सम्पादकीय : नक्कली कम्युनिस्टहरुको जगजगी

प्रकाशित मिति : २०७७ बैशाख १५

‘सेतो झण्डा उचालेको दुश्मनभन्दा रातो झण्डा उचालेको दुश्मन हजारौं गुणा खतरनाक हुन्छ’ भनेझैं आज सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरुका लागि नक्कली कम्युनिस्टहरु पुँजीवादी तथा साम्राज्यवादीहरुभन्दा हजारौं गुणा खतरानाक बनेर अगाडि आएका छन् ।
झण्डा उस्तै छ । नाम पनि उस्तै छ । कतिपय नाराहरु पनि मिल्दाजुल्दा । काम र गन्तव्य भने फरक छ । पात्र र प्रवृत्तिहरु फरक । मूलतः झण्डा र नामकै कारण ‘नक्कलीले बिरायो सक्कली समेतलाई पीरायो’ भनेजस्तै हुन पुगेको छ यतिखेर नेपालको कम्युनिस्ट आन्दोलनमा ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टी सरकारमा छ । करिब दुई तिहाइ मत लिएर उसले सरकारको नेतृत्व गरेको हो । कम्युनिस्टको नारा तथा अजेण्डाकै कारण जनताले उनीहरुलाई यति धेरै मत दिएका हुन् । कम्युनिस्टको नेतृत्वको स्थायी सरकार भयो भने ओली सरकारले भनेजस्तै ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनाले विपनाकै रुप लिन्छ कि भनेर । तर सरकार सम्हालेयताका सरकारका सबै गतिविधि हेर्ने हो भने ‘कंगाल नेपाल, दुःखी नेपाली’को अवस्थामा ओली सरकारले नै पु¥याएको अवस्था छ ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दासमेत भ्रष्टाचार गर्ने र कमिसन खाने सरकारको रुपमा बद्नाम हुन पुगेको यो सरकारलाई अहिले विश्वभरि नै ‘भ्रष्ट कम्युनिस्ट सरकार’ भनेर चिन्न थालिएको छ । भ्रष्टाचारसम्बन्धी पर्यवेक्षण गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेश्नलले त प्रधानमन्त्री ओलीलाई ‘भ्रष्टाचारको नाइके’को संज्ञा नै दिएको छ । पछिल्लो अध्यादेश प्रकरणदेखि सांसद अपहरण प्रकरणसम्म आइपुग्दा त ओलीलाई ‘गुण्डा नाइके’को समेत आरोप लागेको छ । संसदीय व्यवस्थाको कुरुपताका प्रदर्शन ओली सरकारले गरिरहेको छ ।
खुल्लेआम लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ४ वर्ग किमी भूमि भारतले आफ्नो नक्सामा गाभ्यो । ६ महिना बित्न लाग्यो । फिर्ता गराउने कुनै पहल छैन । राजनीतिक पार्टी तथा नागरिक अगुवाहरुले नेपालको वास्तविक नक्सा बनाए र जारी गरे । सरकारलाई सक्कली र वास्तविक नेपालको नक्सा जारी गर्न पटक पटक दबाब दिए । ओली सरकारले नेपालको राजनीतिक नक्सा जारी गर्ने ल्याकत देखाउन सकेन । अहिले पनि ओली सरकार भारतले नै बनाएर पठाइदिएको नक्कली नक्सा (लिम्पियाधुरा, कालापानी, लिपुलेक गायब पारिएको) नक्सा सरकारी निकायमा झुण्ड्याएर बसिरहेको छ । बारम्बार नेपाली भूमि भारतीय पक्षबाट अतिक्रमित हुँदा र जनता स्वयम्ले अतिक्रमणका विरुद्ध प्रतिरोध गर्दा र प्रतिरोध संघर्षमा भारतीय पक्षबाट नेपाली जनता मारिदा पनि ओली सरकार चुँसम्म बोल्ने हैसियत राख्दैन । ओली सरकारकै पालामा नेपालको नक्सा खुम्चिइरहेको छ । र, ओली सरकार इतिहासकै ठूलो राष्ट्रघाती सरकारको रुपमा समेत बद्नाम हुन पुगेको छ ।
पार्टी स्थापना कालदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुको पहरेदारको रुपमा स्थापित हुँदै आएको नेपालको कम्युनिस्ट आन्दोलनलाई नक्कली कम्युनिस्टहरुले बद्नाम र कलंकित बनाइदिएका छन् । कम्युनिस्ट सिद्धान्त, विचार, राजनीति, मूल्य, मान्यता, आचार, व्यवहार, संस्कृतिसँग पटक्कै मेल नखाने बरु यसको ठीक उल्टो यहाँसम्म कि पुँजीवादी पार्टीहरुले समेत नगरेको जनघात र राष्ट्रघात ओली सरकारले गर्न पुगेको छ । केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्म डबल नेकपाको विचौलियाकरण भएको छ । उनीहरुले गरेको गल्तीको सजाय सक्कली कम्युनिस्टहरुले समेत भोग्नुपर्ने स्थिति बन्न पुगेको छ ।
तर पछिल्ला दिनमा जनताले सक्कली र नक्कली कम्युनिस्टहरु छुट्याउँदै गएको देखिन्छ । सात दशक लामो कम्युनिस्ट आन्दोलनले निर्माण गरेको विशाल कम्युनिस्ट जनमतको दुरुपयोग गरिरहँदा फेरि पनि कम्युनिस्ट जनमतले सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टी र नेतृत्वको खोजी गरिरहेका छन् । सक्कली र नक्कली कम्युनिस्टहरुबीचमा चलिरहेको भीषण विचारधारात्मक तथा राजनीतिक संघर्षले पनि जनतालाई सक्कली र नक्कली कम्युनिस्टहरु पहिचान गर्न सजिलो बनाइरहेको छ । नक्कली कम्युनिस्टहरु (दक्षिपन्थी संशोधनवादी तथा अवसरवादीहरु) भनेका साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुका ‘दलाल’ हुन् भन्ने कुरा पनि जनताले बुझ्दै गएका छन् । विचारधारात्मक तथा राजनीतिक संघर्षको भीषणतामा श्रेष्ठता हासिल गरेर नै नक्कली कम्युनिस्टहरुको भ्रमलाई र वास्तविक तथा सच्चा कम्युनिस्ट व्यवस्था, मूल्य मान्यता स्थापित भएर जानेछन् । अन्ततः यो जित सक्कली कम्युनिस्ट र सत्यको नै हुनेछ । यो कुरुप र घिनलाग्दो संसदीय व्यवस्थाका मतियार नक्कली कम्युनिस्टहरुको विनाश भएर जाने कुरा निश्चित छ ।

साभार वर्गदृष्टि साप्ताहिक १५ बैशाख २०७७