमा सांसदहरुले यस्तो माग गरेका हुन् ।

छलफलमा सहभागी सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटिएको तर, भारतीय फौज त्यस क्षेत्रबाट नहटेको भन्दै परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका थिए ।

पूर्वगृहमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद भीम रावलले तत्काल सीमाबारे भारतसँगको संवादका सन्दर्भमा के प्रगति भएको छ भनेर परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताएका थिए ।

भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीहरुमाथि आक्रमण गरिरहेको, भारतीय बाँधले नेपाली भूभाग डुबानमा पर्दा पनि भारतीय पक्ष वार्तामा बस्न तयार नभएको र कालापानीबारे भारत मौन रहेको विषयमा समिति चुप लागेर बस्न नहुने सांसद रावलको भनाइ थियो ।

नेपालको हरेक प्रस्ताव भारतले अस्वीकार गर्ने गरेको उल्लेख गर्दै सांसद रावलले भारतले नेपाल–भारत प्रवुद्ध व्यक्ति समुह (इपीजी) को प्रतिवेदन नबुझेको विषयलाई गम्भीरतापूर्वक लिएर छलफल चलाउनुपर्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सीमा र अमेरिकी सरकारको सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा व्यापक जनचासो रहेको भन्दै यसबारे छलफल गर्न माग गरिन् ।

इपीजीले प्रतिवेदन तयार पारेको लामो हुँदासमेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न अस्वीकार गर्दा हालसम्म सार्वजनिक भएको छैन । उक्त प्रतिवेदन भारतीय प्रधानमन्त्रीले पहिले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति छ ।
भारतीय प्रधानमन्त्रीले बुझेलगत्तै उक्त प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बताउँदै आएका छन् ।