सञ्चारमन्त्री बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको अडियो भाइरल, पदबाट बर्खास्त गर्न माग

सञ्चारमन्त्री बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको अडियो भाइरल, पदबाट बर्खास्त गर्न माग

काठमाडौँ । भ्रष्टाचार, अनियमितता र कमिसनमा बद्नाम हुँदै गएको केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएसँगै भाइरल बनेको छ । विभिन्न अनलाइन मिडियाका साथै सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएको छ । कमिसन प्रकरण बाहिरिएसँगै ओली सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटालाई पदबाट बर्खास्त गर्नुपर्ने आवाज चौतर्फी रुपमा उठेको छ ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका बताइएको छ । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।

स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।

अहिले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो । ३७ अर्ब रुपैयाँ सेक्युरिटी प्रेसको सामान तथा सुरक्षा उपाय र करिब ३ अर्ब रुपैयाँ बिल्डिङका लागि खर्च गर्ने भनिएको थियो ।

आफूले ठेक्का नपाउने स्थिति आएपछि मिश्रले उक्त अडियो बुधबार साँझ विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । मिश्रले कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको विभिन्न सञ्चार माध्यमलाई बताएका छन् ।