
काठमाडौं
बैशाख १०, २०७७ (अप्रिल २२, २०२०) मा नेपालको कम्युनिस्ट आन्दोलन ७० वर्ष पुरा गरी ७१ वर्षमा प्रवेश ग¥यो । ७१ औं पार्टी स्थापना दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायत विभिन्न नामका कम्युनिस्ट पार्टीहरुले वक्तव्य सार्वजनिक गरे ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “आज १० वैशाख २०७७ तदनुसार २२ अप्रिल २०२० ऐतिहासिक महत्वको दिन हो । ठीक ७० वर्ष पहिले आजकै दिन भारतको कलकत्तामा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आज २२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रवर्तक लेनिनको जन्म दिन पनि हो । यस वर्ष विश्वले लेनिनको १५०औं जन्मजयन्ती मनाइरहेको छ । आजको यस दिनले नेपालको कम्युनिस्ट आन्दोलनको मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा समेत विशेष महत्व राख्दछ । नेपाली कम्युनिस्ट आन्दोलनले आज ७० वर्ष पुरा गरी ७१ वर्षमा प्रवेश गरेको छ ।”
पार्टी स्थापना दिवसको अवसरमा जारी वक्तव्यहरुले स्पष्ट रुपमा माक्र्सवादी र संशोधनवादी तथा अवसरवादी कित्ताको प्रतिनिधित्व गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले जारी गर्नुभएको वक्तव्यले माक्र्सवादी तथा क्रान्तिकारी कित्ताको प्रतिनिधित्व गरेको छ भने डबल नेकपाका चार नेता (केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल) लगायत अन्य केहीले निकालेको वक्तव्यले संशोधनवादी तथा अवसरवादी कित्ताको प्रतिनिधित्व गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनभित्र लामो समयदेखि माक्र्सवादी र संशोधनवादी तथा अवसरवादी कित्ताकाबीच भीषण विचारधारात्मक संघर्ष चल्दै आएको छ ।
महासचिव किरणको वक्तव्यमा भनिएको छ, “७० वर्ष लामो नेपाली कम्युनिस्ट आन्दोलन एकता–सङ्घर्ष–रुपान्तरणका विभिन्न श्रृङ्खला र नयाँ आधारमा नयाँ एकता एवम् फुट समेत हुँदै अगाडि बढिरहेको छ । अर्ध–सामन्ती र अर्ध तथा नव–औपनिवेशिक अवस्थामा रहेको देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि नेपालमा विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष र महान् जनयुद्ध समेत भएका छन् । गौरवपूर्ण सङ्घर्षको यो लामो इतिहासमा नेपाली जनताले जनमुक्ति सेनाको निर्माण तथा जनसत्ता अभ्यासको प्रत्यक्ष अनुभूति समेत गरेका छन् । परन्तु नेपाल र नेपाली जनता घरेलु दुश्मन दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र वाह्य दुश्मन साम्राज्यवाद तथा विस्तारबादको शोषण तथा उत्पीडनबाट अहिलेसम्म पनि मुक्त भएका छैनन् । नेपाली कम्युनिस्ट आन्दोलनको विकासमा दक्षिणपन्थी संशोधनवाद प्रमुख बाधक रहँदै आएको छ ।”
नेपाली कम्युनिस्ट आन्दोलनको सात दशकको इतिहास माक्र्सवाद र संशोधनवादबीचको भीषण संघर्षको इतिहासको रुपमा स्थापित हुँदै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनभित्रका संशोधनवादी तथा अवसरवादीहरुका विरुद्ध सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले लामो समयदेखि भीषण विचारधारात्मक तथा राजनीतिक संघर्ष सञ्चालन गर्दै आएका छन् । यस संघर्षमा कहिले माक्र्सवाद त कहिले संशोधनवाद बलियो हुँदै आएको छ । आज रूप तथा संख्यामा हावी देखिएको दक्षिणपन्थी संशोधनवाद मूलतः नवप्रतिक्रियावादमा पतन हुन पुगेको छ । र, कम्युनिस्टको नामबाट कम्युनिस्टलाई नै बद्नाम गराइरहेको छ ।
नेकपा (नेकपा) नाम गरेको पार्टीको नेतृत्वमा रहेको सरकारले कसरी कम्युनिस्टको बद्नाम गरेको छ भन्ने विषयमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “यतिबेला नेपालमा कम्युनिस्ट नामधारी करिव दुई–तिहाइ बहुमतको सरकार गठन भएको छ । परन्तु यही नै बेला नेपालको राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी तथा विस्तारवादीहरुको हस्तक्षेप बढेर गएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो देशमा गाभेर भारतीय विस्तारवादी शासकहरुले नयाँ नक्सा सार्वजनिक गर्दा पनि नेपालको कथित कम्युनिस्ट सरकारले त्यसको विधिसम्मत विरोध दर्ज गर्नसम्म सकेको छैन । नेपालमा सैन्य अखडा स्थापना गरी दक्षिण तथा पूर्वी एशियामा आफ्नो प्रभाव विस्तार गर्ने र चीनमाथि आक्रमण गरेर नेपाललाई रणभूमि बनाउने योजना अनुसार अमेरिकी साम्राज्यवादले अगाडि सारेको एमसीसी परियोजनालाई चौतर्फी विरोधका बावजुद संसदबाट पारित गर्न नेपाल सरकार आफै लागिपरेको छ । जनतन्त्र तथा जनजीविकाका समस्या विकराल बनेका छन् । भ्रष्टाचार व्यापक छ । यतिसम्म कि कोभिड–१९ महामारी रोकथामका लागि बाहिरबाट स्वास्थ्य उपकरण आयात गर्ने क्रममा समेत ओली सरकार कमिसनका पछाडि दौडिराखेको छ । वस्तुतः सरकारले कम्युनिस्टको नामबाट कम्युनिस्टकै बदनाम गरिराखेको छ । झापा आन्दोलनका नाइके ओली र जनयुद्धका नाइके प्रचण्ड घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन् । साथै, यहाँनेर कुन कुरा पनि उल्लेख गर्न जरुरी छ भने कोरोना भाइरसको महामारीका विरुद्ध सिङ्गो देश एकढिक्का भई लाग्नु पर्ने बेलामा ओली गुट सत्ता लिप्साको निरन्तरताका लागि आफ्नै पार्टीभित्र सङ्घर्ष चर्काउँदै थप निरङ्कुशताको बाटोमा लागि रहेको छ । वैशाख ८ गतेको अध्यादेश प्रकरण यसै कुराको एक अभिव्यक्ति हो ।”
डबल नेकपाको प्रतिक्रियावादी चरित्रको भण्डाफोर गर्दै महासचिव किरणले वक्तव्यमा भन्नुभएको छ, “आफूलाई कम्युनिस्ट पार्टीका नाममा प्रस्तुत गर्दै आएको पार्टीको नेतृत्वमा बनेको सरकारद्वारा कम्युनिस्ट पार्टीकै रूपमा सङ्गठित अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाई सो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई धरपकड गर्नु तथा कारागारमा थुनेर राख्नु निकै विडम्वनापूर्ण तथा अशोभनीय विषय हो ।”
वक्तव्यमा नेपाल र भारतमा प्रतिक्रियावादी शासन व्यवस्थाले कम्युनिस्ट क्रान्तिकारीहरुलाई पक्राउ गर्ने र जेलमा हाल्ने गरेको भन्दै उनीहरुको अविलम्ब रिहाईको माग गर्दै वक्तव्यमा भनिएको छ, “तसर्थ, पार्टीस्थापना तथा लेनिन दिवसको यस ऐतिहासिक अवसर तथा उपलक्ष्य र कोरोना भाइरसजन्य महामारीको भयाबह स्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनका नेता हेमन्त प्रकाश ओली, सांस्कृतिक आन्दोलनका नेता माइला लामा, महिला मुक्ति आन्दोलनकी नेतृ उमा भुजेल लगायतका नेता तथा कार्यकर्ता कमरेडसहित सम्पूर्ण राजबन्दीहरूको अविलम्व रिहाइका लागि हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।…
यसैगरी लेनिन दिवसको ऐतिहासिक अवसर तथा उपलक्ष्य र कोरोना भाइरसजन्य भीषण महामारीको अवस्थामा भारतका जेलमा कष्टकर जीवन यापन गरिरहेका ९० प्रतिशत अपाङ्ग प्राध्यापक जी. एन. साइबाबा, लेखक तथा सांस्कृतिक योद्घा बरबर राव, लेखक तथा सामाजिक अभियन्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे लगायतका लेखन, पत्रकारिता तथा सांस्कृतिक रूपान्तरणका अभियानमा क्रियाशील रहिआएका वाम बुद्घिजीवी राजबन्दीहरूको यथाशीघ्र रिहाइका लागि हाम्रो पार्टी भारत सरकार समक्ष सशक्त आवाज उठाउँछ ।”
पार्टी स्थापना दिवसकै अवसरमा जारी प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले जारी गरेको वक्तव्यमा लेखिएको छ, “दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जाली–झेली भ्रष्ट, राष्ट्रघाती, जनघाती एवम् दलाल चरित्रमा निस्किनै नसक्ने गरी डुबेर बदनाम, असफल, सङ्कटग्रस्त केपी गुट र सरकार कुनै पनि हालतमा सत्ता छोड्न नचाहने, बरु सम्पूर्ण सामाजिक मूल्य–मान्यताहरूलाई फासिवादको पैतालामुनि दबाएर सत्ता हत्याउन लागिपरेको छ । यसले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र समाजवादी सत्ता निर्विकल्प बन्न पुगेको सत्य स्थापित भएको छ । तसर्थ यो ऐतिहासिक पार्टी स्थापना दिवसका अवसरमा हामी जिम्मेवारीबोधका साथ केपी वलीको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन आग्रह गर्दछौं ।”
वक्तव्यको अन्त्यमा महासचिव किरणले लेख्नुभएको छ, “क्रान्तिले गंभीर धक्का खाएको बेला, हामीले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सैद्धान्तिक भण्डाफोर गर्दै र सच्चा कम्युनिस्ट शक्तिहरुसंग एकता–संङ्घर्ष–रुपान्तरण मार्फत् नयाँ आधारमा नयाँ एकता निर्माण गर्नका लागि स्वच्छ वैचारिक सङ्घर्ष चलाउँदै क्रान्तिकारीहरुलाई एकताबद्घ गर्ने कोशिस गर्दै आएका छौं । पार्टी स्थापनाको यस अवसरमा हामी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि पुनः प्रतिबद्धता जाहेर गर्दछौं र पार्टीका सम्पूर्ण कमरेडहरु, आम जनसमुदाय र विश्व सर्वहारा वर्गप्रति हार्दिक अभिवादन व्यक्त गर्दछौं ।”
साभार वर्गदृष्टि साप्ताहिक १५ बैशाख २०७७






























