कविता : अर्थ

प्रकाशित मिति : २०७७ बैशाख १२

- डा. जगदीशचन्द्र भण्डारी

अर्थ
भन्नू बेकार छ
सुनाउनु अर्थहीन छ
तिमी यति
छोटो बनेउ कि
तिम्रो शब्दकोशमा
लघु शब्द नै
बहिष्कृत छ

विचारमा गल्यौ
हावभाव र स्वभावमा
छिल्लियौ र ढल्यौ
दुखका पहाडलाई
हेरेर भद्दा हाँसो हाँस्यौ

देख्दै छु
यता जीवन
चर्मराउदै छ
भोकप्यासबाट
थङथिलिदै छ
सम्पन्नता र समृद्धिको
तिम्रो नक्कली
रातो फुल
सत्ताको तिम्रो
हलुँगो कपास जस्तो
समाजवाद
बिस्तारै दिनदिनै
वेरङी र बेस्वादिलो बन्दै छ

तिम्रो कुरूप शक्ति
र क्रूर कोरोनाको समय
एकैचोटि भोग्न विवश
चिल्ला सडकमा
काँढा उम्रदै छन्
निरुपाय साधनहीन
कुर्सीसङ नाता नभएकाहरु
घाउको ऐतिहासिक
आख्यान पिठ्युँमा बोकेर
हिड्दै छन्

पाखन्ड र धुर्तताको
दृश्य अदृश्य रूपको
विस्मृती भ्रममा
दुखी गीत गाउँदै
हिड्नु र गन्तव्यसम्म
पुग्ने सपना देख्नु
गर्न सकिन्छ अहिले
यतिमात्र

टाढा धेरै परतिर
दरिद्र र दलाल
नक्कली घामको
राप र तापबाट मुक्त
जीवन देखिदै छ
त्यहाँ पुग्नु र भेट्नु
कैवल्य नहुनु
कोरोनाको बन्दी नहुनु
अर्थात्
जीवन गीत गाउनु
हिड्दै जानू अघि बढ्नु
यसैमा सायद
अहिले अर्थ छ

भण्डारीको फेसबुक पेजबाट