निकुञ्ज प्रशासनको ज्यादति, कुटाइबाट चेपाङ युवाको मृत्यु

निकुञ्ज प्रशासनको ज्यादति, कुटाइबाट चेपाङ युवाको मृत्यु


चितवन । चितवनको चितवन जिल्ला माडी न.पा.–९ कुसुमखोलामा वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्वासी चेपाङ्हरुको घर बस्तीमा ओगो लगाई चेपाङहरुलाई घरबारविहिन बनाएको घटना सेलाउन नपाउँदै निकुञ्ज प्रशासनको कुटाइबाट एकजना चेपाङ युवाको निधन भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्त बनेका छन् ।

राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताएका छन् । सेनाले कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने जस्ता सजाय दिएका थिए । निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ ।

मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ ।

मृतक राजकुमारसँगै सेनाको नियन्त्रणमा कुटिएका सन्तलाल प्रजा चेपाङले मिडियालाई बताएका छन्, “राप्ती तरेर पारिपट्टि ज्युँडी भन्ने खोलामा पुगेपछि एक्कासि एउटा आर्मी देख्यौं । उनले ‘ओ यहाँ आइज’ भने । कुनै सोधपुछ छैन । खुट्टामा लगाउने बुट हातमा लिइराखेको थियो । त्यसैले ड्याम्म हान्यो । पानीभित्र लौरो थियो, त्यसले मलाई गर्धनमा हान्यो । म पानीमै भक्लक्क ढलें । बोल्न त के–के बोल्यो बोल्यो । नराम्रो शब्द पनि भन्यो । अनि पानीमा सुताएर लट्ठीले र लात्ताले हान्यो । पानीमै हिँडाउँदै लिएर गयो । खोला छाडेर पाखामा उत्रेपछि त्यहाा सुत् भन्यो । त्यहाँ पनि फेरि दुई–तीनचोटि हान्यो । डँडाल्नोमा लट्ठीले हान्यो । बाटोमा जत्रोजत्रो मुढा भेटिन्छ, त्यो पनि बोक् भन्ने । एक्लैले बोक् भन्ने, नराम्रो शब्द भन्ने । त्यसमाथि सय–सयचोटि उत्तानो र घोप्टो पुसअप गर्न लगायो । यसो गरी–गरी चौकीमा पु¥यायो । लिगलिगे पोस्टमा लग्यो । त्यहाँ प्रशासनले सोधिराथ्यो । प्रशासनका मान्छेले यसरी पिट्न त नहुने हो, जे–जस्तो भए पनि कारबाही त गरिन्थ्यो, पिट्न नहुने हो भनिराखेका थिए ।”