क्रान्तिकारी माओवादीको काठमाडौंमा अभियान : नक्कली नक्सा अनुगमन, कोणसभा, सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघाट र सम्मान (फोटोफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन १७

- अनु निरौला

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमण र राष्ट्रघाती एमसीसी विरुद्ध देशव्यापी ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार’को अभियान सञ्चालन गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले ११ फागुनदेखि दैनिक रुपमा अभियान सञ्चालन गरिरहेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको फर्पिङबाट सुरु गरेको अभियान कीर्तिपुर क्षेत्र हुँदै चन्द्रागिरी क्षेत्रमा सञ्चालन भइरहेको छ ।


अभियानको क्रममा नक्कली नक्सा अनुगमन गर्ने, नक्कली नक्सा हटाई सक्कली नक्सा प्रयोगका लागि नपा र वडा कार्यालयहरुका प्रतिनिधिहरुसँगै छलफल अन्तक्र्रिया गर्ने, सक्कली नक्सा हस्तान्तरण गर्ने, कोणसभा तथा चोकसभा लगायतका कार्यक्रमहरु गर्दै अगाडि बढिरहेको क्रान्तिकारी माओवादीको अभियान दलले १४ फागुनको बलिदान दिवस र त्यसैदिनदेखि २१ गतेसम्मको सहिद सप्ताहको कार्यक्रमलाई पनि अभियानसँगै जोडर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।


१४ फागुनमा बलिदान दिवसको सन्दर्भ पारेर अभियान टोलीले जनयुद्धका वेपत्ता योद्धा रेणुका दुलालका बुवा चन्द्र दुलाललाई अभिनन्दन ग¥यो । पार्टीका पीवीएम तथा ३ नं. प्रदेशका सेक्रेटरी प्रवेशले खादा लगाएर अभिनन्दन गरेका थिए । सो क्रममा पार्टी केस तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


अभियानकै क्रममा शहिद सप्ताहको अवसर पारेर शहिद तथा बेपत्ता योद्दा परिवार भेटघाट तथा सम्मानलाई जारी राख्दै १५ गते चन्द्रागिरीमा वेपत्ता योद्दा मिना श्रेष्ठको परिवारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरियो ।


त्यसैगरी १६ गते चन्द्रागिरीका वेपत्ता योद्धाहरु दिनेश लामिछाने, निश्चल नकर्मी, महरी रुपाखेती, सुचिन्द्र र हरीचन्द्र महर्जनका परिवारजनसँग भेटघाट, अन्तक्र्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको सेक्रेटरी खगेन्द्र छन्त्यालले बताए ।


सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघाट तथा सम्मानका साथै अभियान टोलीले नगरपालिका र वडा कार्यालयमा भएका नक्कली नक्साहरुको पनि अनुगमन गरेको छ । नक्कली नक्सा हटाई लिम्पियाधुरासहितको वास्तविक नेपालको नक्सा प्रयोगका निम्ति जनप्रतिनिधिहरुसँग छलफल समेत गरियो । अभियान टोलीले कोणसभा समेत सम्पन्न गरेको छ ।


अभियानको क्रममा भएका कोणसभालाई प्रायः पार्टी केस तथा जिल्ला इन्चार्ज शारदा महत, सेक्रेटरी छन्त्याल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका जिल्ला अध्यक्ष बन्धुदेव पाण्डे, क्रान्तिकारी युवा लिगका नेता सुरेश तामाङ, अनमसंघ (क्रान्तिकारी)की नेतृ रुपा गेलाल, अखिल (क्रान्तिकारी)की नेतृ शिलु न्यौपाने लगायतले सम्बोधन गरेको बताइएको छ ।


यसअघि अभियान टोलीले कीर्तिपुरको पांगा र पांगो दोबाटोमा पनि कोणसभा सम्पन्न गरेको थियो र नक्कली नक्साको अनुगमन गरेको थियो । फर्पिङमा भने अभियान टोलीले नक्कली नक्सा जलाएको थियो ।